२०८३ असोज २४, शनिबार
Health Aawaj logo
गृहपृष्ठ ∕ समाचार ∕ नर्भिक अस्पतालमा उपचाररत मोडल निशा घिमिरेको निधन

नर्भिक अस्पतालमा उपचाररत मोडल निशा घिमिरेको निधन


काठमाडौं-चर्चित मोडल तथा कलाकार निशा घिमिरेको उपचारका क्रममा निधन भएको छ । मोडल घिमिरेको उपचारका क्रममा बुधबार साँझ ६ः५१ बजे मृत्यु भएको नर्भिक इन्टरनेशनल अस्पतालका सिनियर कर्पोरेट कम्युनिकेशन एण्ड पीआर म्यानेजर सोमनाथ बाँस्तोलाले जानकारी दिए ।

लगातारको उपचारपछि पनि उनको स्वास्थ्य अवस्थामा अपेक्षित सुधार आउन सकेको थिएन । उनलाई लगातार अक्सिजनको सपोर्ट दिएर सीसीयूमा राखिएको थियो । खाना पनि पाइपबाट खुवाउने गरिएको थियो भने उनका शरीरमा रहेका घाउहरु समेत लामो समयसम्म पुरिन सकेका थिएनन् । गम्भीर अवस्थामै रहेकी घिमिरेको मुटु र मृगौलाले काम गर्न छाडेपछि बुधबार बिहानदेखि अवस्था गम्भीर बन्न पुगेको थियो ।

नर्भिक अस्पतालले जिउँदो लाशजस्तो भएर घरमै थन्किएकी घिमिरेलाई २०७८ जेठ २७ गते उद्धार गरेको थियो । उद्धार गरी अस्पतालले निःशुल्क उपचार थालेको थियो । सो क्रममा उहाँको सबैखालका विकल्प तथा विधिबाट उपचार गरिएको थियो । लामो समयसम्मको उपचारपछि पनि उहाँको अवस्था स्थिर नै रहेको थियो ।

‘अस्पतालको सीसीयूमा लगातार राखी उपचार गरिएको र नर्भिकले गरेका सबै प्रयासका बाबजुद मोडल घिमिरेको निधन हुन पुगेकोमा हामी अत्यन्त दुःखी भएका छौं,’ नर्भिक अस्पतालका प्रमुख कार्यकारी अधिकृत अजय मिश्रले भने, ‘हामी दिवंगत आत्माको चिरशान्तिको कामना गर्र्दछौं भने शोक सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गर्दछौं ।’


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ