२०८३ भदौ ९, मंगलबार
Health Aawaj logo
गृहपृष्ठअन्यबालकको श्वासनलीमा अड्किएको इमलीको दाना नर्भिकमा निकालियो

बालकको श्वासनलीमा अड्किएको इमलीको दाना नर्भिकमा निकालियो


काठमाडौं– फोक्सोको देब्रेतर्फको श्वासनलीमा इमलीको दाना अड्किएर स्वास्थ्य अवस्था गम्भीर भएका ७ वर्षीय बालकको नर्भिक इन्टरनेशनल हस्पिटलमा सफल उपचार गरिएको छ । आइतबार राति अक्सिजन सपोर्टमै एम्बुलेन्समार्फत नर्भिकको आकस्मिक कक्षमा ल्याइएका बारा कलैयाका ७ वर्षीय बालकको नभिर्कमा सफल उपचार गरिएको हो ।

अस्पतालमा गम्भीर अवस्थामा आइपुगेका बालकलाई आइतबार राति नै आकस्मिक कक्षबाट आईसीयुमा लगेर उपचार प्रक्रिया सुरु गरिएको थियो । नर्भिकका सिनियर कन्सल्टेन्ट पल्मोनोलोजिष्ट एण्ड क्रिटिकल केयर स्पेसलिस्ट डा. अच्युतभक्त आचार्य नेतृत्वको चिकित्सक टोलीले सोमबार बिहान ब्रोङ्कोस्कोपीमार्फत श्वासनलीमा अड्किएको इमलीको दाना निकालेका हुन् ।

उपचारमा संलग्न डा. आचार्यका अनुसार बालकको फोक्सोको देब्रेतर्फको श्वासनलीमा इमलीको दाना अड्किएर श्वासनली नै बन्द भएको थियो । इमलीको दाना निकालेपछि बालकको स्वास्थ्यमा सुधार हुँदै गएको डा. आचार्यले जानकारी दिए ।

‘इमलीको दानाले श्वासनली बन्द हुँदा फोक्सोको देब्रेभागले काम गर्नै छाडेको र सेतो भइसकेको थियो । बालकलाई हाइफ्लो अक्सिजन सपोर्ट दिइएको थियो,’ डा. आचार्यले भने, ‘सोमबार बिहान अड्किएको इमिलीको दाना लिकालेपछि बालकको स्वास्थ्य अवस्थामा सुधार भइरहेको छ । संक्रमण भएर सेतो भइसकेको फोक्सोको देब्रे भाग ठिक हुँदै गएको छ ।’

शुक्रबार साँझ ७ बजे बालकले राम्रैसँग खाना खाए । सुत्ने समयमा बुबाआमासँग राम्रोसँग कुराकानी पनि गरेका थिए । तर, रातको साढे १० बजेतिर बालकलाई अत्यधिक खोकी लाग्यो । तीन पटकसम्म खोकेपछि बालकले श्वास फेर्न गाह्रो माने, आँखा पल्टाए र एकैछिनमा अर्धबेहोश अवस्थामा पुगे । बालकलाई तुरुन्तै बाराको कलैयामा रहेको सरकारी अस्पतालमा लगियो । तत्काल अक्सिजन दिइयो । तर, अक्सिजन लेभल ४०÷५० मात्र देखियो । उक्त अस्पतालले बालकलाई भेन्टिलेटरमा राख्नुपर्ने र भेन्टिलेटरको सुविधा नभएको भन्दै शुक्रबार राति ११ बजे अर्को अस्पतालमा रेफर ग¥यो । त्यतिबेलासम्म बालक बोल्नै छाडिसकेका थिए ।

बालकलाई कलैयाकै अर्को निजी अस्पतालमा सारियो र भेन्टिलेटरमा राखियो । तर, स्वास्थ्यमा सुधार नभएको देखेपछि बालकका बुबाले अर्को अस्पताल लैजाने निर्णय गरे । रेफर गर्नुअघि उक्त अस्पतालले छातीको एक्सरे गर्‍यो । रिपोर्टमा बालकको फोक्सोको देब्रेभाग सेतो भइसकेको थियो । त्यहाँका चिकित्सकले कडा निमोनिया भएको बताए । शनिबार बेलुका वीरगञ्जको तेस्रो अस्पतालमा पुर्‍याए । त्यहाँ बालकलाई आइसियुमा राखियो । बालक केही बोल्न सक्ने भए । तर, आइतबार दिउँसोसम्म बालकको फोक्सोमा समस्या देखिनुको कारण पत्ता लागि सकेको थिएन । एक्स—रे रिपोर्टमा फोक्सोको देब्रे भाग निमोनिया भएर ड्यामेज हुँदै गएको देखिएको चिकित्सकहरुले बताए ।

निमोनियाको कारण पत्ता लगाउन आइरबार बेलुका सिटीस्क्यान गर्दा बल्ल समस्या पत्ता लाग्यो । सिटी स्क्यानमा फोक्सोको देब्रे भागको श्वासनलीमा दानाजस्तो वस्तु देखियो । चिकित्सकहरुले श्वासनलीमा बाह्रय वस्तु अड्किएको देखेपछि थप उपचारका लागि वीरगञ्जबाट काठमाडौं रेफर गरेका थिए ।

बालकलाई वीरगञ्जदेखि अक्सिजन सपोर्टमै राखेर ४ घण्टामा काठमाडौं ल्याइयो र आइतबार राति नर्भिकमा भर्ना गरियो । ‘आफन्तहरुसँग सल्लाह गर्दा नर्भिकमा उपचार हुन्छ भनेपछि आइतबार राति नर्भिकको आकस्मिक कक्षमा लिएर आयौं,’ बालकका बुबाले भने ।

बिरामी कुरुवा क्षेत्रमा बसिरहेका बालकका बाबुले अब भने छोरालाई निको हुने आशा जागेको बताए । ‘शुक्रबारदेखि तीन वटा अस्पताल धायौं, बल्ल उपचार गरेर अहिले बाबु होशमा आइसक्यो,’ उनले भने, ‘अहिले बोल्नसक्ने भयो । अब त ठिक हुन्छ, बल्ल ढुक्क भएका छौं ।’ उपचारपछि बाल बोल्न थालेका छन् ।


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ