२०८० मंसीर १४, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसमाचारऐन संशोधन गरेर न्याम्सबाट वीर अस्पताल छुट्याउने तयारी

ऐन संशोधन गरेर न्याम्सबाट वीर अस्पताल छुट्याउने तयारी


काठमाडौं—चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)बाट वीर अस्पताल छुट्याउने तयारी अगाडि बढेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले न्याम्सबाट वीर अस्पताललाई अलग गर्नका लागि चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान ऐन संशोधन मस्यौदा तयार गरेर कानुन संशोधन गर्न मन्त्रालयमा छलफल चलिरहेको छ ।

सरकारले केही नेपाल ऐन संशोधनमार्फत न्याम्सको ऐन परिवर्तन गर्न लागेको हो । ‘प्रधानमन्त्री कार्यलयको निर्देशनमा स्वास्थ्य अन्य सरोकारका केही ऐन संशोधन गर्न प्रस्ताव ल्याउन भनेको छ,’ मन्त्रालय उच्च स्रोतले भन्यो, ‘न्याम्सको ऐन पनि संशोधनका लागि मस्यौदा तयार गरेर दुई पटक छलफल गरिसकेका छौं ।’

संशोधित मस्यौदामा प्रतिष्ठानबाट वीर अस्पताललाई अलग गर्ने र प्रतिष्ठानको छुट्टै अस्पताल बनाउने वा निश्चित समयका लागि अध्ययन—अध्यापनका लागि दुई संस्थाबीच सम्झौता गरेर अगाडि बढ्ने विकल्प राखिएको छ ।

वीर अस्पतालको नयाँ संगठन व्यवस्थापन संरचनामा १२ औं तहको प्रमुख विशेषज्ञ प्रमुख हुने व्यवस्था छ । तर, प्रतिष्ठान ऐनमा भने अस्पतालको प्रमुख ११ औं तह वा प्राध्यापक भनेर तोकिएको छ । दुई वटा कानुन आपसमा बाँझिएपछि सरकारले प्रतिष्ठानको ऐन संशोधन गर्ने प्रक्रिया अगाडि बढाएको हो ।

प्रतिष्ठान ऐन संशोधन भएसँगै वीर अस्पताल विकास समितिअन्तर्गत सञ्चालनमा आउनेछ । विकास समितिको नेतृत्व अध्यक्षका रुपमा स्वास्थ्य सचिवले गर्नेछन् ।

सरकारले वीर अस्पतालको नयाँ संगठन व्यवस्थापन संरचना ल्याएर गत पुस २७ मा १२ औं तहका प्रमुख विशेषज्ञ डा. गुणराज लोहनीलाई वीर अस्पतालमा सरुवा गरेको थियो । तर, प्रतिष्ठानतर्फका कर्मचारीहरुले विरोध जनाएपछि डा. लोहनी मन्त्रालयमै हाजिर हुन बाध्य भएका थिए ।

वीर अस्पताल र प्रतिष्ठान दुई संरचनासँगै हुँदा वीर अस्पताल सुधार हुन नसकेको आवाज बेलाबेलामा उठ्दै आएको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ