काठमाडौँ – थापाथलीस्थित प्रसुति गृहले ३ वटा स्याटलाइट क्लिनिक संचालन गरी स्त्रीरोग विशेषज्ञ सेवा दिइरहेको छ। तारकेश्वर नगरपालिका, चन्द्रागिरी नगरपालिका र धादिङ्ग अस्पतालबाट नियमित प्रसुति तथा स्त्रीरोग विशेषज्ञ सेवा दिइरहेको अस्पतालका निर्देशक प्रा. डा. अमिर बाबु श्रेष्ठले बताए।
उनका अनुसार स्याटलाइट क्लिनिक संचालनमा आएपछि नागरिकहरुले ठुलो राहत पाएका छन्। महिनाको दुईपटक अस्पतालका रेडियोलोजिष्ट र स्त्री रोग विशेषज्ञ सो क्लिनिक पुगेर सेवा दिने गरेको उनले जानकारी दिए ।
चन्द्रागिरी नगरपालिका र तारकेश्वर नगरपालिकामा स्त्री रोग सम्बन्धि भिडियो एक्स-रे र ओपिडी सेवा दिने अस्पतालले व्यवस्था गरेको छ। त्यस्तै, धादिङ्ग अस्पतालबाट भने स्त्री रोगसम्बन्धि सबै खालका मेजर शल्यक्रिया गरिने अस्पतालका निर्देशक प्रा.डा. श्रेष्ठले बताए।
‘अस्पतालबाट नजिक पर्ने भएकोले चन्द्रागिरी नगरपालिका र तारकेश्वर नगरपालिकामा स्त्री रोग सम्बन्धि भिडियो एक्स-रे र ओपिडी सेवा दिने व्यवस्था गरेका छौँ,’उनले भने,’तर, अस्पतालबाट धादिङ्ग निकै टाढा छ। त्यसकारण स्त्री रोगसम्बन्धि सम्पूर्ण मेजर शल्यक्रियाको सुविधा त्यहिँबाट पनि दिइरहेका छौँ ।’
स्याटलाइट क्लिनिक सेवा कोभिड-१९ महामारीमा सुरु भएता पनि महामारी धेरै बढेपछि केहि अवधिका लागि सेवाबीचमै रोकिएको उनले बताए। हालै भने पुन: सेवा सुचारु गरिएको उनको भनाइ छ।