२०८१ वैशाख १३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसमाचारअब्बल जनशक्ति र अत्याधुनिक उपकरणले भरिपूर्ण पूर्वाञ्चल क्यान्सर अस्पताल

अब्बल जनशक्ति र अत्याधुनिक उपकरणले भरिपूर्ण पूर्वाञ्चल क्यान्सर अस्पताल


झापा – विर्तामोडमाअवस्थित पूर्वाञ्चल क्यान्सर अस्पताल क्यान्सर उपचारका लागि अब्बल साबित बन्दै गएको छ । अस्पतालमा अब्बल चिकित्सकको टिम, पर्याप्त संरचना, पूर्वाधार र उपकरण हुँदा उपचार प्रकृया सहज भएको कार्यरत चिकित्सकहरु बताउँछन् ।

अस्पतालमा क्यान्सरको पहिचान र उपचारका लागि भारत लगायत नेपालका पश्चिमी जिल्लाहरुबाट समेत बिरामीको घुइँचो लाग्ने गरेको छ । बिरामीमैत्री सेवा प्रवाह गर्दै आएको अस्पतालका जनसम्पर्क अधिकारी प्रमिश गिरीले बताए ।

तीन सय शैय्याको स्वीकृती पाएको सो अस्पतालमा क्यान्सर उपचारका आगि आवश्यक रेडियो थेरापी, किमो थेरापी, सर्जरीलगायत सम्पूर्ण सेवा उपलब्ध रहेका छन् । यस्तै, अस्पतालमा पेट स्क्यान, थ्रिडी मेमोग्राम मेसिन, एमआरआइ, सिटी स्क्यानलगायत अत्याधुनिक उपकरण रहेको अस्पतालले जनाएकोे छ ।

बिरामीहरुका लागि कुनै समस्या नआओस र रोग पहिचानका लागि भौतारिन नपरोस भनेर उपकरण पर्याप्त राखिएको अस्पतालका कार्यकारी निर्देशक दुर्गा प्रसाइ बताउँछन् ।

अस्पतालका मेडिकल डाइरेक्टर डा. वीरेन्द्र यादवले सबैभन्दा बढी महिलाको स्तन क्यान्सरका रोगीको शल्यक्रिया गरिएको जानकारी दिए । उनका अनुसार स्तन क्यान्सरपछि आन्द्रा, नाक, कान, घाँटी र डिम्बासय क्यान्सरको शल्यक्रिया गरिएको छ ।

नेपालभर हुने क्यान्सर रोगीसम्बन्धि शल्यक्रियामध्ये २५ प्रतिशत पूर्वाञ्चल क्यान्सर अस्पतालमा हुने गरेको डाक्टर यादवले बताए ।

नेपालमा वर्षेनी ३०देखि ४० हजार क्यान्सर रोगी थपिँदै गएको र २ हजारजनासम्म क्यान्सर रागीकोे मृत्यु हुने गरेको तथ्यांक छ । डाक्टर यादवले क्यान्सर रोगीका लागि आवश्यक सम्पूर्ण उपकरण पूर्वाञ्चल क्यान्सर अस्पतालमा उपलब्ध भएको बताए । उनले झापामा प्रत्येक वर्ष २ हजारभन्दा बढी क्यान्सर रोगी थपिँदै गएको जानकारी दिए ।

हाल अस्पतालमा बिरामीहरुले ब्रेची थेरापी, गामा क्यामेरा, फोर डि पेटसिटी सिमुलेटर, ब्रेन ल्याब, न्युरो नेभिगेसन सिष्टम, क्याथ ल्याब, डेक्सा स्क्यानको सेवा पाइरहेका छन् । चिकित्सकहरुका अनुसार पाठेघरको मुखको क्यान्सर उपचारमा ब्रेची थेरापी र स्तन क्यान्सरमा म्यामोग्राम प्रभावकारी उपकरण मानिन्छ ।

शरीरभित्रमा ट्युमरमा क्यान्सरको सेल पहिचान गर्न क्याथल्याब उपकरणको सहायता लिइने गरिन्छ । ‘पेट सिटीलाई आइ अफ अङकोलोजी’ भन्ने गरिन्छ । यो उपकरण काठमाडौं उपत्यका बाहिर पहिलोपटक अस्पतालले सञ्चालनमा ल्याएको अस्पतालले जनाएको छ । हाल अस्पतालमा टोमोथेराफी, रेडियोथेराफि, रेडियसन लगायतका मेसिन समेत उपयोगमा आएका छन् ।

अस्पतालले शल्यक्रियापछि अनुहारलाई दुरुस्त बनाउने ‘फ्री फ्लाप रिकन्स्ट्रक्शन सर्जरी’ सेवा दिदैं आएको छ । नाक, कान र घाँटीमा क्यान्सर संक्रमण हुँदा शल्यक्रिया गरेर अनुहारको बाहिरी र भित्रि भागमा पलाएको मासु फालिएपछि पुरानै स्वरुपमा अनुहारलाई ल्याउन ‘फ्री फ्लाप रिकन्स्ट्रक्शन सर्जरी’ गरिने चिकित्सकहरु बताउँछन् । अहिलेसम्म तीन हजार पाँच सय जनाको वायोप्सी गरीएको, सात सय जनाको सर्जरी र ९५३ जनालाई रेडियसन दिइसकेको अस्पतालले जनाएको छ ।

क्यान्सर रोगका लागि प्रयोग हुने प्रायः सबै प्रविधिहरु पूर्वाञ्चल क्यान्सर अस्पतालमा छन् । पूर्वाञ्चल क्यान्सर अस्पतालका अनुसार रोग पहिचान गर्न रेडियोलोजीका लागि चाहिने सम्पूर्ण उपकरणहरु अस्पतालमा पर्याप्त छन् । उपचारको लागि आधुनिक प्रविधिद्धारा गरिने केमोथेरापी, इमिनो थेरापी लगायत सबै सुविधा उपलब्ध छ ।

रेडिएसन थेरापीको लागि नेपालकै राम्रो व्यबस्था रहेको भन्दै सबै रेडिएशनमा आइएमआरटी, आइभिआरटि र नेपालमै पहिलो पटक रेडियो सर्जरी हुँदै आएको छ । यस्तै, अस्पतालमा एसबिआरटि रेडिएसन पनि रहेको छ ।

पेट सिटि मेसीन छ, सरकारले उपयोगमा आउन दिएन

सरकारले हालसम्म आफ्ना अस्पतालबाट पेट सिटी सेवा उपलब्ध गराउन सकेको छैन । भएका केहि उपकरणहरु सरकारको नितिका कारण उपयोगमा आउन सकेका छैनन् । क्यान्सर बिरामीका लागि ल्याएको पेट सिटीस्क्यान उपकरण (मेसिन) अस्पतालमा जडान त गरीएको छ । विज्ञान तथा प्रविधि मन्त्रालयबाट क्यान्सर अस्पतालको इआइए पास समेत भयो । तर, अहिले नयाँ ऐन बनाउनुपर्छ भन्दै मन्त्रालयले आलटाल गर्दै आएको छ ।

अस्पतालका कार्यकारी निर्देशक दुर्गा प्रसाइले पेट सिटी स्क्यानको वारेन्टी समयको म्याद सकिनै थालेको बताए । पेट सिटी गराउन सञ्चालन अनुमति नपाउँदा बिरामीहरु भारतमा उपचार गराउन बाध्य छन् । पेट सिटी गराउन भारतमा चारदेखि पाँच लाख रुपैयाँ लाग्छ । नेपालमा नै भइदिएको भए ७५ हजार रुपैंयासम्म खर्चमा पेटसिटी गर्न सकिने पूर्वाञ्चल क्यान्सर अस्पतालले जनाएको छ । मेसिन थन्किदाँ बिएण्डसीले एक वर्षको महिनामा ३६ लाख व्याज तिर्दै आएको छ ।

अस्पतालका मेडिकल डाइरेक्टर डा. वीरेन्द्र यादवका अनुसार पेट सिटीले क्यान्सरको फैलावट पत्ता लगाउन सकिन्छ ।

उनले भने,‘पेटसिटीका लागि बिरामीहरु भारत लगायतका देश जानुपर्ने अवस्था छ । पेटसिटीले क्यान्सर रोगमा प्रयोग भएको औषधी शरीरमा प्रभावकारी भए नभएको तथा शरीरमा क्यान्सर सेल भए नभएको पत्ता लगाउन मद्दत पुग्छ । ’

सो अस्पताल लगभग चार अर्वको लगानीमा निर्माण गरिएको हो ।


क्याटेगोरी : समाचार
ट्याग : #एमआरआइ, #क्याथ ल्याब, #गामा क्यामेरा, #डा.वीरेन्द्र यादव, #डेक्सा स्क्यान, #दुर्गा प्रसाइ, #न्युरो नेभिगेसन सिष्टम, #पूर्वाञ्चल क्यान्सर अस्पताल, #पेटसिटी सिमुलेटर, #ब्रेची थेरापी, #ब्रेन ल्याब, #सिटी स्क्यान


तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ