काठमाडौं—नेपालमै उत्पादित रेम्डेसिभिरले बिक्री वितरणको अनुमति पाएको छ । वीरगन्जस्थित नेशनल हेल्थकेयर कोभिड-१९ विरुद्ध प्रयोग गरिदैं आएको औषधी रेम्डेसिभिरको नेपालमै उत्पादन सुरु गरेको थियो ।
नेशनल हेल्थकेयरले ३१ बैशाखमा रेम्डेसिभिर उत्पादनका लागि औषधि व्यवस्था विभागबाट अनुमति पाएको थियो । १३ असारदेखि नेशनलले मार्केटिङ लाइसेन्स पाएर बिक्री वितरण समेत सुरु भएको जनाएको छ ।
नेशनलले नेपालमै उत्पादन गरेको रेम्डेसिभिरको ब्राण्ड नाम ‘रेम्सीभिर (Remsiver)’ राखिएको छ । यसको बजार मूल्य प्रति भायल ३ हजार ५ सय रहेको छ ।
रेम्सीभिर (Remsiver) को लियोफिलाइज्ड इजेक्सन नेशनल हेल्थकेयरको मार्केटिङ डिभिजन ओतीभाबाट पाउने सकिने कम्पनीले जनाएको छ । उसले ओतीभाका डिभिजन डिस्टीब्युटर्समार्फत नेपालभर उपलब्ध हुने जनाएको छ ।
यसअघि नेपालले भारत र बंगलादेशबाट रेम्डेसिभिर ल्याउँदैं आएको थियो । जसको प्रति भायल मूल्य ५ हजार पर्ने गरेको थियो ।
यो अमेरिकी फुड एण्ड ड्रग्स एडमिनिष्ट्रेशन (FDA) बाट स्वीकृत प्राप्त औषधी हो ।
