काठमाडौँ – सुर्तीजन्य पदार्थ नियमन तथा नियन्त्रणका लागि बनेको कानुन कार्यान्वयन हुनुपर्नेमा विज्ञहरुले जोड दिएका छन्। मंगलबार स्वास्थ्य पत्रकार मञ्च नेपाल र नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को संयुक्त आयोजनामा गरिएको कोेभिड – १९ को सन्दर्भमा सुर्तीजन्य पदार्थ र नसर्ने रोगसम्बन्धि अन्तरक्रिया कार्यक्रममा विज्ञहरुले सुर्तीको बढ्दो प्रयोगले स्वास्थ्यलाई जोखिम पारिरहेको बताउँदै यसको कानुनको कार्यान्वयन गर्न पर्नेमा जोड दिएका हुन्।
कार्यक्रममा बोल्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रमुख विशेषज्ञ महेन्द्रप्रसाद श्रेष्ठले सूर्तीजन्य पदार्थ नियन्त्रणमा नेपालले धेरै काम गरिरहेको र अझै धेरैकाम गर्न बाँकी रहेको जनाए। उनले भने, ‘हामीले धेरै काम गरेका छौ जसले गर्दा नेपालले विश्वमा छुट्टै पहिचान बनाएको छ ।’
सुर्तीजन्य पदार्थको प्रयोगकर्ताहरु अपेक्षित रुपमा नघटी रहेको अवस्थामा नसर्ने रोगको जोखिम बढ्दै गएको भन्दै अनुसन्धान र जनचेतना जगाउने कार्यलाई सँगै अघि बढाइएको परिषदका प्रमुख कार्यकारी सदस्य सचिव डा. प्रदिप ज्ञवालीले जानकारी दिए।
कार्यक्रममा बोल्दै नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का उपाध्यक्ष प्रा। डा गौरबराज ढकालले सुर्तीजन्य पदार्थको प्रयोगलाई नियन्त्रण र निरुत्साहित गर्नुपर्ने बताए । ‘सुर्तीजन्य पदार्थ भन्ने वित्तिकै मुटु, क्यान्सर तथा मधुमेह जस्ता रोगहरुमात्रै अगाडी आउने गरेको भन्दै अरु धेरै रोगहरुमा पनि यसको असर देखिएको छ,’ उनले भने, ‘मुटु क्यान्सर जस्ता रोगहरु मात्रै होइन सुर्तीजन्य पदार्थ सेवनकर्तालाई स्पाइन सम्वन्धी समस्याहरु बल्झिराखेको हुन्छ ।’
कार्यक्रममा स्वास्थ्य पत्रकार मञ्च नेपालका अध्यक्ष रामप्रसाद न्यौपानेले सुर्तीजन्य पदार्थ, नसर्ने रोग र कोभिड १९ को सम्वन्धका बारेमा परिषदसँग मिलेर कार्याशाला गोष्ठी गर्न पाउँदा खुशी लागेको र यस्ता कार्यक्रमबाट स्वास्थ्य पत्रकारहरुका लागि राम्रो इस्यु उठेको बताए ।