२०८२ वैशाख २६, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारमहानिर्देशक ढकालले कानुन विपरित बढाएको औषधीको मुल्य छानविन गर्ने जिम्मेवारी स्वास्थ्य सचिवलाई

महानिर्देशक ढकालले कानुन विपरित बढाएको औषधीको मुल्य छानविन गर्ने जिम्मेवारी स्वास्थ्य सचिवलाई


काठमाडौं—औषधी व्यवस्था विभागका महानिर्देशक नारायण ढकालले कानुन विपरित बढाएको विदेशी औषधीको मुल्यबारे छानविन गर्ने जिम्मेवारी स्वास्थ्य सचिवलाई दिइएको छ । बिहीबार पत्रकारसँग भेटघाटमा स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले कानुन विपरित बढाइएको विदेशी औषधीको मुल्य छानविन गर्ने जिम्मेवारी स्वास्थ्य सचिव डा. रोशन पोखरेललाई जिम्मेवारी दिइएको जानकारी दिए ।

‘विदेशी औषधीको कानुन विपरित मुल्य वृद्धि गरिएको सम्बन्धमा छानविन गर्ने जिम्मेवारी स्वास्थ्य सचिवलाई दिइएको छ,’ उनले भने ।

साथै, मन्त्री खतिवडाले औषधीको मुल्य सम्बन्धमा देखिएको समस्या दीर्घकालीन रुपमा कसरी समाधान गर्ने भन्ने विषय पनि टुंगो लगाइने बताए ।

विभागका महानिर्देशक ढकालले यसअघि कानुन विपरित गुपचुप रुपमा विदेशी औषधी मुल्यवृद्धि गर्ने गरेको समाचार हेल्थआवाजमा प्रकाशित भएको थियो । हेल्थआवाजलाई प्राप्त ६ महिनाका गोप्य कागजातहरुमा उल्लेख भएअनुसार विभागका महानिर्देशक नारायण ढकालले ७ कम्पनीका ५२ वटा ब्राण्डका औषधीको ‘खुसुखुसु’ मुल्य वृद्धि गरेको पाइएको थियो ।

मुल्यवृद्धि गरिएका औषधीहरु सबै विदेशी कम्पनीहरुका हुन् र ती औषधीमध्ये अधिकांश कडा रोगका बिरामीमा नियमित प्रयोग गर्ने छन् । औषधी व्यवस्था विभागले ६ महिनामा विदेशी १९० वटा ब्राण्डका औषधी नवीकरण गरेकोमा हेल्थआवाजलाई प्राप्त ८८ वटा ब्राण्डका ५२ औषधीमा कम्तिमा ०.५९ प्रतिशतदेखि २०.४७ प्रतिशतसम्म मुल्यवृद्धि गरिएको छ । यो तथ्यांक २०७७ बैशाखदेखि असोजसम्मको हो ।

त्यसो त महालेखा परीक्षक कार्यलयको आर्थिक वर्ष २०७६÷०७७ को प्रारम्भिक प्रतिवेदन (प्रकाशित भइनसकेको) भने औषधीको ३४ प्रतिशतसम्म मुल्यवृद्धि गरेको भन्दैं त्यसमा संलग्न अधिकारीहरुलाई छानविन गरी कारवाही गर्न २०७८ असार ३० मा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई प्रारम्भिक प्रतिवेदनसहित पत्र पठाएको छ ।

महालेखा परीक्षकको कार्यलयले औषधी व्यवस्था विभागका अधिकारीहरुलाई औषधीको मुल्य निर्धारण तथा वृद्धि गर्ने अधिकार नभएको भन्दैं ३२ प्रतिशतसम्म मुल्यवृद्धि गर्ने तत्कालीन महानिर्देशक र दुई निमित्त महानिर्देशक (वरिष्ठ औषधी व्यवस्थापक)लाई छानविन गरी आवश्यक कारवाही गर्न तालुकदार मन्त्रालयलाई निर्देशन दिएको थियो । तर, उनलाई कारवाही गर्नुका साटो झन पुरस्कृत गर्दै शेरबहादुर देउवा नेतृत्वको सरकारले पुनः विभागको महानिर्देशक बनाएको थियो । यस विषयमा हेल्थआवाजले निरन्तर खोज गर्दै आएको छ ।

यो पनि पढ्नुस

महानिर्देशक ढकालले कानुन विपरित गुपचुप ५० बढी औषधीको मुल्य बढाएको खुलासा

ढकालले कानुन विपरित बढाएको भारतीय औषधीको मुल्य भारत सरकारले तोकेको भन्दा बढी

महानिर्देशक ढकालले कानुन विपरित औषधीको मुल्यवृद्धि गर्दा बिरामीलाई करोडौं आर्थिक भार


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ