२०८३ असोज २५, आईतबार
Health Aawaj logo
गृहपृष्ठ ∕ अन्य ∕ बालकको श्वासनलीमा अड्किएको इमलीको दाना नर्भिकमा निकालियो

बालकको श्वासनलीमा अड्किएको इमलीको दाना नर्भिकमा निकालियो


काठमाडौं– फोक्सोको देब्रेतर्फको श्वासनलीमा इमलीको दाना अड्किएर स्वास्थ्य अवस्था गम्भीर भएका ७ वर्षीय बालकको नर्भिक इन्टरनेशनल हस्पिटलमा सफल उपचार गरिएको छ । आइतबार राति अक्सिजन सपोर्टमै एम्बुलेन्समार्फत नर्भिकको आकस्मिक कक्षमा ल्याइएका बारा कलैयाका ७ वर्षीय बालकको नभिर्कमा सफल उपचार गरिएको हो ।

अस्पतालमा गम्भीर अवस्थामा आइपुगेका बालकलाई आइतबार राति नै आकस्मिक कक्षबाट आईसीयुमा लगेर उपचार प्रक्रिया सुरु गरिएको थियो । नर्भिकका सिनियर कन्सल्टेन्ट पल्मोनोलोजिष्ट एण्ड क्रिटिकल केयर स्पेसलिस्ट डा. अच्युतभक्त आचार्य नेतृत्वको चिकित्सक टोलीले सोमबार बिहान ब्रोङ्कोस्कोपीमार्फत श्वासनलीमा अड्किएको इमलीको दाना निकालेका हुन् ।

उपचारमा संलग्न डा. आचार्यका अनुसार बालकको फोक्सोको देब्रेतर्फको श्वासनलीमा इमलीको दाना अड्किएर श्वासनली नै बन्द भएको थियो । इमलीको दाना निकालेपछि बालकको स्वास्थ्यमा सुधार हुँदै गएको डा. आचार्यले जानकारी दिए ।

‘इमलीको दानाले श्वासनली बन्द हुँदा फोक्सोको देब्रेभागले काम गर्नै छाडेको र सेतो भइसकेको थियो । बालकलाई हाइफ्लो अक्सिजन सपोर्ट दिइएको थियो,’ डा. आचार्यले भने, ‘सोमबार बिहान अड्किएको इमिलीको दाना लिकालेपछि बालकको स्वास्थ्य अवस्थामा सुधार भइरहेको छ । संक्रमण भएर सेतो भइसकेको फोक्सोको देब्रे भाग ठिक हुँदै गएको छ ।’

शुक्रबार साँझ ७ बजे बालकले राम्रैसँग खाना खाए । सुत्ने समयमा बुबाआमासँग राम्रोसँग कुराकानी पनि गरेका थिए । तर, रातको साढे १० बजेतिर बालकलाई अत्यधिक खोकी लाग्यो । तीन पटकसम्म खोकेपछि बालकले श्वास फेर्न गाह्रो माने, आँखा पल्टाए र एकैछिनमा अर्धबेहोश अवस्थामा पुगे । बालकलाई तुरुन्तै बाराको कलैयामा रहेको सरकारी अस्पतालमा लगियो । तत्काल अक्सिजन दिइयो । तर, अक्सिजन लेभल ४०÷५० मात्र देखियो । उक्त अस्पतालले बालकलाई भेन्टिलेटरमा राख्नुपर्ने र भेन्टिलेटरको सुविधा नभएको भन्दै शुक्रबार राति ११ बजे अर्को अस्पतालमा रेफर ग¥यो । त्यतिबेलासम्म बालक बोल्नै छाडिसकेका थिए ।

बालकलाई कलैयाकै अर्को निजी अस्पतालमा सारियो र भेन्टिलेटरमा राखियो । तर, स्वास्थ्यमा सुधार नभएको देखेपछि बालकका बुबाले अर्को अस्पताल लैजाने निर्णय गरे । रेफर गर्नुअघि उक्त अस्पतालले छातीको एक्सरे गर्‍यो । रिपोर्टमा बालकको फोक्सोको देब्रेभाग सेतो भइसकेको थियो । त्यहाँका चिकित्सकले कडा निमोनिया भएको बताए । शनिबार बेलुका वीरगञ्जको तेस्रो अस्पतालमा पुर्‍याए । त्यहाँ बालकलाई आइसियुमा राखियो । बालक केही बोल्न सक्ने भए । तर, आइतबार दिउँसोसम्म बालकको फोक्सोमा समस्या देखिनुको कारण पत्ता लागि सकेको थिएन । एक्स—रे रिपोर्टमा फोक्सोको देब्रे भाग निमोनिया भएर ड्यामेज हुँदै गएको देखिएको चिकित्सकहरुले बताए ।

निमोनियाको कारण पत्ता लगाउन आइरबार बेलुका सिटीस्क्यान गर्दा बल्ल समस्या पत्ता लाग्यो । सिटी स्क्यानमा फोक्सोको देब्रे भागको श्वासनलीमा दानाजस्तो वस्तु देखियो । चिकित्सकहरुले श्वासनलीमा बाह्रय वस्तु अड्किएको देखेपछि थप उपचारका लागि वीरगञ्जबाट काठमाडौं रेफर गरेका थिए ।

बालकलाई वीरगञ्जदेखि अक्सिजन सपोर्टमै राखेर ४ घण्टामा काठमाडौं ल्याइयो र आइतबार राति नर्भिकमा भर्ना गरियो । ‘आफन्तहरुसँग सल्लाह गर्दा नर्भिकमा उपचार हुन्छ भनेपछि आइतबार राति नर्भिकको आकस्मिक कक्षमा लिएर आयौं,’ बालकका बुबाले भने ।

बिरामी कुरुवा क्षेत्रमा बसिरहेका बालकका बाबुले अब भने छोरालाई निको हुने आशा जागेको बताए । ‘शुक्रबारदेखि तीन वटा अस्पताल धायौं, बल्ल उपचार गरेर अहिले बाबु होशमा आइसक्यो,’ उनले भने, ‘अहिले बोल्नसक्ने भयो । अब त ठिक हुन्छ, बल्ल ढुक्क भएका छौं ।’ उपचारपछि बाल बोल्न थालेका छन् ।


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ