२०८१ वैशाख ११, मंगलबार
Health Aawaj logo
गृहपृष्ठमेरो स्टार्टअप१० करोड लगानीमा डा. खड्गीको इन्डोयुरोलोजी इन्स्टिच्युट, दैनिक ४ जनाको सरकारी शुल्कमै शल्यक्रिया

१० करोड लगानीमा डा. खड्गीको इन्डोयुरोलोजी इन्स्टिच्युट, दैनिक ४ जनाको सरकारी शुल्कमै शल्यक्रिया

जहाँ चिकित्सक, नर्स र कर्मचारी गरी ६२ जनाले काम गरिरहेका छन्


काठमाडौं–युरोलोजीको क्षेत्रमा अन्तर्राष्ट्रिय ख्याती पाएका चिकित्सक डा. सञ्जय खड्गीले आफ्नै लगानीमा इन्डोयुरोलोजी इन्स्टिच्युट खोलेका छन् ।

सन् २००५ मा नेपालमा पहिलोपटक मिनी पिसिएनएल (सानो प्वाल बनाएर शल्यक्रिया गरिने) प्रविधि भित्र्याएका डा. खड्गीले १७ वर्षपछि आफ्नै लगानीको शल्यक्रिया कक्षबाट सेवा दिन थालेका हुन् ।

‘सन् २००५ मा नर्भिक अस्पतालबाट सुरु गरेको यो सेवा बयोधा, भेनस हुँदै अब आफ्नै इन्स्टिच्युटबाट सुरु गरेको छु,’ डा. खड्गीले भने, ‘यस बीचमा १६ हजार बढीको यही प्रविधिबाट मिर्गौलाको पत्थरीको शल्यक्रिया गरिसके ।’

मिनी पिसिएनएल प्रविधीबाट शल्यक्रिया गर्न डा. खड्गीलाई नेपालमा मात्र नभएर अन्तर्राष्ट्रियस्तरमा पनि बोलाउने गर्छन् । उनले २० भन्दा बढी देशमा तीन दर्जनभन्दा बढी पटक त लाइभ सर्जरी नै गरेका छन् ।

यति व्यस्त चिकित्सकले किन आफ्नै अस्पताल बनाउन आवश्यकता प¥यो त ? ‘धेरै वर्ष अरुको अस्पतालमा काम गरे । तर, आफूले सोचेको जस्तो सेवा दिन पाइन भन्ने लाग्यो,’ हेल्थआवाजको प्रश्नमा उनले भने ।

अधिकांश आफै व्यवसायमा लागेका मानिसको गोलमोटल जवाफ भएन र यो ? भन्ने अर्को प्रश्नमा उनले थपे, ‘मैले यो इन्स्टिच्युट हुने मानिसबाट पैसा लिएर नहुने मानिसको कम पैसामा उपचार गर्ने थलोको रुपमा विकास गर्न खोजेको हो । यसको सुरुवात नै दिनको चारजना असहाय, गरिब बिरामीको मिर्गौलाको पत्थरीको शल्यक्रिया सरकारी अस्पतालकैं शुल्कमा गरिनेछ ।’

बिरामी असहाय हो होइन् भनेर छुट्याउन उनले बिरामीसँग एउटा सर्त राखेका छन्, त्यो हो वडा कार्यलयको सिफारिस पत्र । ‘जसले तोकिएको सेवा पाउने हो, त्यसले नै पाउन सकोस् भनेर यो प्रावधान राखेको हो,’ उनले भने, ‘वडाको सिफारिस ल्याउनै समय लाग्ने अप्ठ्यारो हुनेहरुका लागि केही अन्य व्यवस्था पनि गर्न सकिन्छ कि भनेर सोच्दैछौं ।’

उनका अनुसार पैसा हुने एउटा बिरामीले खड्गी इन्स्टिच्युट अफ इन्डोयुरोलोजीमा आएर मिर्गौलाको पत्थरीको शल्यक्रिया गराउँदा ८५ हजार रुपैयाँ लाग्छ । तर, गरिब र असहाय बिरामीको भने २० हजार रुपैयाँ हाराहारीमा शल्यक्रिया हुन्छ । त्यसमा शल्यक्रिया गर्दा लाग्ने औषधी भने बिरामीले आफै जोह गर्नुपर्छ ।

तर, २० हजार रुपैयाँ पनि तिर्नै नसक्ने खालका बिरामी भएमा त्यस्ता बिरामीले पनि उपचारबाट बञ्चित हुनु नपर्ने उनको दावी छ । ‘हामीले तोकेका व्यक्तिले न्यूनतम शुल्क पनि तिर्न नसक्ने अवस्था रहेछ भने त्यो पनि हेर्छौ,’ उनले भने, ‘यहाँ आइसकेपछि पैसा नभएकै कारण उपचार पाइन भनेर फर्कनु पर्दैन् । यदि पैसा नभएकालाई उपचार गर्न नसकिने भयो भनेरै अन्त काम छोडेर आफैले सुरु गरेको हुँ ।’

डा. खड्गीको इन्स्टिच्युटमा २ वटा अन्तर्राष्ट्रियस्तरका शल्यक्रिया कक्ष छन् । एउटा उनको बुबाको नाममा र एउटा आमाको नाममा । आमाको नाममा स्थापना भएको लक्ष्मी शल्यक्रिया कक्षमा देव्रे मिर्गौलाको शल्यक्रिया हुन्छ भने बुबाको नाममा स्थापना भएको रुद्र शल्यक्रिया कक्षमा दाहिने मिर्गौलाको । दुई शल्यक्रिया कक्षमा फरक—फरक मिर्गौलाको शल्यक्रिया गर्नुको कारण शल्यक्रिया गर्ने बेलामा कन्फ्युज नहोस् भनेर हो । ‘बिरामीको कुन मिर्गौलाको शल्यक्रिया गर्ने भन्ने पहिले ओटी छिर्दा नै थाहा भइसक्छ,’ उनले भने, ‘यसले मिस्टेक हुने चान्स शुन्यप्रायः हुन्छ ।’

ओटीसँगै पोष्टअप, जनरल वार्ड र डिलक्स वार्ड रहेका छन् । आयुस लाइफस्टाइल हस्पिटलसँगको सहकार्यमा २५ बेड अस्पताल सञ्चालनमा छ । कुपण्डोल नविल बैकको पारीपट्टी झण्डै १० करोडको लगानीमा बनेको सो इन्स्टिच्युटमा अहिले चिकित्सक, नर्स र कर्मचारी गरी ६२ जनाले काम गरिरहेका छन् ।

इन्स्टिच्युटमा काम गर्ने स्टाफ मात्र होइन्, विभिन्न देशबाट प्रविधि सिक्नका लागि चिकित्सकहरु पनि आउँछन् । सिक्न आउने चिकित्सकले निश्चित पैसा तिर्नुपर्छ । सो पैसाले डा. खड्गी गरिब, असहायको उपचार र बेला—बेला देशका दूरदराजमा गएर मिर्गौला सम्बन्धी शिविर पनि चलाउँछन् ।


क्याटेगोरी : मेरो स्टार्टअप, समाचार
ट्याग : #आयुस लाइफस्टाइल हस्पिटल, #इन्डोयुरोलोजी इन्स्टिच्युट, #डा. सञ्जय खड्गी


तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ