झापा-बिर्तामोडस्थित पूर्वाञ्चल क्यान्सर अस्पतालले २ हजार ८७ जना महिलाको निःशुल्क पाठेघरको मुख र स्तन क्यान्सरकाे स्क्रीनिङ्ग गरेको छ ।
अस्पताल परिषरमा ६ भाद्रदेखि ३१ भाद्र सम्म संचालन भएको निःशुल्क स्वास्थ्य शिविर कार्यक्रममा विशेषज्ञ चिकित्सकहरुबाट ओपिडी सेवा दिनुका साथै क्यान्सर सम्बन्धी अन्य सेवा पनि उपलब्ध गराएकाे अस्पतालका जनसम्पर्क प्रमुख प्रमिश गिरीले जानकारी दिए ।
स्वास्थ्य शिविरमा पाठेघरको मुखको क्यान्सर छ/छैन या भविष्यमा हुन सक्छ/सक्दैन भनेर हेरिने प्याप स्मेयर ३ सय २३ जनामा गरिएको थियो । त्यसैगरी १ सय ४१ जनाको मेमोग्राम गरी स्तन क्यान्सर भए नभएको परीक्षण गरिएको थियो ।
२९ जनाको पेटको क्यान्सर हेर्न क्लोनोस्कोपीबाट परीक्षण गरीएको थियो । शिविरमा आएका ५ सय ३७ जनाका सिए १२५ परीक्षण गरिएको अस्पतालले जनाएको छ । त्यस्तै ५५ जनाको डेक्सा स्क्यान गरिएकाे गिरीले बताए ।
अस्पतालका प्रमुख कार्यकारी निर्देशक डा. निराजन प्रसाईले १० हजार महिलाको नि:शुल्क पाठेघरको क्यान्सरको परीक्षण गर्ने लक्ष्य राखेको बताए । उनले अस्पतालले आह्वान गरेको पहिलो अभियानमा नै २ हजार भन्दा बढी महिला आएर सेवा लिनु उत्साहजनक रहेको समेत बताए ।
‘हाम्रोमा अझै पनि महिलाहरु लाजले रोग लुकाएर बस्छन, त्यही कारण क्यान्सर अन्तिम चरण पुगेपछि मात्र अस्पताल जादा पैसा र मान्छे दुवै सकिन्छ,’ उनले भने, ‘यस्तो परिवेसमा एक महिनामा २ हजार महिलामा क्यान्सर जाच गराउनुपर्छ भन्ने चेतना आएर जाच गराउनु उत्साहजनक कुरा हो ।’