२०८३ जेठ १०, आईतबार
Health Aawaj logo
गृहपृष्ठसमाचारविपीका हाडजोर्नी विशेषज्ञ डा. कलवारलाई निलम्बनको तयारी, तीन डाक्टरलाई सचेत गराइने

विपीका हाडजोर्नी विशेषज्ञ डा. कलवारलाई निलम्बनको तयारी, तीन डाक्टरलाई सचेत गराइने


काठमाडौं—विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका हाडजोर्नी विशेषज्ञ डा. रोशनप्रसाद शाह कलवारलाई नेपाल मेडिकल काउन्सिलले तीन महिना निलम्बन गर्ने तयारी गरेको छ । काउन्सिल स्रोतकाअनुसार डा. कलवारले बिरामीको शल्यक्रियाको क्रममा अवाञ्छित तथा गैरकानुनी कार्य गरेको र चिकित्सकीय आचरणको न्यूनतम मापदण्ड पालना नगरेको भन्दैं निलम्बनको प्रक्रिया अगाडि बढाएको हो ।

विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा २९ पुसमा एक बिरामीको शल्यक्रिया गरी स्टील (साइन नेल) लगाउने विषयमा विवाद भएको थियो ।

काउन्सिलले उक्त घटनामाथि छानविन गर्न समिति बनाएको थियो । सो छानविन समितिमा काउन्सिलका आचारसंहिता तथा स्वास्थ्य समिति संयोजक डा. हरिहर वस्ती संयोजक, काउन्सिलका सदस्य डा. कालुसिंह खत्री र हाडजोर्नी विशेषज्ञ डा. गणेश गुरुङ सदस्य रहेका थिए ।

सो समितिले दिएको प्रतिवेदनका आधारमा काउन्सिलको पूर्ण बैठकले डा. कलवारलाई तीन महिना लागि व्यवसायिक कार्य गर्नका लागि निलम्बन किन गर्ने भनेर स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । साथै, काउन्सिलले विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई हाडजोर्नी विभागबाट प्रयोग गरिने र विदेशी दातृ संस्थाबाट प्राप्त हुने साइन नेल सम्बन्धि आवश्यक निर्देशिका बनाउन निर्देशन दिने निर्णयसमेत गरेको छ ।

बिरामीको उपचारमा संलग्न अन्य दुई चिकित्सक डा. अमित विक्रम शाह र डा. अमित लिम्बुलाई आइन्दा त्यस्ता गतिविधीमा संलग्न नहुन सचेत गराउने निर्णय गरेको छ । त्यस्तै, आफ्नो विभागमा पटक—पटक यस्ता विवाद हुँदा पनि त्यसलाई निरुपण गर्न नसकेको भन्दै विभागीय प्रमुख डा. विक्रम श्रेष्ठलाई पनि सचेत गराउने निर्णय भएको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ