२०८१ वैशाख १४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारराज्यमन्त्रीसँग टसल परेपछि डा. गुणराज लोहनीलाई गण्डकी प्रदेशमा पठाउने तयारी

राज्यमन्त्रीसँग टसल परेपछि डा. गुणराज लोहनीलाई गण्डकी प्रदेशमा पठाउने तयारी


काठमाडौं-स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठसँग टसल परेपछि मन्त्रालयका नीति, योजना तथा अनुगमन महाशाखाका प्रमुख डा. गुणराज लोहनीलाई काजमा गण्डकी प्रदेशमा सरुवा गर्ने तयारी गरिएको छ ।

केपी शर्मा ओली नेतृत्वको सरकारका बेला मन्त्रालयको पावरफूल निकाय इन्सिडेन्ट कमाण्ड सिष्टमको कमाण्डर रहेर काम गरेका डा. लोहनीलाई नयाँ सरकार आएसँगै प्रदेशमा काजमा सरुवा गर्ने तयारी गरिएको हो ।

स्वास्थ्य मन्त्रालयको सिफारिसमा उनलाई गण्डकी प्रदेशको स्वास्थ्य सचिवको जिम्मेवारी दिएर तयारी छ । त्यसका लागि स्वास्थ्य मन्त्रालयले गृहकार्य अगाडि बढाएको मन्त्रालय स्रोतको दावी छ । प्रदेशमा सहसचिवलाई सचिवका रूपमा पठाउँदा सामान्य प्रशासन मन्त्रालयले मन्त्रीस्तरीय निर्णय गरी काजमा खटाउन सक्ने व्यवस्था छ ।

इन्सिडेन्ट कमाण्ड सिष्टमको प्रमुख रहेका बेलादेखि नै डा. लोहनीको वर्तमान स्वास्थ्य सचिव डा. रोशन पोखरेलसँग पनि सम्बन्ध राम्रो छैन । राज्यमन्त्री र सचिव दुवैसँग सुमधुर सम्बन्ध नभएपछि डा. लोहनी आफैले सरुवा माग गरेको उनी निकटस्रोतको दावी छ । मन्त्रालयको महत्वपूर्ण महाशाखाको जिम्मेवारी सम्हालेका डा. लोहनीलाई राज्यमन्त्री आएपछि अप्रत्यक्ष रुपमा जिम्मेवारी कटौती गर्दै लगिएको थियो । जसप्रति लोहनी असन्तुष्ट रहेका थिए । असन्तुष्टि बढेसँगै उनले राज्यमन्त्री श्रेष्ठलाई आफू वातावरण सहज बनाइदिन तयार रहेको र उपयुक्त स्थानमा व्यवस्थापन गरिदिन भनेका थिए ।

‘आफूले सोचेअनुसार काम गर्न नपाएपछि सरुवा माग्नु भएको हो,’ स्रोतले भन्यो, ‘एक दिन दुई दिन टसल लिएर बस्न सकिएला तर सधैं त्यसरी बस्न सकिदैन भनेर उहाँ गण्डकी जान लाग्नुभएको हो ।’

यसबारेमा जिज्ञाशा राख्दा डा. लोहनीले आफू सरकारको कर्मचारी भएकाले सरकारले खटाएको ठाउँमा जान तयार रहेको बताए । ‘म सरकारी कर्मचारी हो । सरकारले मेरो आवश्यकता जहाँ ठान्यो म जानुपर्छ,’ उनले भने । तर, आफूलाई सरुवा गर्ने विषयमा कुनै जानकारी नभएको उनले बताए ।

डा. लोहनी ११ औं तहका दोस्रो वरियतामा रहेका वरिष्ठ अधिकारी हुन् । कोभिड-१९ को पहिलो र दोस्रो लहरका बेला अधिकांश नीतिगत कामहरु उनकै नेतृत्वमा सम्पन्न भएका थिए ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ