२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारबागमती प्रदेशअन्तर्गतका २६ अस्पताल व्यवस्थापन समितिका अध्यक्ष हटाइए

बागमती प्रदेशअन्तर्गतका २६ अस्पताल व्यवस्थापन समितिका अध्यक्ष हटाइए

माओवादी केन्द्रनिकट अस्पताल व्यवस्थापन समितिका अध्यक्ष पनि हटाइएपछि गठबन्धनमा हलचल


काठमाडौं–बागमती प्रदेशअन्तर्गतका सबै अस्पताल व्यवस्थापन समितिका अध्यक्षहरु हटाइएका छन् । १८ माघमा बागमती प्रदेश स्वास्थ्य मन्त्रालयले मन्त्रीस्तरीय निर्णय गर्दै प्रदेशअन्तर्गतका अस्पताल व्यवस्थापन समितिका अध्यक्ष हटाएको हो ।

बागमती प्रदेशका स्वास्थ्य सचिव बद्रीबहादुर खड्काले मन्त्रीस्तरीय निर्णयबाट प्रदेशअन्तर्गतका अस्पताल व्यवस्थापन समितिका अध्यक्ष हटाइएको पुष्टि गरे । ‘मन्त्रीस्तरीय निर्णयबाट अस्पताल व्यवस्थापन समितिका अध्यक्ष हटाउने निर्णय भएको छ,’ उनले हेल्थआवाजसँग भने ।

नयाँ अध्यक्षहरु नियुक्त भए–नभएको विषयमा भने उनले केही बताउन चाहेनन् । बागमती प्रदेशअन्तर्गत १३ वटा अस्पताल र १३ वटा आयुर्वेद अस्पताल गरी २६ वटा स्वास्थ्य संस्थामा यसअघिको सरकारले गरेका राजनीतिक नियुक्तिहरु खारेज गरिएका हुन् । यसअघि ती अस्पतालहरुमा नेकपा एमाले र माओवादी केन्द्र निकट व्यक्तिहरु अध्यक्ष रहेका थिए ।

बागमती प्रदेशका स्वास्थ्यमन्त्री निमा लामाले प्रदेश क्याबिनेटबाटै पूर्ववर्ती सरकारले गरेका राजनीतिक नियुक्तिहरु खारेज गर्ने निर्णय भएको बताए । ‘राजनीतिक नियुक्तिहरु हुन्, नयाँ सरकार बनेपछि स्वभाविक रुपमा खारेज हुन्छन्,’ स्वास्थ्यमन्त्री लामाले भने, ‘प्रक्रियामा छ भएपछि थाहा पाइहाल्नु हुन्छ नि ।’

स्थानीय निर्वाचन घोषणा भइसकेको अवस्थामा स्थानीय रुपमा आफ्ना मान्छेहरुलाई नियुक्त गर्नका लागि अस्पताल व्यवस्थापन समितिका अध्यक्षहरु हटाइएको हो । अहिले बागमतीमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एसको संयुक्त गठबन्धन सरकार छ ।

तर, यसअघिको सरकारका पालामा नियुक्त भएका माओवादी केन्द्र निकट अस्पताल व्यवस्थापन समितिका अध्यक्ष पनि हटाइएका छन् । जसका कारण बागमती प्रदेशको गठबन्धन सरकारका त्यसले हलचल ल्याएको छ ।

‘यो गठबन्धन सरकार हो, गठबन्धन संस्कृतिमा सबै गठबन्धन दलहरुलाई मिलाएर लैजानुपर्छ,’ बागमती प्रदेश सरकारका एक माओवादी केन्द्रका मन्त्रीले हेल्थआवाजसँग भने, ‘तर, हाम्रो पार्टी निकट व्यक्तिहरुलाई पनि अस्पताल व्यवस्थापन समितिको अध्यक्षबाट हटाउने निर्णय भएछ । यसले गठबन्धन सरकारमा राम्रो गर्दैन ।’

ती माओवादी केन्द्रका मन्त्रीकाअनुसार स्वास्थ्यमन्त्री लामाले अहिले सबै अस्पताल व्यवस्थापन समितिको अध्यक्षमा कांग्रेस निकट व्यक्तिहरु नियुक्त गर्ने तयारी गरेका छन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ