२०८१ जेठ ७, सोमबार
Health Aawaj logo
गृहपृष्ठसमाचारसंकटग्रस्त हेलम्बु र मेलम्चीवासीको उपचारमा प्रहरी अस्पतालका चिकित्सक

संकटग्रस्त हेलम्बु र मेलम्चीवासीको उपचारमा प्रहरी अस्पतालका चिकित्सक


काठमाडौं—नेपाल प्रहरी अस्पतालका स्वास्थ्यकर्मीहरु संकटग्रस्त हेलम्बु र मेलम्चीवासीको निःशुल्क उपचारमा जुटेका छन् । १ असारमा मेलम्ची खोला र इन्द्रावती नदीमा बाढीबाट पीडित स्थानीयवासीहरुको उपचारको लागि प्रहरी अस्पतालको विशेषज्ञ टोली नै हेलम्बु र मेलम्ची क्षेत्र पुगेको हो ।

प्रहरी अस्पतालका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) डा.सञ्जय बिक्रम श्रेष्ठको नेतृत्वमा ११ जना चिकित्सकहरु बाढी प्रभावित क्षेत्र पुगेका हुन् । मेलम्ची र हेलम्बु गाउँपालिका–६ स्थित इचोक स्वास्थ्य चौकी र वडा नम्बर–४ स्थित चिलाउनेघारी आधारभूत स्वास्थ्य सेवा केन्द्र, चिलाउनेघारीमा दुई दिने शिविर सञ्चालन गरिएको प्रहरी अस्पतालका प्रवक्ता समेत रहेका एसएसपी डा. श्रेष्ठले बताए ।

बिहिबार हेलम्बु गाउँपालिका–४ चिलाउनेघारीमा सञ्चालन गरिएको स्वास्थ्य शिबिरमा १ सय ७९ जनाको निःशुल्क स्वास्थ्य परिक्षण गरिएको थियो । शिविरमा १ सय ७० जनालाई विभिन्न रोगको औषधी वितरण, ४२ जनाको अल्ट्रासाउन्ड, १२ जनाको ‘माइनर’ शल्यक्रिया र १५ जनालाई ड्रेसिङ्ग गरिएको छ ।

हेलम्बु गाउँपालिका– ६ स्थित इचोक आधारभुत स्वास्थ्य सेवा केन्द्र, इचोकको शिविरमा १ सय ६२ जनाको निःशुल्क उपचार गरिएको छ । इचोकमा १ सय ६० जनालाई औषधी वितरण, ४२ जनाको अल्ट्रासाउन्ड, ९ जनाको ‘माइनर’ शल्यक्रिया गरिएको छ ।

यसैगरी, शुक्रबार मेलम्ची स्वास्थ्य केन्द्र सञ्चालन गरिएको शिविरमा १ सय ६६ जनाको निःशुल्क उपचार गरिएको छ । मेलम्ची स्वास्थ केन्द्रबाट १ सय ५६ जनालाई औषधी वितरण गरिएको छ भने ४१ जनाको अल्ट्रासाउन्ड गरिएको छ । १० जनाको ‘माइनर’ शल्यक्रिया र १५ जनालाई ड्रेसिङ्ग गरिएको छ ।

नेपाल प्रहरीको अस्पतालको टोलीमा एसएसपी डा.श्रेष्ठसहित, एसपी डा.आशिष दत्त (सर्जन), डिएसपी निर्मल घिमिरे (फिजिसियन), डिएसपी सुवास थापा (आन्तरिक औषधी) डिएसपी रोजिना मानन्धर (रेडियोलोजिस्ट), डिएसपी मुक्ति घिमिरे (स्त्री रोग विशेषज्ञ) छन् । यसैगरी, डिएसपी भवानी गुरुङ ( बाल रोग विशेषज्ञ), डिएसपी शंकर थापा (दन्त रोग विशेषज्ञ), डिएसपी प्रभाकर श्रेष्ठ (अर्थोपेडिक सर्जन), इन्सपेक्टर डा. प्रविना मास्के, डा. एलिना श्रेष्ठ टोलीमा संग्लन छन् ।

मनसुन सुरु भएको पहिलो हप्तामै सिन्धुपाल्चोकको मेलम्ची खोला र इन्द्रावती नदीमा आएको बाढीले मेलम्ची नगरपालिका, हेलम्बु र पाँचपोखरी थाङपालधाप गाउँपालिका प्रभावित बनेको छ । संकटमा परेका सर्वसाधरणहरुको उपचारमा यसअघि पनि प्रहरी अस्पतालका चिकित्सकहरु सक्रिय रहेको उल्लेख गर्दै एसएसपी डा.श्रेष्ठले यसपाली पनि निरन्तरता दिइएको बताए । उनले भने, ‘संकटमा परेका नागरिकहरुको सारथी र सहयोगी बन्न पाएकोमा हामी खुशी छौं । अप्ठ्यारो र संकटमा परेकाहरुको सेवा गर्नु हाम्रो कर्तव्य हो ।’


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ