२०८१ वैशाख १५, शनिबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेश‘असल आमा’ लाई नगद र प्रमाण–पत्र

‘असल आमा’ लाई नगद र प्रमाण–पत्र


सुर्खेत – दैलेखको नारायण नगरपालिकाले नगरभित्रका ‘असल आमा’ लाई नगद र प्रमाण–पत्र वितरण गरेको छ । नगरपालिका भित्रका ११ वटै वडामा एक सय पाँच जना ‘असल आमा’ नगद र प्रमाण–पत्र वितरण गरेको हो ।

विभिन्न पाँच वटा सूचक (इन्डिकेटर) पार गरेका गर्भवती आमाहरूको खोजी गर्दा एक सय पाँच असल आमालाई नगद र प्रमाण–पत्र वितरण गरेको छ ।

असल आमालाई नगद दुई हजार र प्रमाणपत्रले सम्मान गरिएको नारायण नगरपालिका स्वास्थ्य शाखा इन्चार्ज लालबहादुर खड्काले बताए । ‘आमा र बच्चाको स्वास्थ्यमा उल्लेख्य सुधार गर्ने, बाल मृत्युदर र मातृ मृत्युदर कम गर्नका लागि असल आमा प्रोत्साहन कार्यक्रम सञ्चालनमा ल्याएका छौँ ।’

उनले भने,‘२० वर्ष पूरा गरेर बिहे गरेका, दुई वटा बच्चा जन्माएका, नियमित रूपमा स्वास्थ्य चौकीमा चार पटक गर्भ जाँच गरेका, स्वास्थ्य संस्थामै पुगेर सुत्केरी भएका र जन्मेको बच्चालाई पूर्ण खोप लगाएका पाँच वटा इन्डिकेटर पूरा गरेका आमाहरूलाई असल आमा भन्दै सम्मान गरिएको छ ।’

वडा नं. १ देखि ९ सम्मका ८४ जना असल आमाहरूलाई शुक्रवार सम्मान गरिएको छ भने वडा नं. १० र ११ का असल आमाहरूलाई वडामै पुगेर सम्मान गरिने नारायण नगरपालिका दैलेखका नगर प्रमुख लोमन शर्माले बताए ।

‘यो अभियानले आमा र बच्चाको स्वास्थ्य समस्या कम हुने र मृत्युदर घट्ने छ ।’ उनले भने,‘भविष्यका कर्णधारहरू गर्भावस्था देखि सुरक्षित रूपमा जन्मन पाउने अधिकारको संरक्षण गर्दै गर्भावस्थामा महिलालाई हुने विभिन्न समस्याहरू भोग्नु नपरोस् भन्ने उद्देश्यले यस्तो कार्यक्रम तय गरिएको छ ।’


क्याटेगोरी : कर्णाली प्रदेश, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ