काठमाडौं—स्वास्थ्य बिमा बोर्ड अहिलेकै ढाँचामा चल्न नसक्ने स्वास्थ्य तथा जनसंख्या सचिव डा. रोशन पोखरेलले बताएका छन् । मंगलबार मन्त्रालयले आयोजना गरेको सन् २०३० सम्मको स्वास्थ्य रणनीतिको मस्यौदामाथि छलफल कार्यक्रममा बोल्दै सचिव पोखरेलले अहिले विमा बोर्ड चित्त बुझ्दो तरिकाले काम नगरेको बताए ।
‘बिमा अहिले चित्त बुझ्दो तरिकाले चलेको छैन्,’ उनले भने, ‘मोडालिटी परिर्वतन गर्नुपर्छ । तर, निजी कम्पनीमा लैजाने पक्षमा हामी छैनौं ।’
पछिल्लो समय बिमा उपचार बापतको पैसा नपाएको भन्दै केही अस्पतालले बिमा कार्यक्रम स्थगन गर्ने धम्की दिइरहेकोप्रति लक्षित गर्दै उनले बिमा संचालन गर्न नसक्ने अस्पतालले सेवा बन्द गरेर देखाउन चुनौती दिए । ‘धम्कीको भाषा धेरै भयो । चलाउन सक्नुहुन्न भने बन्द गर्दा हुन्छ,’ उनले भने, ‘धेरै निजी अस्पताल बिमाकै कारण चलेका छन्, बिमामा आउनुअघि ती बन्द हुने अवस्थामा थिए ।’
बिमा कार्यक्रम सुरुवाती भएका कारण त्यसको फाइदा उठाउँदै मिसयुज पनि भइरहेको उनले बताए ।
डा. पोखरेलले सबै खाले स्वास्थ्य सेवालाई एकीकृत रुपमा समेटेर लैजानुपर्ने बताए । केही वर्ष अघिसम्म स्वास्थ्यलाई सरकारको प्राथमिकतामा नपर्ने गरेको बताउँदै कोभिडपछि मात्र अवस्था फेरिएको बताए । ‘हिजो स्वास्थ्य मन्त्रालयको धरातल कहाँ थियो । कोभिडपछि अलिकति परिवर्तन भएको छ, बजेटको सवालमा अझै फेरिन सकेको छैन,’ उनले भने, ‘तर, पनि हामी जुधिरहेका छौं ।’
मन्त्रालयका नीति, योजना महाशाखाका प्रमुख डा. कृष्ण पौडेलले अबको रणनीति तीनवटै तहका समस्यालाई समाधान गर्ने गरी आउने बताए । उनले स्थानीय तह र प्रदेश सरकारले आफ्नो आवश्यकता अनुसारको नीति, नियम र कार्यक्रम बनाउने र त्यसको प्राविधिक पक्षको सहजीकरण केन्द्र सरकारले गर्ने गरी रणनीति तय हुने बताए ।
‘फरक स्थानका फरक—फरक समस्या छन् । आफ्नो आवश्यकताअनुसार नियम, कानुन, नीति बनाएर कार्यन्वयन गर्न स्थानीय र प्रदेश सरकारलाई सहज हुने रणनीति बन्छ,’ उनले भने, ‘केन्द्रीय सरकारले आवश्यक बजेट र प्राविधिक सहयोग गर्छ ।’ अबको रणनीतिमा गाउँमा बस्ने जनतालाई प्रेरित गर्ने खालको हुने समेत उनको दावी छ । गाउँमा बस्नेलाई विशेष सेवासुविधा र अवसर प्रदान गर्ने रणनीति आउने डा. पौडेलले बताए ।