काठमाडौं-स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सह-प्रवक्ता डा. समिरकुमार अधिकारीले निजी अस्पतालहरुको सेवा सुधारमा हेल्थकेयर म्यानेजमेन्ट जनशक्तिको राम्रो भूमिका रहेको बताएका छन् । शनिबार काठमाडौंमा नेपाल स्वास्थ्य सेवा व्यवस्थापक संघको एकदिने सिएमई, सिपीडी तथा दोस्रो महाधिवेशनको उद्घाटनपछि बोल्दैं प्रमुख अतिथी डा. अधिकारीले निजीसँगै सरकारी अस्पतालमा पनि हेल्थकेयर म्यानेजमेन्ट पढेका जनशक्तिलाई बढाउँदैं लैजाने बताए ।
‘हेल्थकेयर म्यानेजमेन्टको सरकारी दरबन्दी धेरै छैन्,’ उनले भने, ‘आगामी दिनहरुमा यसलाई बढाउँदैं लैजान्छौं । यसलाई मिक्स किमिसले लैजानुपर्छ ।’ उनले निजी अस्पतालको सेवा इम्प्रुभमेन्टले सरकारीमा पनि हेल्थकेयर म्यानेजमेन्टको जनशक्तिलाई सँगै लैजान प्रेरित गरेको धारणा व्यक्त गरे ।
सहप्रवक्ता डा. अधिकारीले विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)को ६ बिल्डिङ ब्लकमा काम गर्न सकेमात्रै स्वास्थ्य सेवा सुधार हुने बताए । ‘डब्लूएचओको ६ बिल्डिङ ब्लकमा काम गर्न सकेमात्रै स्वास्थ्य सेवा सुधार हुन्छ,’ उनले थपे, ‘हेल्थकेयर यसको ब्रेन हो । ब्रेन राम्रो भएमात्रै डेलिभरी राम्रो हुन्छ ।’
सरकारले कसैलाई काखा र कसैलाई पाखा नगरी जनतालाई केन्द्रमा राखेर काम गर्ने उनले बताए । ‘सरकारले कसैलाई काखा र कसैलाई पाखा गर्दैन । निजी क्षेत्रको अभिभावकत्व गरेर लैजान्छ,’ उनले अगाडि भने । १० प्रतिशत निःशुल्क धेरै पुरानो व्यवस्थालाई सरकारले कार्यान्वयनमा ल्याएको उनको भनाइ थियो ।
डा. अधिकारीले एआई, स्टाटेजीक लिडरसीपको कुरालाई संघको आगामी आउने नेतृत्वले अगाडि लैजानेपर्ने बताए । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय संघसँग हातेमालो गर्न तयार रहेको बताउँदैं उनले सँगै अगाडि जाने स्पष्ट पारे । ‘कार्यक्रमपछि आउने घोषणापत्र, निष्कर्ष वा नतिजा पनि हामी कहाँ आउनेछ,’ उनले भने ।
कार्यक्रमका अतिथी एवं अफिनका उपाध्यक्ष श्यामकृष्ण जोशीले हेल्थकेयर म्यानेजमेन्टको सही अर्थमा प्रयोगमा आएपनि अझै व्यवहारिक रुपमा कार्यान्वयन हुन नसकेको बताए । ‘प्राइभेट सेक्टरको सबै हस्पिटलमा हेल्थकेयर म्यानेजमेन्ट गरेकाहरु छन् तर सरकारी अस्पतालहरुमा कम छन्,’ उनले भने, ‘सरकारको नियांमक निकायमा हेल्थकेयर म्यानेजमेन्ट गरको जनशक्ति भयो भने स्वास्थ्य क्षेत्रको विकासमा उपयोगी हुन्छ ।’
निजी अस्पतालमा सञ्चालक समेत रहेका उनले अस्पतालहरु नवीकरणमा सरकारका निकायहरुबाट झुलाउने काम हुने गरेको भन्दैं असन्तुष्टि व्यक्त गरे । ‘सरकारी निकायहरुबाट नवीकरणमा झुलाउने काम गरिन्छ, दुई तीन महिना मिलाएर खुसी पारेपछि बल्ल सिफारिस पाउने अवस्था छ,’ उनले भने, ‘सिफारिस लिन एकदम गाह्रो छ, कहिले यो पुगेन, कहिले उ पुगेन, कहिले यो नियमअनुसार भएन कहिले उ नियमअनुसार भएन भनेर स्थानीय तहमा सिफारिस लिनै गाह्रो छ ।’
सहरी क्षेत्रमा एक शय्या बराबर ५५ वर्गकिलोमिटर, १०० शय्याका लागि १० रोपनी जग्गा चाहिने बताउँदैं जोशीले अहिले भौतिक पूर्वाधार मन्त्रालयको नयाँ भवन मापदण्डमा यसलाई तेब्बर वृद्धि गरिएको बताए । ‘स्तरोन्नतीको लागि सहरी विकासमा जाँदा १०० शय्याको अस्पतालका लागि ३० रोपनी जग्गा चाहिन्छ, यो मापदण्डका आधारमा सहरमा अस्पताल खोल्नै असम्भव छ,’ उनले भने । यसबाहेक हस्पिटल दर्तासँगै अलग अलग ठाउँबाट हस्पिटलकै फार्मेसी र प्रयोगशाला दर्ता गर्नुपर्ने बाध्यता हटाउन समेत उनले माग गरे ।
जोशीले आफूहरु कचौरा बोकेर भिख माग्न नबसेको उल्लेख गर्दै स्वास्थ्य मन्त्रालयले निर्धारण गरेको स्वास्थ्य सेवा शुल्कमाथि प्रश्न उठाए । ‘निजी अस्पतालहरुलाई हतोत्साहित नगरौं,’ उनले भने । आफूहरुले १० प्रतिशत शय्या निःशुल्क उपलब्ध गराएको उल्लेख गर्दै उनले तर औषधि पनि निःशुल्क दिन नसक्ने बताए ।
नेपाल स्वास्थ्य सेवा व्यवस्थापक संघका अध्यक्ष महेन्द्रराज भुसालले अस्पतालहरुमा हस्पिटल म्यानेजमेन्ट जनशक्ति चाहिन्छ भनेर निरन्तर वकालत गरिरहेको बताए । उद्घाटन समारोहको अध्यक्षतासमेत गरेका भुसालले केन्द्र सरकार र प्रदेश सरकारसँग घच्घचाइरहेको बताए । ‘गुणस्तरीय स्वास्थ्य सेवाका लागि हेल्थ म्यानेजर चाहिन्छ भने छलफल, भेटघाट, ज्ञापनपत्र बुझाउने, मिडियाहरुमा एडभोकेसी गर्ने, डेलिगेसन जाने र र्याली गर्नेलगायतका कामहरु भएका छन्,’ उनले भने, ‘यसले राम्रो नतिजा ल्याएको छ, अहिले विभिन्न सरकारी निकायहरुले दरबन्दी सिर्जना गरेर भ्याकेन्सी पनि गर्न थालेका छन् ।’
कार्यक्रममा संघका महासचिव डा. होमप्रसाद अधिकारीले स्वागत मन्तव्य राखेका थिए । संघीय शासन लागु भएपछि स्वास्थ्य सेवा सञ्चालनमा व्यापक परिवर्तन भएको उल्लेख गर्दै अहिलेको अवस्थामा हेल्थकेयर म्यानेजमेन्ट जनशक्तिको आवश्यकता अझ बढेको बताए ।
कार्यक्रममा संस्थापक अध्यक्ष कविता खनाल, डा. कसिम शाह, मालादीप उपाध्याय, सुधिर ठाकुर र डा. सिजन थापालगायतका अतिथीहरुको उपस्थिती रहेको थियो । तीन सत्रमा सञ्चालन हुने कार्यक्रममा पहिलो सत्र उद्घाटन, दोस्रो सत्र सिएमई सिपीडी र तेस्रो सत्रमा संघको साधारणसभा हुनेछ । डा. शाह, उपाध्याय, ठाकुर र डा. थापाले दोस्रो सत्रमा विविध विषयमा प्रस्तुती दिने कार्यक्रम छ ।