२०८१ जेठ ५, शनिबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशकर्णालीका नागरिकलाई स्वास्थ्य सेवाको दुःख : कतै चिकित्सक अभाव, कतै उपकरण प्रयोग विहीन

कर्णालीका नागरिकलाई स्वास्थ्य सेवाको दुःख : कतै चिकित्सक अभाव, कतै उपकरण प्रयोग विहीन


जुम्ला – जाजरकोट जिल्लास्थित प्राथमिक स्वास्थ्य केन्द्र गर्खाकोटको एक्स–रे मेसिन प्रयोग विहीन भएको छ । पाँच वर्षअघि खरिद गरिएको एक्स–रे मेसिन हालसम्म पनि प्रयोगमा आएको छैन । स्वास्थ्य केन्द्रमा विद्युत् र भवन नहुँदा एक्स–रे मेसिन प्रयोगमा ल्याउन नसकिएको स्वास्थ्य केन्द्रले जनाएको छ ।

जुनिचाँदे–४ की मायादेवी शाहीले चिकित्सकले छातीमा समस्या देखिएकोले छातीको एक्स–रे गर्न पर्छ भनेको भए पनि स्वास्थ्य केन्द्रमा एक्स–रे मेसिन भएर पनि सञ्चालन नहुँदा एक्स–रे गर्न सुर्खेत जानु परेको गुनासो गरिन् । शाहीले भनिन् सञ्चालनमा नआउने भए मेसिन छ भनेर देखाउनका लागी मात्र किन ल्याएको होला ।

त्यसै गरी जङ्गलमा घाँस दाउरा गर्न गएको समयमा रुखबाट लडेर हातमा चोट लागेको हुँदा उपचारका लागी प्राथमिक स्वास्थ्य केन्द्रमा गएको र चिकित्सकले हातमा चोट लागेको कुरा पत्ता लगाउन एक्स–रे गर्नपर्ने बताए पनि गाउँमै भएको स्वास्थ्य केन्द्रमा एक्स–रे नभएपछि आफू कोहलपुरमा उपचारका लागी जानुपरेको जुनिचाँदे–५ का तिर्थ शाहीले बताए । शाहीले भने स्वास्थ्य केन्द्रमा एक्स–रे  मेसिन त छ तर के कति कारणबाट प्रयोगमा नआउँदा बिरामी गाउँमै पाउने उपचार सेवाबाट वञ्चित हुन परेको छ ।

उता प्राथमिक स्वास्थ्य केन्द्रलाई पाँच वर्ष पहिला राष्ट्रिय बिमा संस्थानले १६ लाख रुपैंयाको एक्स–रे मेसिन दिएको थियो । सोलार पावरबाट एक्स–रे मेसिन चलाउन नसकेपछि प्रयोगमा ल्याउन नसकिएको प्राथमिक स्वास्थ्य केन्द्र गर्खाकोटका प्रमुख बलबहादुर शाहीले बताए ।

‘विद्युत् अभावकै कारण एक्स–रे मेसिन प्रयोगमा ल्याउन सकिएको छैन,’ उनले भने  । विद्युत् नआउँदासम्म जेनरेटरबाट मेसिन चलाउन सकिने भए पनि जेनेरेटर र भवनका लागि जुनिचाँदे गाउँपालिकासँग माग गर्दा सुनुवाइ नभएको उनले बताए ।

स्वास्थ्य केन्द्रमा भएको एक्स–रे सेवा सञ्चालनमा आउन नसक्दा यस क्षेत्रका बिरामी सामान्य उपचारका लागि पनि कोहलपुर, नेपालगञ्ज र सुर्खेतसम्म जानुपर्ने बाध्यता रहेको छ ।

चिकित्सक विहीन पिएचसी
सल्यानको छत्रेश्वरी गाउँपालिका–५ लेखपोखरास्थित प्राथमिक स्वास्थ्य केन्द्र करिब पाँच वर्षदेखि चिकित्सक विहीन बनेको छ । दरबन्दीमा रहेका डाक्टर बढुवा भएर गएको र नयाँ डाक्टर नआउँदा डाक्टर विहीन बनेको हो । पछिल्लो पटक कार्यरत डा. हेमराज शर्मा अध्ययन विदा सक्ने बित्तिकै बढुवा भएर गएपछि करिब पाँच वर्षदेखि स्वास्थ्य केन्द्र डाक्टर विहीन बनेको हो ।

प्राथमिक स्वास्थ्य केन्द्रमा १२ जनाको दरबन्दी छ । तर दरबन्दी र करार गरेर अहिले सात जना मात्रै कार्यरत छन् । यहाँ एमबिबिएस डाक्टर एक जनाको दरबन्दी छ । यस्तै हेल्थ असिस्टेन्ट एक जना, स्टाफ नर्स एक जना, अहेव/सिअहेव तीन जना, अनमी दुई जना, ल्याव असिस्टेन्ट एक जना र कार्यालय सहयोगी तीन जनाको दरबन्दी छ ।

तर अहिले अहेव दुई जना, करारमा सहित अनमी तीन जना र दुई जना कार्यालय सहयोगी गरेर सात जना मात्रै कार्यरत रहेका छन् । यहाँ डाक्टर, हेल्थ असिस्टेन्ट, स्टाफ नर्स, ल्यावअसिस्टेन्ट लगाएको दरबन्दी रिक्त रहेको छ ।

दरबन्दी अनुसारको जनशक्ति नहुँदा स्थानीय नागरिक विशेषज्ञ सेवाबाट वञ्चित भएका छन् । स्वास्थ्य केन्द्रमा एक्स–रे लगायतका मेसिन छन् । तर जनशक्ति नहुँदा भएका उपकरण पनि सञ्चालन गर्न नसकिएको प्राथमिक स्वास्थ्य केन्द्रका निमित्त इन्चार्ज वीरबहादुर वलीले जानकारी दिए । उनले डाक्टर लगायतका अन्य जनशक्ति नहुँदा इमरजेन्सी लगायतका सेवा प्रदान गर्न नसकिएको बताए ।

‘हामीले सामान्य खालका रोगको उपचार गर्ने हो, तर जनशक्ति नहुँदा स्थानीयले स्तरीय स्वास्थ्य सेवा पाउन सकेका छैनन्, हामीले सक्ने उपचार सेवा दिँदै आएका छौँ’ उनले भने ‘यति लामो समयसम्म डाक्टर किन आउनु भएन, त्यो थाहा छैन ।’ उनले जनशक्ति अभावमा दुई वर्षदेखि खकार जाँच लगायतका सेवा पनि प्रभावित भएको बताए ।

‘सामान्य जाँच बाहेक एक्स–रे, खकार जाँच लगायतका लागि नागरिकलाई जिल्ला अस्पताल पठाउनुपर्ने बाध्यता छ, यसले नागरिकको स्वास्थ्य सेवालाई थप खर्चिलो बनाएको छ’ उनले भने ‘उपकरण छ, प्रयोग गर्ने जनशक्ति छैन ।’ सीमित जनशक्ति हुँदा पनि उपचार सेवा भने प्रभावित नभएको उनको भनाइ छ ।

प्राथमिक स्वास्थ्य केन्द्र विगत पाँच वर्षदेखि नै अहेव र अनमीकै भरमा चलेको छ । छत्रेश्वरी गाउँपालिका भित्रको एक मात्र तीन शय्याको स्वास्थ्य केन्द्रमा वर्षौँसम्म डाक्टर नआउँदा बिरामीलाई जिल्ला अस्पतालमा रिफर गर्ने गरिएको छ । पहिला अधिकांश समस्याहरू स्वास्थ्य केन्द्रमै उपचार हुने भए पनि अहिले डाक्टर नहुँदा स्थानीयले दुख पाइरहेका छन् ।

स्थानीय बुद्धिजीवी शिवप्रसाद केसीले भने ‘नागरिकले गाउँमै उपचार पाउँदा खर्च हुन्थेन्, तर सामान्य बिरामीलाई पनि जिल्ला अस्पताल पु¥याउनुपर्छ, गाउँको अस्पतालमा डाक्टर नहुँदा महँगो उपचार गराउन स्थानीय बाध्य भएका छन् ।’ चिकित्सक पठाई दिन पटक–पटक अनुरोध गर्दा पनि सम्बन्धित निकायले सुनुवाइ नगरेको उनको गुनासो छ । उनले दक्ष जनशक्ति नभएका कारण उपचार तथा स्वास्थ्य परीक्षणमा समस्या भइरहेको बताए ।


क्याटेगोरी : कर्णाली प्रदेश, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ