२०८१ वैशाख ११, मंगलबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश २लिला मदन पोलिक्लिनिकको बिरामीमाथि लुट, जनरल बेडमा उपचार गरेको खर्च २ हप्तामै ५ लाख बढी

लिला मदन पोलिक्लिनिकको बिरामीमाथि लुट, जनरल बेडमा उपचार गरेको खर्च २ हप्तामै ५ लाख बढी

बिरामीलाई दिदैन सक्कली बिल


जनकपुर—पटक—पटक विवादमा पर्दै आएका लहानस्थित लिला मदन पोलिक्लिनिक तथा प्रस्तुती गृह फेरि सेवाग्राहीसँग बढी रकम असुल गरेको भन्दै विवादमा तानिएको छ । पोलिक्लिनिकले जनरल वार्डमा उपचाररत बिरामीको दुई हप्तामा करिब सवा ५ लाख रुपैयाँको अस्वभाविक बिल थमाएपछि बिरामीका आफन्तले गुनासो गर्न थालेका छन् ।

श्वास—प्रश्वासमा एक्कासी समस्या देखिएपछि दुई हप्तादेखि सिरहा नगरपालिका–१० का २५ वर्षीय सुरेश मुखिया पोलिक्लिनिकमा उपचाररत थिए । स्थानीय चिकित्सकको सुझावमा बिरामीका आफन्तले सुरेशलाई तत्कालै लहानस्थित लिला मदन पोलिक्लिनिक तथा प्रसुती गृहमा ल्याए । क्लिनिकले सुरुमा ८ हजार ५ सय रुपैयाँ धरौटी राख्न लगायो ।

त्यसपछि उनको उपचार सुरु भयो । चिकित्सकले आफन्तलाई सुरेशको छातीमा कफ जमेको बताए । चिकित्सकले उनलाई भर्ना गरेर राख्नुपर्ने र तीन/चार दिनमा ठीक हुने आश्वासन दिए । उनको नियमित उपचार हुँदै गयो ।

चार दिनपछि सुधार पनि भयो । तर, चिकित्सकले अझै क्लिनिकमै राख्नुपर्ने बताएपछि आफन्तले अस्वीकार गर्न सकेनन् । क्लिनिकले भनेको दिन आफन्तले पैसा पनि जम्मा गरिरहे । तर, क्लिनिकले बिल भने दिएन् ।

‘क्लिनिकले एकैचोटि डिस्चार्ज हुने बेलामा बिल दिने भन्यो,’ बिरामीका साला विजय मुखियाले भने, ‘हामीले बिल माग्दा पनि डाक्टरले दिएनन् । आफैले लेखेर राख्न भने ।’

उनीहरूले भर्ना भएदेखि १४ असारसम्ममा ३ लाख ७० हजार रुपैयाँ क्लिनिकका सञ्चालक डा. दिलीपकुमार साहलाई बुझाइसकेको बताए । क्लिनिकले १७ असारमा आफन्तलाई जम्मा ५ लाख २१ हजारको सादा बिल दियो । बुझाइसकेको ३ लाख ७० हजार काटेर १ लाख ५१ हजार चुक्ता गरेर बिरामी लैजान भन्यो ।

तर, कहिलेकाही मात्रै अक्सिजन प्रयोग गरिएका बिरामी सुरेशको उपचारको बिल देखेर आफन्त भने आश्चर्यमा परे ।

क्लिनिकले बिरामीका आफन्तलाई सादा कागजमा दिएको बिल

‘क्लिनिकमा आईसीयू पनि छैन । भेन्टिलेटर पनि छैन,’ विजयले भने, ‘सधैं बेडमै सामान्य बिरामी जस्तो उपचार भयो । तर, यति ठूलो रकमको बिल देख्दा अचम्ममा प¥यौं ।’ सादा बिल देखेर अनौठो लागेपछि आफूहरूले क्लिनिकसँग सक्कली बिल माग्दा दिन नमानेको विजयले बताए ।

‘बिरामीको के–केमा कति खर्च भएको छ । त्यो दिइरहेको छैन,’ उनले भने, ‘पहिला पैसा जम्मा गर्नुस्, अनि मात्रै बिल दिन्छु भनेर डाक्टरले भन्दैछन् ।’ त्यसमा पनि डाक्टर साहले ३ लाख ७० हजारको बिल दिन नमिल्ने र बाँकी १ लाख ५१ हजारको मात्रै बिल दिने बताइरहेको आफन्तले बताए । डाक्टरले यो कुरा बाहिर कसैलाई भने बिरामीको अवस्था बिग्रनेसम्मको धम्की दिइरहेको बिरामीका आफन्तको भनाइ छ ।

यता, क्लिनिक सञ्चालक डा. साहले बिरामीबाट ३ लाख ७० हजार रुपैयाँ नलिएको दाबी गरेका छन् । उनले सुरेशको उपचारमा १ लाख ५१ हजार रुपैयाँ खर्च भएको बताए ।

यद्यपि, पीडितहरूका आफन्तले खिचेको भिडियोमा उनले ३ लाख ७० हजार लिइसकेको स्वीकार गरेका छन् । भिडियोमा उनले सुरेशको उपचारमा प्रयोग गर्ने औषधी नेपालमा अवैध भएको र भारतबाट मगाउँदा महंगो परेको दाबी गरेका छन् ।

क्लिनिकले अन्याय गरेको भन्दै पीडितका आफन्त लहान नगरपालिकाका स्वास्थ्य विभाग प्रमुख समक्ष पुगेका थिए । स्वास्थ्य विभाग प्रमुखले नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतलाई भेट्न पठाए पनि उनले आफूहरूको समस्या सुन्न अस्वीकार गरेको पीडितहरूको आरोप छ ।

सिरहाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँडेलले क्लिनिकले प्राथमिक उपचारबाहेक कुनै पनि बिरामी भर्ना लिन नपाउने कानुनी व्यवस्था रहेको र अवैध रूपमा मनपरी रकम लिएको भनी पीडितले उजुरी लिएर आए कानुनी प्रक्रिया अगाडि बढाइने बताए ।


क्याटेगोरी : प्रदेश २, समाचार
ट्याग : #डा. दिलीपकुमार साह, #लिला मदन पोलिक्लिनिक तथा प्रस्तुती गृह


तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ