२०८१ असार ११, मंगलबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १डाक्टर जन्माउने टोलको कथाः जुन टोलका २४ जना डाक्टर छन्

डाक्टर जन्माउने टोलको कथाः जुन टोलका २४ जना डाक्टर छन्

जसले ६ बिघा जग्गा बेचेर तीन छोरालाई डाक्टर बनाए


विराटनगर –नेपालजस्ता अल्पविकसित मुलुकको एक ग्रामीण टोलमा कति जना डाक्टर होलान् ? सामान्यतयाः २ देखि ३ जनासम्म । त्यो पनि विरलै । तर, हामीले कल्पना गरेकोभन्दा फरक छ मोरङको एक टोलको कथा । जहाँ एउटै टोलमा दुई दर्जन किसानका छोराछोरी डाक्टर छन् । अहिले उनीहरू विभिन्न अस्पतलाहरूमा कार्यरत रहेर बिरामीलाई सेवा प्रदान गर्दै आएका छन् ।

प्रदेश १ को राजधानी रहेको सहर विराटनगरसँग सिमाना जोडिएको बुढीगंगा गाउँपालिका—१ यादव टोलमा २४ जना डाक्टर छन् । २४ मध्ये २२ जना डाक्टर यादव समुदायका रहेका छन् । उनीहरू अहिले आफ्नो गृह नगरलगायत देशका विभिन्न अस्पतालबाट स्वास्थ्य सेवा प्रदान गर्दै आइरहेका छन् । यादव टोलबाट डाक्टर भएकाहरू खेतीपाती गर्दै आएका किसानका छोराछोरी हुन् ।

यादव टोलका स्थानीय समाजसेवी बाबुप्रसाद यादवका तीन वटा छोराहरु डा. राजेश यादव, डा. रमेश यादव र डा. अनिल यादव  डाक्टर हुन् । यस्तै, बाबुप्रसादका भाइ डा. सितल यादव विराटनगरका कहलिएका फिजिसियन हुन् । डा. सितलका जेठा डा. सुशील, कान्छा छोरा डा. सुनिल दुवैजना डाक्टर हुन् । डा. सितलका दुवै बुहारी डा. भानुप्रिया यादव र डा. नितु यादव पनि चिकित्सक हुन् ।

यादव टोलबाट डा. मुकेश यादव, डा. प्रभाकर यादव, डा. सुमन यादव, डा. विनिता यादव, डा. सुदर्शन यादव, डा. भवेश यादव, डा. सरोज यादव, डा. कुन्दन यादव, डा. रोहित यादव डाक्टर भएका छन् । यस्तै, डा. आरती ठाकुर शर्मा, डा. सुवोध यादव, डा. राजा यादव, डा. अविशेष यादव, डा. नन्दलाल यादव रहेका छन् । उनीहरुले एमबीबीएसको अध्ययन पूरा गरेका छन् । अहिले उनीहरू विभिन्न अस्पतालहरुमा आवद्ध रहेर काम गर्दै आएका छन् ।

बाबुप्रसादका तीन छोरा डाक्टर

बुढीगंगा—१ यादव टोलका समाजसेवी बावुप्रसाद यादवले तीन जना छोरालाई डाक्टर बनाएका छन् । तीन छोरा र दुई छोरी रहेको उनका तीन छोरामध्ये दुई छोरा बंगलादेश र एकजना छोराले पोखराबाट एमडी गरेका छन् । बावुप्रसादका जेठा छोरा डा. राजेश यादव हुन् । ४२ वर्षीय फर्माक्लोजिष्ट (औषधी विज्ञान) डा. राजेशले एमबीबीएस बंगलादेश र एमडी पोखरास्थित मनिपालबाट गरेका हुन् । आफू जन्मे हुर्केको ठाउँमा स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले उनी विराटनगरस्थित नोबेल मेडिकल कलेजमा विगत सात वर्षदेखि कार्यरत रहेका छन् । उनले नोबलमा एमबीबीएसका विद्यार्थीहरुलाई औषधी सम्बन्धी पढाउने गरेका छन् ।

बावुप्रसादका माइला छोरा ३८ वर्षीय डा. रमेश यादव बालरोग विशेषज्ञ चिकित्सक हुन् । उनी गृहनगर बुढीगंगा गाउँपालिकामा रहेको विराट टिचिङ हस्पिटलमा कार्यरत छन् । यादवका कान्छा छोरा ३७ वर्षीय डा. अनिल यादव बंगलादेशमा रेडियोलोजीमा एमडी गरिरहेका छन् । ‘कान्छा छोराले एमडी सकिसकेको छ, अबको दुई महिना भित्रमा स्वदेश फर्किदैछन्,’ बावु बावुप्रसादले हेल्थआवाजसँग भने, ‘कान्छा छोराले पनि स्वदेशमै सेवा गर्छु भन्दैछ ।’

उनले तीन जना छोरालाई डाक्टर बनाउन ६ विगाहा खेतीयोग्य जमिन बिक्री गरेको जानकारी दिए । ‘मैले मेरा तीन छोराहरुलाई इखले डाक्टर बनाए,’ उनले भने । उनका कान्छा भाइ डा. सिलत यादव फिजिसियन हुन् । भाइलाई पनि उनले धैरै दुःख गरेर डाक्टर बनाएका हुन् । ‘इखले मैले तीन छोरालाई डाक्टर बनाएर देखाउँछु भनेर संकल्प गरेको थिए । अहिले आएर मेरो इच्छा पूरा भएको छ,’ उनले सुनाए ।

बावुप्रसादले तीन छोरालाई डाक्टर बनाउन नसके ‘जुँगा काटेर हातमा राखिदिने’ पनि गाउँघरमा सुनाउने गरेका थिए । यादव सामुदायमा जुँगासँग प्रतिष्ठा जोडिएको हुन्छ । ‘धेरैले मलाई छोराहरूलाई डाक्टर पढाउन सक्दैन् भन्ने गर्थे,’ उनले सुनाए, ‘त्यसैबेला मैले भन्ने गरेको थिए । छोराहरूलाई डाक्टर बनाउन सकिन भने जुँगा काटेर हातमा राखिन्छु ।’

अहिले बावुप्रसादको तीन छोरा मात्र होइन्, माइला छोरा डा. रमेशको श्रीमती रन्जना यादव पनि स्वास्थ्य क्षेत्रमा रहेकी छिन् । अहिले रन्जनाले नर्सहरूलाई पढाउँदै आएकी छिन् । ‘पहिला डाक्टर बनाउन गाह्रो थियो । तर, अहिले सहज भएको छ । मैले ६ बिगाहा जग्गा बेचेर तीन छोरालाई डाक्टर बनाए । अहिले टंकिसनवारीमा प्रति कठ्ठा जग्गा ४० लाखमा बिक्री भइरहेको हुनाले एक कठ्ठा बेच्दा डाक्टर पढाउन पुग्छ,’ उनले भने ।

डा. सितलको परिवार नै डाक्टर

डा. सितल यादव विराटनगरका चर्चित फिजिसियन हुन् । डा. सितलको परिवार नै डाक्टरी पेशामा आवद्ध छन् । उनको दुई छोरा र दुवै बुहारी डाक्टर हुन् ।

जेठा डा. सुशील यादव, कान्छा छोरा डा. सुनिल यादव दुवैजना डाक्टर हुन् । उनीहरू दुवै जना आफैले संचालन गरेको सिटी अस्पतालमा कार्यरत छन् । उनका दुवै बुहारी डा. भानुप्रिया यादव र डा. नितु यादव पनि चिकित्सक हुन् । डा. नितु सुनसरीको धरानस्थित विपी कोइराला विज्ञान प्रतिष्ठानमा कार्यरत छिन् । कान्छा छोरा डा. सुनिल र डा. भानुप्रिया कोशी अस्पतालमा पनि कार्यरत छिन् ।

फिजिसियन डा. सितलले कोशी अस्पतालमा ९ महिना मेसु संचालन गरेर राजिनामा दिएका थिए । ‘त्यसबेला कामको निक्कै चाप हुन्थ्यो । मेडिकल वार्डको पनि इन्चार्ज थिए । अस्पतालको मेसु भएर समयको व्यवस्थापन गर्न साह्रै गाह्रो थियो । आफ्नो काममा पनि समस्या आउन थालेपछि ९ महिना मेसु चलाएपछि छोडे,’ उनले भने । कोशीमा मेसु छोडेपछि ०६३ सालमा विराटनगरमा पोलोक्लिनिक संचालन गरेका थिए । जुन अहिले सिटी हस्पिटल भएको छ ।

वि.सं. २०६४ सालमा सिटी अस्पतालले १५ शैय्या अनुमति लिएको छ । ‘१५ शैय्याको सिटीलाई स्तरोन्नती गर्दै ५० शैय्याको लागि अनुमतिको लागि माग गरेको छु,’ उनले भने, ‘अहिले प्रक्रियामा रहेको छ ।’ उनले संचालनमा ल्याएको अस्पतालमा छोरा र बुहारीले साथ दिदै आएका छन् ।


क्याटेगोरी : प्रदेश १, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ