२०८१ असार ८, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारस्वास्थ्य बिमा बापतको २ अर्ब बढी भुक्तानी हुन बाँकी, किन हुन्छ ढिलाइ ?

स्वास्थ्य बिमा बापतको २ अर्ब बढी भुक्तानी हुन बाँकी, किन हुन्छ ढिलाइ ?


काठमाडौं—सरकारले स्वास्थ्य बिमा कार्यक्रम लागु गरेपनि विमा कार्यक्रम लागु भएका सूचीकृत स्वास्थ्य संस्थाहरुलाई दुई अर्ब रुपैंयाँभन्दा बढी रकम भुक्तानी नगरेको पाइएको छ । बिमा कार्यक्रम लागु भएका अस्पतालहरुले बिमा बापतको रकम पाउन सकेका छैनन् । देशभर ४ सय २९ वटा सेवा प्रदायक स्वास्थ्य संस्था रहेका छन् ।

स्वास्थ्य बिमा बोर्डका सूचना अधिकारी माधव लम्सालले बजेट पास हुन ढिलाइ हुँदा समस्या भएको बताए । ‘बजेट पास भएको थिएन । त्यही भएर भुक्तानी ढिलाइ भएको हो । आन्तरिक प्रक्रियामा छौं । अब भुक्तानी गर्छौ,’ उनले भने । उनले साउनमै बजेट आउनुपर्ने भएपनि बोर्डबाट बजेट ढिलो पास हुँदा भुक्तानी गर्न ढिलाइ भएको बताए । उनले थपे, ‘१५/१५ दिनमा भुक्तानी गर्ने योजना थियो । पुरानो पेमेन्ट बाँकी भएको यथार्थ हो ।’

बिएण्डसी अस्पतालका कार्यकारी निर्देशक दुर्गा प्रसाईले बिमा वापतको रकम दिन स्वास्थ्य विमा बाेर्डले आनाकानी गरेको बताए । ‘स्वास्थ्य विमा गरेकाहरुको उपचार त गर्छौ । तर, समयमा भुक्तानी नै हुँदैन्,’ उनले भने । बोर्डले जनशक्ति अभावले पनि भुक्तानीमा केही समय लागेको बताएको छ । बोर्डको बजेट ७ अर्ब ५० करोड रुपैयाँ रहेको छ ।

स्वास्थ्य बिमा बोर्डकाअनुसार हालसम्म ४५ लाख जनाले स्वास्थ्य बिमा गराएका छन् । जसअन्तर्गत १३ लाख ६८ हजार ९ सय ६८ जना परिवार रहेका छन् । स्वास्थ्य विमा कार्यक्रमका लागि सरकारले ७ अर्ब ५० करोड रुपैंयाँ बजेट विनियोजन गरेको छ । हालसम्म देशभरका ४ सय २९ अस्पताल बिमा कार्यक्रमका लागि सूचीकृत भएका छन् । तर, ती मध्ये केही अस्पतालहरुले विमितहरुलाई सहज तरिकाले उपचार गर्न आनाकानी गर्दै आएको पीडितहरुको गुनासो छ ।

बोर्डको तथ्याकंअनुसार आर्थिक वर्ष २०७७/०७८ मा २८ लाख ८२ हजार १ सय सात जना विमित भएका छन् । जसमध्ये ७० प्रतिशतले नवीकरण गराएका छन् । विमित नवीकरण गराउनेको उल्लेख्य संख्यामा वृद्धि हुन सकेको छैन । बिमा कार्यक्रमको सदस्यता वार्षिक रुपमा दर्ता सहयोगीमार्फत नवीकरण गर्नुपर्छ । स्वास्थ्य बिमा कार्यक्रमको सदस्यता लिएपछि सेवा क्रियाशील भएको मितिदेखि लागु हुने गरी एक वर्षका लागि मात्र स्वास्थ्य बिमा अवधि क्रियाशील हुने प्रावधान छ ।

स्वास्थ्य बिमा कार्यक्रमबाट बहिरंग सेवा, आकस्मिक सेवा, अन्तरंग सेवा, निदानात्मक सेवा, सूचीकृत औषधीहरु, शल्यक्रिया, तोके बमोजिम मूल्यको चस्मा, श्रवणयन्त्र, सेतो छडी, बैशाखीलगायतका सेवा लिन पाइने व्यवस्था छ । अति गरिब, एचआईभी संक्रमित, कुष्ठरोगी, एम.डी.आर.टी.बी, अति अशक्त अपागंता भएका परिवारलाई योगदान रकममा सतप्रतिशत छुटको व्यवस्था गरिएको छ ।

स्वास्थ्य समस्याको कारणले हुनसक्ने आर्थिक जोखिमलाई न्यूनीकरण गर्ने उद्धेश्यले बिमा कार्यक्रम लागु गरिएपनि कार्यान्वयनमा सकस हुँदै आएको छ । बिमा रकम तिर्न नसक्ने विपन्न वर्गको हकमा भने सरकारले नै बिमा रकम वापतको शुल्क तिरिदिने व्यवस्था गरेपनि त्यसो हुन सकेको छैन । सरकारले अति विपन्न नागरिकलाई शतप्रतिशत, विपन्नलाई ७५ प्रतिशत तथा गरिबीको रेखामुनी रहेका नागरिकलाई ५० प्रतिशतका दरले बिमा रकम बापतको शुल्क तिरिदिने व्यवस्था छ । तर, अहिलेसम्म पनि अधिकांश जिल्लामा गरिवि परिचयपत्र वितरण हुन सकेको छैन ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ