२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशकर्णालीका ७१ प्रतिशत नागरिक स्वास्थ्य बीमाको पहुँच बाहिर

कर्णालीका ७१ प्रतिशत नागरिक स्वास्थ्य बीमाको पहुँच बाहिर


जुम्ला—कर्णाली प्रदेशमा स्वास्थ्य बीमा कार्यक्रम लागु भएको ८ वर्षको अवधिमा २९ दशमलव २६ प्रतिशत जनसंख्या मात्रै बीमाको पहुँचमा छन् । कर्णालीमा ७१ प्रतिशत जनसंख्या अझैपनि स्वास्थ्य बीमाको पहुँच बाहिर रहेको पाइएको छ ।

राष्ट्रिय जनगणना २०७८ अनुसार कर्णालीको जनसंख्या १६ लाख ८८ हजार ४ सय १२ रहेको छ । जसमध्ये २९ दशमलव २६ प्रतिशत अर्थात् ४ लाख ५८ हजार ८ सय २१ जना मात्रै बीमामा आबद्ध भएको राष्ट्रिय बिमा बोर्डकी कर्णाली प्रदेश संयोजक सिर्जना पौडेलले बताइन् । आशा गरेजति संख्यामा नागरिकहरु स्वास्थ्य बीमाको पहुँचमा आउन नसकेको उनले बताइन् ।

८ वर्षको अवधिमा २९ प्रतिशत मात्रै बीमामा आबद्ध भएको र ७१ प्रतिशतलाई बीमामा आबद्ध गराउनुपर्ने चुनौती रहेको छ । कर्णाली प्रदेशमा सबैभन्दा बढी जुम्लामा ८३ प्रतिशत बीमामा आबद्ध छन् । १ लाख ८ हजार ९ सय २१ जनसंख्यामा ९० हजार ४ सय ११ जना बीमामा आबद्ध छन् ।

सबैभन्दा कम सल्यानका नागरिक बीमा कार्यक्रममा आवद्ध छन् । २ लाख ४१ हजार ७ सय १६ जनसंख्यामा ६ प्रतिशत अर्थात् १४ हजार ६ सय ५० जना सल्यानमा मात्रै बीमा गरेका छन् ।

प्रदेश राजधानीसमेत रहेको सुर्खेतमा २५ दशमलव ७८ प्रतिशतले बीमा गरेका छन् । ४ लाख १७ हजार ७ सय ७६ जनसंख्या रहेको सुर्खेतमा एक लाख सात हजार ७०६ जनाले मात्र बिमा गरेको प्रदेश संयोजक पौडेलले जानकारी दिए ।

रुकुम पश्चिममा १ लाख ५४ हजार २ सय ७२ जनसंख्यामा ८० हजार ५ सय २७ अर्थात् ५२ दशमलव १९ प्रतिशतले बीमा गरेका छन् । जाजरकोटको २ लाख ७१ हजार ३ सय ४ जनसंख्यामा ४९ हजार ९ सय ४२ अर्थात् २९ दशमलव १५ प्रतिशत, कालीकोटको १ लाख ३६ हजार ९ सय ४८ जनसंख्यामा ५३ हजार ८ सय १९ अर्थात् ३९ दशमलव २९ प्रतिशत स्वास्थ्य बीमामा आवद्ध भएका छन् ।

दैलेखमा २ लाख ६० हजार ८ सय ५५ जनसंख्यामा ३३ हजार २ सय ३६ अर्थात् १२ दशमलव ७४ प्रतिशत, मुगुको ५५ हजार २ सय ८६ जनसंख्यामा ७ हजार ८ सय १५ अर्थात् १४ दशमलव १३ प्रतिशत, डोल्पाको ३६ हजार सात सय जनसंख्यामा ४ हजार ८ सय ५४ अर्थात् १३ दशमलव २२ प्रतिशत र हुम्लामा ५० हजार ८ सय ५८ जनसंख्यामा १५ हजार ८ सय ६१ अर्थात् ३१ दशमलव १८ प्रतिशतले मात्र स्वास्थ्य बीमा गराएको स्वास्थ्य बीमा बोर्डको कर्णाली प्रदेश कार्यालयको तथ्यांकमा उल्लेख छ ।

संयोजक पौडेलले अब सरकारले कर्मचारीलाई पनि बीमामा आबद्ध गर्ने योजना गराएको, पहिलो सेवा पाउन तीन महिना लाग्ने गरेकोमा अबदेखि दुई महिनामा झारेको हुँदा पहुँचको अवस्था बढ्ने विश्वास व्यक्त गरिन् ।

बीमामा रहेको झन्झटिलो प्रक्रियालाई सहज बनाउन आवश्यक रहेको प्रदेश स्वास्थ्य बीमा समितिका संयोजक एवं सामाजिक विकास मन्त्रालयका सचिव दीर्घबहादुर पोखरेल बताए । साथै, बीमा साक्षरता कार्यक्रम आवश्यक रहेको उनले बताए ।

कर्णाली प्रदेश अस्पतालका निर्देशक डा. डम्मर खड्काले बीमामा अझै पनि प्रचार नपुगेको हुँदा यसको व्यापक प्रचार गर्नुपर्ने बताए । उनले अब स्थानीय तहमा पनि यसको सेवा विस्तारको आवश्यकता रहेको बताए ।

भौगोलिक विकटता र सेवा प्रदायक स्वास्थ्य संस्थाको अभावका कारण कर्णालीवासीले चाहेर पनि सेवा उपभोग गर्न सकिरहेका छैनन् । त्यस्तै प्रदेशमा सुविधायुक्त स्वास्थ्य संस्थाहरू नहुनु र भएका संस्थाहरू पनि भौगोलिक विकटताका कारण नागरिकको पहुँचबाहिर हुँदा समस्या भएको छ ।


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ