२०८० चैत्र ६, मंगलबार
Health Aawaj logo
गृहपृष्ठसमाचारतीन करोडको हिसाब नबुझाउने नेताको ट्रष्टलाई थप १ करोड अनुदान

तीन करोडको हिसाब नबुझाउने नेताको ट्रष्टलाई थप १ करोड अनुदान


काठमाडौं—राजनीतिक पहुँचका आधारमा प्रत्येक वर्ष सरकारबाट अनुदान लिएर त्यसको हिसाब नबुझाउने स्वास्थ्य संस्थाले यस वर्षपनि थप अनुदान पाएको खुल्न आएको छ ।

अघिल्ला दुई आर्थिक वर्षमा तीन करोड सरकारी अनुदान लिएर हिसाब फस्र्यौट नगरेको सिरहास्थित चन्द्रनारायण यादव मेमोरियल ट्रष्टले यस पटक पनि राजनीतिक पहुँचका आधारमा १ करोड रुपैयाँ अनुदान पाएको हो ।

कांग्रेसका पुराना नेता स्व. चन्द्रनारायण यादवको नाममा स्थापना भएका सो ट्रष्टको संरक्षक उनकी श्रीमती तथा नेपाली कांग्रेसकी कोषाध्यक्ष सीतादेवी यादव छन् ।

उक्त ट्रष्टका नाममा आर्थिक वर्ष ०७५/०७६ मा १ करोड अनुदान लगेको थियो । सो रकम फस्र्योट नगर्दै आर्थिक वर्ष ०७६/०७७ मा थप २ करोड रुपैयाँ अनुदान दिएको थियो ।

यी दुवै अनुदानको हिसाब किताब नबुझाएको पुरस्कार स्वरुप सरकारले नियमितभन्दा एक कदम अगाडि बढेर बजेटमा नै १ करोड  सुनिश्चित गरिदिएको छ ।

अघिल्लो वर्ष ट्रष्टमार्फत सञ्चालन भइरहेको चन्द्रनारायण यादव मेमोरियल मेटर्निटी अस्पतालको भवन बनाउन २ करोड अनुदान दिइएको थियो । यस वर्ष पनि सोही शीर्षकमा थप १ करोड अनुदान दिने उल्लेख गरिएको छ ।

अघिल्ला वर्षको हिसाब—किताब नबुझाइ थप रकम पहुँचका भरमा दिइदा स्वास्थ्य मन्त्रालयका अधिकारीहरुलाई भने महालेखा परीक्षक कार्यलयले पटक—पटक प्रश्न गर्दै आएको छ ।

मन्त्रालयका एक अधिकारीकाअनुसार ट्रष्टलाई हिसाब—किताब बुझाउन बारम्बार ताकेता गर्दा पनि हिसाब प्राप्त भएको छैन । ‘हामीले पटक—पटक हिसाब मागेका छौं,’ ती अधिकारीले भने, ‘तर, अहिलेसम्म पाएका छैनौ । पहुँचवालाहरु जोडिएको ठाउँमा दुई तिरको चेपुवा सधैं हामी कर्मचारी पर्छौं ।’

यस विषयमा ट्रष्टका प्रशासन प्रमुख धनेश्वर यादवले वार्षिक रुपमा आफूहरुले हिसाब बुझाउने गरेको बताए । ‘हामीले वार्षिक रुपमा नै स्वास्थ्य मन्त्रालयलाई हिसाब बुझाउने गरेका छौं,’ उनले भने, ‘अहिले बेरुजु कसरी देखियो हामी बुझ्दैछौं ।’


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ