काठमाडौं—ओखलढुंगाका गुर्णबहादुर राई परिवार एक वर्षदेखि नेपाल सरकारले संचालन गरेको स्वास्थ्य विमा कार्यक्रममा आवद्ध छन् । विमाकर्ताले वार्षिक ३ हजार ५ सय रुपैयाँ तिरेपछि १ लाख रुपैयाँसम्मको उपचार तोकिएका अस्पतालहरुबाट निःशुल्क पाउने आश्वस्त पारेपछि उनी विमा गराउन राजी भएका थिए ।
गत कार्तिकमा गुर्णबहादुरका भाइ मित्रबहादुर राईको तिघ्रामा मासुको डल्ला देखियो । डल्लो बढ्दै गएपछि गुर्णबहादुरले मित्रलाई ओखलढुंगाकै मिसन अस्पतालमा उपचारका लागि पुर्याए । त्यहाँ उपचार हुन्जेलको खर्च विमाबाटै भयो । मिसन अस्पतालमा उनको थप उपचार हुन नसक्ने भएपछि चिकित्सकले काठमाडौंको त्रिवि शिक्षण अस्पताल रिफर गरिदिए । त्रिवि शिक्षण अस्पतालमा पनि विमाअन्तर्गतकै पैसाले उपचार हुन्छ भन्ने गुर्णबहादुरलाई सुझाइएको थियो । सोहीअनुसार उनी भाइलाई लिएर त्रिवि शिक्षण अस्पतालमा आए ।
७ मंसिरमा मित्रको तिघ्रामा पलाएको ट्युमरको शल्यक्रिया भयो । अस्पतालभित्र गरिएको जाँच—पड्ताल र शल्यक्रिया गर्दा लागेको खर्च त विमामार्फत भयो । तर, उपचारको समयमा लागेको अधिकांश औषधी भने गुर्णबहादुरले बाहिरबाटै किनेर ल्याउनुपर्यो । शल्यक्रिया गर्नुअघि परीक्षणमा लागेको १० हजार र शल्यक्रिया शुल्क १४ हजार रुपैयाँ विमाबाट भुक्तानी भएको गुर्णबहादुर बताउँछन् । तर, उपचारको क्रममा लागेको औषधी किन्नका लागि भने उनले ३३ हजार रुपैयाँ गोजीबाट तिर्नु पर्यो । ‘जाँच पड्ताल र अप्रेसनको गरी २४ हजार विमाबाट भयो,’ उनी भन्छन्, ‘तर, ३३ हजार रुपैयाँको औषधी भने बाहिरबाटै किन्नु पर्यो ।’
विमाअन्तर्गतका केही सामान्य औषधी (सिरिन्ज, ग्लुकोज, ब्रुफीन, सिटामोल) अस्पतालको फार्मेसीबाट लगेतापनि त्यसको बिल माग्दा फर्मेसीले बिल दिन अस्वीकार गरेको उनले बताए । ‘बिल लान पाइदैंन्, यही कम्प्युटरमा हेर्नु भन्दै देखाए,’ गुर्णबहादुरले भने, ‘आफ्नो पैसाको विल पनि नपाइने हुन्छ र ?’
त्रिवि शिक्षण अस्पतालकी विमा फार्मेसी स्टोर इन्चार्ज संगीता माथेमा बिमाअन्तर्गत पर्ने औषधीहरुको बिल बिरामीलाई नभएर विमा बोर्डलाई पठाइने बताउँछिन् । ‘हामी विल क्लेम स्वास्थ्य विमा बोर्डसँग गर्ने हुँदा त्यहाँ पठाउँछौं,’ उनी भन्छिन्, ‘बिरामीले कतिको औषधी किनियो भनेर हेर्न चाहे भने कम्प्युटरमै देखाउँछौं ।’
स्वास्थ्य विमा वोर्डका प्रवक्ता डा. शम्भुप्रसाद ज्ञवालीले विमा वापतका औषधीको विल विमितलाई अनिवार्य दिनुपर्ने बताउँछन् । ‘अस्पताल फार्मेसीले विल दिन्न भन्न पाउँदैन्,’ उनले भने, ‘विमितले कतिको औषधी प्रयोग भयो । कति रुपैयाँको बिल काटियो भन्ने थाहा पाउने अधिकार रहन्छ ।’
त्यस्तै, त्रिवि शिक्षण अस्पतालमा बिमाअन्तर्गत उपचार गराउन आएका स्याङजाका धनबहादुर वि.क. ड्रेसिङ सामाग्री पनि बाहिरबाट किन्नु परेको बताउँछन् । स्याङजाबाट असोजमा काठमाडौं आएका उनी हालसम्म टिचिङ अस्पतालमै छन् । कार्तिक २२ गते पित्तथैली अप्रेसन गरेर फालेका उनले अप्रेसनपछि जब डाक्टरले लेखेको औषधी लिन अस्पतालको फार्मेसीमा गए, त्यहाँ उनको अप्रेसन भएको घाउमा लगाउने ड्रेसिङ सामाग्री छैन बाहिरबाट किनेर ल्याउन भनियो । ‘विमाअन्तर्गत पर्ने सामान्य ड्रेसिङ सामाग्री पनि बाहिरबाट किन्नुपर्ने स्थिती छ’ उनी गुनासो पोख्छन्, ‘विमाबाट त वेड चार्ज, सलाइन पानी र केही औषधीमात्रै दिएको छ ।’ त्यस्तै, पित्तथैलीको अप्रेसन गरेको २४ हजार काटेको र बाँकी औषधी कतिको आयो केही थाहा नभएपनि प्रायः औषधी बाहिरबाट किनेको उनले बताए ।
त्रिवि शिक्षण अस्पताल मात्र होइन्, वीर अस्पतालमै पनि विमाअन्तर्गत उपचार गराउन आउनेहरुले औषधी नपाएको गुनासोृ गर्छन् । विमाअन्तर्गत सासुको उपचारको लागि वीरमा आएकी शर्मिला खड्का भन्छिन्, ‘प्रेसरको औषधी छैन । बाहिरबाटै किन्नुहोस् भनियो ।’ सिन्धुपाल्चोक घर भएकी उनी ७५ वर्षीया सासु मनमायाको उपचारका लागि ३ दिनदेखि अस्पताल आउने—जाने गरिरहेकी छिन् ।
‘भिटामिन दिएको छ । प्रेसरको औषधी बाहिरबाट ल्याउन भनिएको छ,’ शर्मिला भन्छिन्, ‘अस्पतालमा प्रेसरको औषधीसमेत नहुनु चाहिँ अचम्मै हो ।’ भिडियो एक्स–रे, ब्लड टेस्टहरु बिमाबाटै भएको उनले बताइन् ।
वीर अस्पतालका बिमा फार्मेसी इन्चार्ज श्याम मण्डल भने विमाअन्तर्गत पर्ने सम्पूर्ण औषधीहरु स्वास्थ्य विमा वोर्डकोे वेवसाइड हुने र ती औषधी फार्मेसीले उपलब्ध गराउने गरेको दावी गर्छन् । ‘सबै औषधी विमाअन्र्तगत छैनन्,’ उनी भन्छन्, ‘विमाअन्तर्गतका औषधी बाहिर किन्नु पर्दैन् । कुनै सकिएको छ भने पनि हामी तत्काल ल्याइहाल्छौं ।’ त्रिवि शिक्षण अस्पतालकी बिमा फार्मेसी स्टोर इन्चार्ज माथेमा पनि बिमाअन्तर्गत पर्ने सबै औषधीहरु अस्पतालले उपलब्ध गराउँदै आएको दावी गर्छिन् ।