काठमाडौँ – एचआईभी संक्रमित सामाजिक विभेदका डरले स्वास्थ्य बीमा कार्यक्रमबाट बन्चित भैरहेको सरोकारवालाहरुले जनाएका छन्। रिकभरिङ्ग नेपालले बागमती प्रदेशको चितवनमा आयोजना गरेको कार्यक्रममा सहभागीहरुले संक्रमितहरु विभेदमा पर्ने डरले सम्बन्धित जिल्लाबाट सिफारिस ल्याउन नसक्दा स्वास्थ्य बीमा कार्यक्रमबाट बन्चित हुनु परेको
उल्लेख गरेका हुन्।
चितवन सक्रिय महिला प्रतिष्ठानकी प्रतिनिधि कोपिला भण्डारीले चितवनमा संक्रमितहरु अझै चरम विभेदमा परेको जनाइन । आफ्नो संस्थाबाट संक्रमितहरुलाई आवश्यक सेवा दिँदै आए पनि अझै कतिपय संक्रमित परिवारको डरले खुल्न नसक्दा सेवा कठिन हुने उनको भनाइ छ।
अहिले केही खुल्न थालेपनि अझै ठूलो संख्यामा संक्रमितहरु लुकेरै बस्न बाध्य भएको कार्यक्रममा सहभागी देव श्रेष्ठले बताए । ‘समाजमा समलिङ्गी, तेस्रो लिङ्गीहरु जोखिम बर्गमा छन्, ‘श्रेष्ठले भने, ‘अझ संक्रमितलाई स्वास्थ्य बीमा कार्यक्रममा आवद्ध हुन समस्या छ ।’
कार्यक्रममा सहभागीहरुले एचआइभी कानुन अभावका कारण यस्तो समस्या बढ्दै गएको बताए । समयमा कानुन आएको खण्डमा संक्रमितमाथि हुने विभेदमा कमी आउँने उनीहरुको बुझाइ रहेको छ ।
स्वास्थ्य बीमा कार्यक्रम स्वास्थ्य सेवा उपयोगको क्रममा हुने खर्चको जोखिमलाई अग्रीम व्यवस्थापन गर्दै वित्तीय संरक्षण प्रदान गर्ने अवधारणा अन्तर्गत सरकारले ल्याएको सामाजिक सुरक्षाको एक महत्वपूर्ण कार्यक्रम हो ।