२०८० मंसीर २५, सोमबार
Health Aawaj logo
गृहपृष्ठसमाचारयस्ता छन् नेपाल चिकित्सक संघको पहिलो स्वास्थ्य सम्मेलनमा जारी गरेको घोषणा–पत्रका ११ बुँदा

यस्ता छन् नेपाल चिकित्सक संघको पहिलो स्वास्थ्य सम्मेलनमा जारी गरेको घोषणा–पत्रका ११ बुँदा


 

नेपाल चिकित्सक संघले पहिलो पटक गरेको राष्ट्रिय स्वास्थ्य शिखर सम्मेलनले ११ बुँदे घोषणपत्र जारी गर्दै समापन भएको छ । कोभिड–१९ को तयारी र प्रतिकार्यका विषयमा केन्द्रित रहेको सम्मेलनले अझै कोभिड १९को जोखिम कायमै रहेको हुदा सरकार र गैह्र सरकारी क्षेत्र गम्भीर हुनुपर्ने उल्लेख गरेको छ ।
त्यसैगरी स्वास्थ्य सेवा ऐनलाई परिमार्जन गरी स्वास्थ्यकर्मीहरुको सेवा सर्त परिमार्जनलाई प्राथमिकता दिनुपर्ने घोषणापत्रमा उल्लेख छ ।
यस्ता छन् ११ बुँदा

१ नेपालमा कोभिड–१९ को जोखिम कायमै छ । यसको असर स्वास्थ्य र गैरस्वास्थ्य क्षेत्रमा गम्भीर रूपमा परिरहेको छ । यसले ज्येष्ठ नागरिक, बालबालिका, गर्भवती र अग्रमोर्चामा रहेर कार्य गरिरहेकाहरूमा विशेष असर पारेको छ भन्ने नेपाल चिकित्सक संघको निष्कर्ष छ ।

२ कोभिड–१९ को महामारीका कारण ज्यान गुमाउन बाध्य भएका सम्पूर्णमा हामी हार्दिक श्रद्धाञ्जली व्यक्त गर्न चाहन्छौँ । साथै, यस विषम परिस्थितिमा आफू र आफ्नो ज्यान जोखिममा राखेर अहोरात्र महामारीको रोकथाम, नियन्त्रण तथा उपचारमा खटिने सम्पूर्ण स्वास्थ्यकर्मी, सरसफाइकर्मी, सुरक्षाकर्मी, सञ्चारकर्मीलगायत यस कार्यमा महत्त्वपूर्ण योगदान दिनुहुने सम्पूर्णमा हार्दिक कृतज्ञता व्यक्त गर्दर्छौं ।

३ स्वास्थ्य क्षेत्रमा जनशक्ति सबल, सक्षम र चुस्त स्वास्थ्य प्रणालीको मेरुदण्ड भएकाले, यसको व्यवस्थापन र वृत्तिविकासका लागि स्वास्थ्य सेवा ऐनलाई परिमार्जन गर्दै चिकित्सक ऐनको पनि विकास गर्नुपर्दछ ।

४ महामारीलगायत अन्य जनस्वास्थ्य विपत्को स्थितिको पूर्वतयारी र प्रतिकार्यका लागि सबल र सक्षम जनशक्तिको आवश्यक हुन्छ । स्वास्थ्य क्षेत्रमा जनशक्तिको यथोचित प्रक्षेपण, वृत्तिविकास, सुविधा र सुरक्षाको व्यवस्था हुनु पनि उत्तिकै जरुरी छ ।

५ कोभिड–१९ महामारी र भविष्यमा आउन सक्ने यस्तै प्रकारका अन्य महामारीलाई रोकथाम तथा नियन्त्रण गर्नका लागि बहुपक्ष्ीाय सहकार्य अपरिहार्य छ । तसर्थ हामीले वर्तमान अवस्थालाई पार लगाउन र भविष्यमा आइपर्ने महामारीमा स्वतः परिचालन हुनेगरी स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयकै नेतृत्वमा बहुपक्षीय संयन्त्रको निर्माण हुनुपर्छ । महामारी प्रक्षेपण तथा निगरानीको निकाय बनाउन जरुरी छ । स्वास्थ्य प्रणाली तथा समग्र स्वास्थ्य क्षेत्रलाई नै मजबुत बनाउन आजकै दिनबाट नेपाल चिकित्सक संघले अझ बढी संवेदनशील र जागरुक भई अन्य सहयोगी संस्था, व्यक्ति र सरकारलाई साथमा लिएर नेतृत्वदायी भूमिका निर्वाह गर्ने छ ।

६ कोभिड–१९ जस्तो विश्वमहामारीको समयमा आफ्नो क्षमता विकास नभएका कारणले गर्दा नै सामान्यभन्दा सामान्य चिकित्सकीय वस्तु तथा सामग्रीको प्राप्तिका लागि नेपालले कति सङ्घर्ष गर्नुपरेको छ भन्ने हामी सबैलाई थाहा भएकै विषय हो । तसर्थ, भविष्यमा आइपर्ने अन्य महामारीको तयारी गर्दा हामीलाई आवश्यक पर्ने सामग्रीमा आत्मनिर्भर हुने अवस्था सिर्जना हुनुपर्छ भन्ने नेपाल चिकित्सक संघको ठहर छ । त्यसैले स्वास्थ्यसँग सम्बन्धित सामग्रीहरूको स्वदेशमै उत्पादन गर्नका लागि सङ्घको तर्फबाट आवश्यक प्राविधिक तथा नीतिगत सहयोग गर्नुपर्छ भन्ने हाम्रो बुझाइ छ ।

७ महामारीको समयमा सम्पूर्ण नागरिकलाई न्यायोचित रूपमा निःशुल्क खोप उपलब्ध गराउनु सरकारको जिम्मेवारी हो । यसका साथै अन्य देशले सहयोग गरेको र खरिद गरिएको खोपको उचित भण्डारण र समतामूलक पहुँचको सुनिश्चितता गरिनुपर्छ । साथै सरकारले नेपालमा नै खोप उत्पादन गर्न सक्ने विषयमा सम्भाव्यता अध्ययनलगायत थप पहल गर्नुपर्ने देखिन्छ ।

८ भविष्यमा खोप वा अन्य औषधिको आपत्कालीन प्रयोगका लागि आवश्यक पर्ने कानुनको निर्माण आजकै दिनबाट सुरु गर्नुपर्छ भन्ने पनि हाम्रो ठहर छ । ताकि भोलिका दिनमा कुनै पनि कानुन महामारीविरुद्ध लड्नका लागि बाधक नहोऊन् बरु सहयोगी बनून् । तसर्थ यस अवस्थामा सुधार गर्नुपर्ने धेरै कार्यमा हामी सहयोगी भूमिका निर्वाह गर्ने छौं ।

९ संघीय संरचनामा स्वास्थ्य प्रणालीलाई सुदृढ गर्दै जनताको स्वास्थ्य आवश्यकतालाई सम्बोधन गर्न तीनै तहका सरकारबिच पर्याप्त समन्वय र सहकार्यलाई अझै बलियो बनाउँदै अघि लानु पर्ने हाम्रो ठहर छ । यसका लागि कुशल नेतृत्वको विकासलगायत हरेक तहका सरकारको भूमिकाको स्पष्टता र यसका लागि चाहिने स्रोत र साधनको सुनिश्चितता गरिनु पर्दछ ।

१० नेपालको स्वास्थ्य प्रणालीलाई सुदृढ र सबल बनाउनका लागि अन्वेषण र आविष्कारलाई हामी सबै मिलेर प्रवर्धन गर्नुपर्दछ ।

११ महामारीमा सुचना प्रणालीलाई अझ वैज्ञानिक र प्रभावकारी बनाउँदै तथ्य र प्रमाणमा आधारित नीतिको विकास गरिनुपर्दछ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ