२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारमिर्गौला डायलाइसिसमा मनपरी शुल्क लिएको भन्दै अनुगमन गर्न निर्देशन

मिर्गौला डायलाइसिसमा मनपरी शुल्क लिएको भन्दै अनुगमन गर्न निर्देशन


काठमाडौं—मिर्गौलाको समस्या भएका बिरामीलाई डायलाइसिसमा निजी तथा सरकारी अस्पतालहरुले मनपरी शुल्क लिएको भन्दै संसदीय समितिले सरकारलाई अनुगमन गर्न निर्देशन दिएको छ ।

समितिले डायलाइसिस सेवालाई सरलीकृत गर्न निर्देशन दिएको हो । अहिलेपनि कहाँ र कुन अस्पताल र सेन्टरबाट डायलाइसिस सेवा पाइन्छ भन्ने कुरा पीडितलाई थाहा नभएको समिति सदस्यहरुले बताएका छन् ।

समिति सभापति जयपुरी घर्तिले डायलाइसिस सेवालाई विस्तार गर्नुपर्ने र सेवा बिरामीमैत्री हुनुपर्ने बताइन् । उनले भनिन्, ‘अहिले पनि पहुँच हुनेको डायलाइसिस हुन्छ । पहुँच नभएकाहरु भौतारिरहनु परेको छ ।’ पूर्व स्वास्थ्यमन्त्री खगराज अधिकारीले डायलाइसिसमा मनपरी भएको भन्दै सरकारले अनुगमन बढाउनुपर्ने बताए । सांसद अञ्जना विशंखेले मिर्गौलामा समस्या आउन नदिने सरकारले सचेतनाका कार्यक्रमहरु सञ्चालन गर्नुपर्ने बताइन् ।

स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले जनशक्तिको अभाव हुँदा पनि अफ्ठ्यारो भइरहेको बताए । उनले भने, ‘अहिले नेफ्रोलोजिष्ट ४० जना छन् । प्रत्येक वर्ष तीन हजार जनाको मिर्गौला फेल हुन्छ । जनशक्ति नहुँदा पनि केहि अफ्ठ्यारो भएको यथार्थ हो ।’

स्वास्थ्य मन्त्रालयका नीति, योजना तथा अनुगमन महाशाखा प्रमुख डा.गुणराज लोहनीले गत वर्ष पाँच हजार ७ सय ९७ जनाले डायलाइसिस सेवा लिएको बताए । ‘डायलाइसिस गरेबापत गत वर्ष ९८ करोड ९५ लाख ४३ हजार ३५८ रुपैंया उपलब्ध गरायौं ।’


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ