२०८१ वैशाख १३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठगण्डकी प्रदेशकोभिडविरुद्धको लडाइ र विपदलाई सामना गर्न ३ तहका सरकारबीच समन्वय जरुरी : मुख्यमन्त्री पोखरेल

कोभिडविरुद्धको लडाइ र विपदलाई सामना गर्न ३ तहका सरकारबीच समन्वय जरुरी : मुख्यमन्त्री पोखरेल


पोखरा –  गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले कोभिड-१९विरुद्धको लडाइ र विपदलाई सामना गर्न ३ तहका सरकारबीच समन्वय जरुरी रहेको बताएका छन् ।

मंगलबार  प्रदेशका सबै जिल्लाका प्रमुख जिल्ला अधिकारी, स्वास्थ्य कार्यालय प्रमुख, पालिकाका प्रमुख तथा अध्यक्षबीच खोपको व्यवस्थापन र विपद व्यवस्थापनसम्बन्धि भएको जुम बैठक उनले यस्तो भनेका हुन।

१८ वर्ष उमेरमाथिको समूहलाई यथाशीघ्र खोप दिलाउन सरकार प्रतिबद्ध रहेको भन्दै मुख्यमन्त्री पोखरेलले प्रदेशको प्रयासमा नेपाल सरकारबाट नियमित रुपमा खोप प्राप्त भएको जानकारी दिए ।

‘अहिले विभिन्न समूह खोपका लागि माग गर्दै आएको अवस्थामा उमेर समूह नै वैज्ञानिक देखिएकाले त्यसै अनुसार वितरण गर्नुपर्ने हुन्छ,’ उनले भने, ‘यो अभियानलाई निरन्तर दिँदै क्रमशः प्रदेशका सबै लक्षित समूहमा खोप पु¥याउने नीति लिएका छौं ।’

संक्रमण दर बढ्दै गरेको अवस्थामा खोप व्यवस्थापनलाई प्रभावकारी बनाउन सबै पक्षको साझा प्रयास केन्द्रित गर्ने सहमति हुनुको साथै आगामी दिनमा गर्न सकिने कामका बारेमा सो बैठकमा छलफल भएको छ ।

बैठकमा बोल्दै स्वास्थ्य तथा जनसंख्यामन्त्री मधुमाया अधिकारी गुरुङले कोभिड नियन्त्रणका लागि स्थानीय तहका पदाधिकारी र कर्मचारीको खटाइ असाध्यै अनुकरणीय रहेको बताइन  । अबका दिनमा आउने जोखिमबाट बच्न पनि थप सचेत हुनुपर्ने उनको भनाई छ।

यस्तै, प्रदेशका प्रमुख सचिव डा. दामोदर रेग्मीले प्रदेशका १ तिहाइ जनसंख्यालाई खोप उपलब्ध भइसकेको भन्दै बढीभन्दा बढी खोप ल्याउन आफूहरु प्रयासरत रहेको बताए । ‘प्राप्त खोपलाई केन्द्रको मापदण्ड अनुसार जुन उमेर समूहलाई भनिएको छ, त्यसै अनुसार आइदिन र उपलब्ध गराइदिन आग्रह गर्छु ।’ ,उनले भने।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव विनोदबिन्दु शर्माले उमेर समूहअनुसार खोप लगाउन सकेमा प्रदेशका सबै नागरिकलाई उपलब्ध गराउन सकिने जनाए ।

उमेर समूहअनुसार खोप लगाउन सके अब ४५ देखि ४९ वर्ष उमेर समूहको पालो आउने प्रदेश स्वास्थ्य निर्देशक डा. खीमबहादुर खड्काले उल्लेख गरे।  यसको साथै उनले पछिल्ला दिनमा संक्रमणको दर बढेको भन्दै सतर्कता अपनाउन आग्रह गरेका छन्।

कार्यक्रममा सहभागी प्रजिअहरुले अहिले कोभिडको संक्रमण बढे पनि अस्पतालमा जानेको संख्या कम रहेको र अधिकांश होम आइसोलेसनमै रहेको बताएका छन् । कोरोना महामारीसँगै बाढी पहिरोको प्रकोप पनि उस्तै रहेकाले पुनःस्थापनाका लागि प्रदेश सरकारले पहल गरिदिनुपर्ने सरोकारवालाहरुले बताए  ।


क्याटेगोरी : गण्डकी प्रदेश, समाचार
ट्याग : #कोभिडविरुद्धको लडाइ, #मुख्यमन्त्री पोखरेल


तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ