२०८२ असार २, सोमबार
Health Aawaj logo
गृहपृष्ठसमाचारशुक्रराज अस्पताल टेकुको निर्देशकमा डा. अनुप बाँस्तोला नियुक्त

शुक्रराज अस्पताल टेकुको निर्देशकमा डा. अनुप बाँस्तोला नियुक्त


काठमाडौं—शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुको निर्देशकमा डा. अनुप बाँस्तोला नियुक्त भएका छन् । सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मन्त्रीस्तरीय निर्णयबाट डा. बाँस्तोला अस्पतालको निर्देशकमा नियुक्त भएका हुन् ।

‘मैले अस्पतालको निर्देशक नियुक्त भएको पत्र पाइसके । अब अस्पताललाई सबैको अस्पताल बन्ने गरी सेवा प्रवाह गर्नका लागि प्रतिवद्ध रहनेछु,’ डा. बाँस्तोलाले हेल्थआवाजसँग भने, ‘महामारीको बेला मात्र यो अस्पतालाई सम्झिइन्छ । अब सधै अस्पताललाई सम्झने बनाउँछु ।’

डा. बाँस्तोला यसअघि अस्पतालको प्रवक्ताको जिम्मेवारीमा थिए । निर्देशक डा. सागरराज भण्डारीले अवकास पाएसँगै बाँस्तोला निर्देशक बनेका हुन् ।

पोखरामा जन्मिएका बाँस्तोलाले वि.सं. २०५३ सालमा लक्ष्मी आदर्श माध्यमिक विद्यालयबाट एसएलसी उत्तीर्ण गरेका हुन् । काठमाडौं युनिभर्सिटीबाट आइएस्सी अध्ययन पुरा गरेका उनले नेपालगञ्ज मेडिकल कलेजबाट एमबीबीएस गरेका हुन् ।

उनले न्याम्सबाट डर्माटोलोजीमा एमडी गरेका छन् । यस्तै, थाइल्याण्डको महिडोल युनिभर्सिटी स्कुल अफ ट्रोपिकल मेडिसिनबाट ट्रोपिकल एन्ड इन्फिक्सियस डिजिजमा एमडी गरेका छन् ।

वि.सं. २०६३ सालमा लोकसेवा आयोगमा नाम निकालेर सरकारी सेवामा प्रवेश गरेका बाँस्तोला ११ औं तहका चिकित्सक हुन् । उनले २ वर्ष दार्चुला जिल्ला अस्पतालमा काम गरेका थिए ।  १३ वर्षयता भने निरन्तर टेकु अस्पतालमा सेवारत छन् ।

 


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ