२०८१ जेठ ४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १नोबेल मेडिकल कलेजलाई अतिरिक्त शुल्क नबुझाउने विद्यार्थी गेटमा रोकिए, विद्यार्थी सडकमा

नोबेल मेडिकल कलेजलाई अतिरिक्त शुल्क नबुझाउने विद्यार्थी गेटमा रोकिए, विद्यार्थी सडकमा


विराटनगर—चिकित्सा शिक्षा आयोगले निर्धारण गरेभन्दा चार लाखभन्दा बढी रकम विद्यार्थीबाट असुली गर्न खोज्ने विराटनगरस्थित नोबेल मेडिकल कलेज विरुद्ध विद्यार्थीहरूले आन्दोलनलाई निरन्तरता दिएका छन् ।

चिकित्सा शिक्षा आयोगले तोकेको भन्दा बाहिर गएर मनलाग्दी शुल्क असुल्ने मेडिकल कलेज विरुद्ध विद्यार्थीहरूले सोमबार पनि आन्दोलनमा उत्रिएका हुन् ।

एमबीबीएस पहिलो वर्षको कक्षा सुरु भएको दोस्रो साता सुरु हुँदा पनि नोबेल मेडिकल कलेजका ८० भन्दा बढी विद्यार्थी कक्षा प्रवेश गर्न पाएका छैनन् । आयोगले निर्धारण गरेभन्दा चार लाखभन्दा बढी रकम विद्यार्थीबाट असुल्ने ध्येयमा रहेको नोबेलले आइतबार पनि ११ जना विद्यार्थीलाई मात्रै कक्षामा सहभागी गराएको छ ।

‘आज पनि सधैं कक्षा हुने ठाउँभन्दा अलग्गै लगेर ११ जनालाई पढाइएको छ,’ अतिरिक्त शुल्क बुझाउन अस्वीकार गरेका विद्यार्थीहरुले भने, ‘बुधबारदेखि कक्षा सुरु भएको हो । यो विवाद साम्य नभएसम्म कक्षा नचलाउन गरेको आग्रह कलेजले मानेन । हाम्रो पढाइ छुटिरहेको छ ।’

बुधबार गेटमै सुरक्षा गार्ड र अन्य व्यक्ति खटाएर विद्यार्थी रोकेको नोबेल प्रशासनले बिहीबार पनि रोकेको थियो । कलेजले रोकेपछि शुक्रबार विद्यार्थी गएनन् । आइतबार फेरि पढ्न गएका विद्यार्थीलाई प्रवेश नै नदिइएपछि विद्यार्थीहरुले कलेज परिसरमै प्रदर्शन गरेका थिए । ‘अरु ११ जना भित्र पढिरहँदा हामी ८० जना हाराहारी विद्यार्थीले आज प्रदर्शन गर्यौं,’ ती विद्यार्थीले भने, ‘कलेजले हामीलाई अन्याय गरिरहेको छ ।’

नोबेल डा. सुनिल शर्माको स्वामित्वमा रहेको मेडिकल कलेज हो । नेपाली कांग्रेसका नेतासमेत रहेका नोबेलका सञ्चालक डा शर्माले आफूहरुबाट अनावश्यक शुल्क असुल्न खोजेको विद्यार्थी र अभिभावकको भनाइ छ । यसअघि प्रशासनकै रोहबरमा भएको छलफलमा कलेज व्यवस्थापनले शुल्क नलिने भनेपछि विद्यार्थी र अभिभावक ढुक्क बनेका थिए । तर, बुधबारदेखि सुरु भएको कक्षा प्रवेश गर्नु अघि शुल्क अनिवार्य बुझाउन कलेजले विद्यार्थीलाई ताकेता गरिरहेको छ ।

विद्यार्थीका अनुसार यसपटक नोवेलमा एमबीबीएस पहिलो वर्षमा १ सय विद्यार्थी भर्ना भएका छन् । तीमध्ये १० जना छात्रवृत्ति अन्तर्गतका, नौ जना भारतीय छन् । केही विद्यार्थीले अतिरिक्त शुल्क बुझाएका छन् ।

विद्यार्थी र अभिभावकहरु भने चिकित्सा शिक्षा आयोगले तोकेकोबाहेकका कुनै पनि शुल्क नबुझाउने अडानमा छन् । नोबेलले एमबीबीएस भर्ना हुने विद्यार्थीबाट इन्टर्नसीप वापत २ लाख ४० हजार, विश्वविद्यालय सम्बन्धन शुल्क वापत ९८ हजार र होस्टल शुल्क १ लाख ४४ हजार लगायतका अन्य धेरै शुल्क बुझाउन विद्यार्थीलाई दवाव दिँदै आएको विद्यार्थीले बताएका छन् । चिकित्सा शिक्षा आयोगले तोकेभन्दा नोबेलले हरेक विद्यार्थीसँग ४ लाख ८२ हजार रुपैयाँ अतिरिक्त शुल्क असुल्न खोजिरहेको छ ।

चिकित्सा शिक्षा आयोगले एमबीबीएसका लागि तोकेको जम्मा शुल्क ४४ लाख ३६ हजार २५ रुपैयाँ हो । पाँच वर्षे कोर्सको प्रथम वर्षवापतको १४ लाख ८५ हजार रुपैयाँ विद्यार्थीले काठमाडौं विश्वविद्यालयलाई बुझाइसकेका छन् । नोबेलले विश्वविद्यालयबाट लिइसकेको छ ।

नोबेल मेडिकल कलेजमा भइरहेको विद्यार्थी सताउने कदमका बारे गृहमन्त्रालायले चासो लिएको छ । नोबेल मेडिकल कलेजसहितले चिकित्सा शिक्षा आयोगले तोकेको भन्दै धेरै शुल्क लिएको विषयमा गृह मन्त्रालयले ठगी मुद्दामा कार्वाही चलाउन प्रशासनलाई निर्देशन दिएको छ । गृहको निर्देशनपछि अतिरिक्त शुल्क लिएको प्रमाणसहित आए ठगी मुद्दाअन्तर्गत कारबाही गर्ने तयारी प्रशासनले गरेको हो ।

मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले अतिरिक्त शुल्क लिएको प्रमाणसहित सम्बन्धित व्यक्ति उपस्थित भए ठगी मुद्धाअन्तर्गत कारबाही गरिने बताए । गृह मन्त्रालयले अतिरिक्त शुल्क सन्दर्भमा पत्राचार गरेको जानकारी दिँदै उनले कानुनविपरीत शुल्क लिन नपाइने स्पष्ट पारे । गृहको निर्देशनपछि प्रशासनले मेडिकल कलेजलाई अतिरिक्त शुल्क नलिन निर्देशनसहितको पत्राचार गर्ने तयारी गरेको छ । नोबेलले अतिरिक्त शुल्क नबुझाएको भन्दै विद्यार्थीलाई कक्षा प्रवेशमा रोक लगाएको छ ।


क्याटेगोरी : प्रदेश १, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ