२०८१ साउन ५, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारकोशी अस्पतालमा ६ महिना पनि टिक्दैनन् मेसु

कोशी अस्पतालमा ६ महिना पनि टिक्दैनन् मेसु


विराटनगर—पूर्वी नेपालको सबैभन्दा ठूलो सरकारी अस्पताल कोशीमा संघीय सरकार परिवर्तन भएर स्वास्थ्य तथा जनसंख्या मन्त्री आएसँगै अस्पतालको मेडिकल सुपरिटेन्डेन्ट (मेसु) परिवर्तन हुने गरेका छन् । स्वास्थ्य मन्त्री परिवर्तन भएपिच्छे मेसु र अस्पताल विकास समिति परिवर्तन हुने गरेको हो ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा बनेको अहिलेको सरकारमा एमालेबाट सांसद पदमा निर्वाचित पदम गिरी स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा छन् । स्वास्थ्यमन्त्रीमा बहाल भएको एक महिनापछि मन्त्री गिरीले एमाले मोरङका केही स्थानीय नेताहरूको दबाबमा अस्पतालका सर्जन डा. रविराज सिंहलाई निमित्त मेडिकल सुपरिटेन्डेन्ट (मेसु) मा नियुक्त गरेका हुन् । आइतबार मन्त्रीस्तरीय निर्णायले निमित्त मेसुमा नियुक्त भएका डा. सिंहले मंगलबार कार्यभार सम्हालेका छन् ।

कोशी अस्पतालमा मेसुको ११ औं तहको दरबन्दी हो । ११ औं तहको चिकित्सक अस्पतलमा हुँदाहुँदैं पनि १० औं तहबाट जुनियर डाक्टरलाई मेसुमा नियुक्त गरेपछि अस्पतालका चिकित्सकहरु असन्तुष्ट बनेका छन् । कोशीमा अहिले डा. दीपक सिग्देल, डा. रामनारायण चौधरी ११ औं तहका चिकित्सक हुन् । यसअघि पनि १० औं तहका चिकित्सक मेसुमा थिए । त्यसबेला पनि उनलाई कोशीका अन्य चिकित्सक र कर्मचारीहरूले असहयोग गरेका थिए ।

‘सिनियर र दरबन्दीअनुसारको चिकित्सक हुँदाहुँदै १० औं तहका चिकित्सकबाट मेसुमा जिम्मेवारी तोकिएपछि भोलिको दिनमा अहिले मेसु नियुक्त भएका डाक्टरलाई ती सिनियर चिकित्सकले टेर्दैनन्,’ कोशी अस्पतालका एक वरिष्ठ चिकित्सकले भने, ‘कि त हस्पिटल भित्र भएका ११ औैैं तहको चिकित्सकलाई मेसु बनाएर ल्याउनुपर्ने थियो । यदि हस्पिटल भित्रका सिनियर र ११ औं तहको चिकित्सक नभए स्वास्थ्य मन्त्रालयले अन्यन्त्रबाट भएपनि ११ औं तहको चिकित्सक पठाउनुपर्ने थियो । त्यसमा नेतृत्वले विचार गरेको देखिएन् ।’ सिनियर चिकित्सकलाई बाइपास गरेर जुनियरबाट मेसु नियुक्ति गर्दा हस्पिटलमा काम गर्न असहज भएको ती सिनियर चिकित्सकले बताए ।

प्रदेश १ को सबैभन्दा ठूलो सरकारी हस्पिटल सुधार गर्ने पक्षमा अहिलेका विकास समिति, स्वास्थ्य मन्त्रालय र मन्त्री पनि नदेखिएको अर्का एक चिकित्सकले गुनासो पोखे । स्वास्थ्य तथा जनसंख्या मन्त्री परिवर्तन भएसँगै छोटो अवधिमा मेसु परिवर्तन हुँदा हस्पिटलको काम कारवाहीमा समस्या हुने गरेको हस्पिटलका कर्मचारी बताउँछन् ।

‘नयाँ आएका मेसुले हस्पिटल प्रशासन र सेवाहरुको बारेमा बुझन २/३ महिना लाग्छ । सेवा प्रवाह सुधार गरी लैजाने तयारी गर्दागर्दै बुझेका मेसु र विकास समितिबीच तालमेत नहुँदा राजनैतिक दबाबको कारणले परिवर्तन हुने गरेको छ । यसरी छिटो—छिटो मेसु फेरिँदा अस्पतालको सेवा प्रवाहमा समस्या हुने गर्दछ,’ अस्पताल प्रशासनका एक कर्मचारी भन्छन् ।

अस्पतालमा राजनीतिक दलहरूले आफ्ना मान्छेहरू भर्ना गर्ने र दक्ष जनशक्ति भर्ना नगर्दा अस्पतालको सेवा प्रवाहमा समस्या रहेको छ । अस्पतालमा फेरिरहने मेडिकल सुपरिटेन्डेन्ट र अस्पताल विकास समितिका बीचमा समन्वय नहुँदासमेत अस्पतालमा समस्या भएको छ । कोशी अस्पताल विकास समितिको बैठक ४ महिनादेखि बस्न सकेको छैन । आन्तरिक विवादका कारण बैठक बस्न नसक्दा चिकित्सक, कर्मचारीहरूले समस्या झेल्दै आएका चिकित्सकहरु बताउँछन् ।

अस्पताल विकास समितिका अध्यक्ष महेश भट्टराईल पनि सरकारका कारण समस्या सिर्जना हुने गरेको बताउँछन् । ‘एउटा अस्पताल विकास समिति छ अर्को नियुक्ति गरेर सरकार नै पठाउँछ । राम्रोसँगले काम गर्नै पाइदैंन्,’ उनी भन्छन्, ‘अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट फेरिदिन्छन् र कर्मचारी नियुक्तिमा लाग्छ अनि कसरी अस्पताल सुधार हुन्छ र ?’

तीन वर्षमा ६ जना मेसु फेरिए

कोशी अस्पतालका नवनियुक्त मेसु डा. रविराज सिंह

अस्पतालमा वि.सं. ०७६ सालयता मात्रै ६ जना मेसु परिवर्तन भएका छन् । वि.सं. ०७६ सालअघि अस्पतालको मेसु हालका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. रोशन पोखरेल थिए । उनलाई १ भदौं ०७६ मा स्वास्थ्य मन्त्रालयमा सरुवा गरेसँगै तत्कालीन स्वास्थ्य मन्त्री उपेन्द्र यादवले डा.गुणराज लोहनीलाई मेसुमा नियुक्त गरेका थिए । लोहनीको १ भदौं ०७६ देखि ४ महिना पूरा नहुँदैं पुनः अर्को मेसु नियुक्त गरिएको थियो । मन्त्री यादवले डा. संगीता कौशल मिश्रालाई २५ पुस ०७६ मा नयाँ मेसुमा नियुक्त गरे ।

स्वास्थ्य मन्त्रीबाट यादव हटेर भानुभक्त ढकाल आएसँगै डा. मिश्राले पनि पाँच महिना मात्रै पूरा गर्न पाइन् । ढकालले डा. मिश्रालाई हटाउँदै डा. चुमनलाल दासलाई १ असार ०७७ देखि मेसुको जिम्मेवारी दिए । डा. दास भने झन्डै २० महिना मेसुको भूमिकामा रहेका थिए ।

यस्तै, ५ फागुन ०७८ मा पुनः स्वास्थ्यमन्त्रीमा विरोध खतिवडा आएसँगै हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डा. यज्ञराज खरेल मेसुमा नियुक्त भए । डा. खरेलले ६ महिना काम गर्दा—नगर्दै खतिवडाको पद धरापमा प¥यो । खतिवडाको ठाउँमा स्वास्थ्य मन्त्रीमा भवानी खापुङ नियुक्त भए । खापुङले डा. लक्ष्मीनारायण यादवलाई निमित्त मेसुको जिम्मेवारी दिए । डा. खरेल १५ भदौं ०७९ बाट अस्पतालको पुरानै जिम्मेवारीमा फर्किए ।

१६ भदौं ०७९ मा डा. यादवले मेडिकल सुपरिटेन्डेन्टको जिम्मेवारी पाएका थिए । डा. यादवले जिम्मेवारी पाएको छ महिना नबित्दै स्वास्थ्य तथा जनसंख्या मन्त्री पदम गिरीले उनको जिम्मेवारी खोसेका छन् । उनको ठाउँमा निमित्त मेसुको जिम्मेवारी डा. रविराज सिंहले पाएका छन् ।

यसअघि कोशीमा ३२ जना मेसु परिवर्तन भएका छन् । अस्पतालको रेकर्ड अनुसार कार्यालय प्रमुखको रूपमा पुस ०१८ सालमा डा. भरतराज वैद्य नियुक्त भएका थिए । उनले झन्डै १० वर्ष अस्पताल प्रमुखको रूपमा काम गरेको रेकर्ड छ । पछिल्लो समय भने अस्पतालमा हुने राजनीतिकरण र अदृश्य ढंगले हुने चलखेलका कारण अस्पताल प्रमुख १ वर्ष टिक्न पनि मुस्किल देखिएको छ ।

अस्पताल प्रशासनकाअनुसार पछिल्लो पटक डा. चुमनलाल दासले मात्रै एक वर्ष काम गर्न पाएका थिए । १ असार ०७७ मामेसुको जिम्मेवारी पाएका दास ४ फागुन ०७८ सम्म जिम्मेवारीमा थिए ।

साढे ३ सय शैय्याको कोशी अस्पतालमा दैनिक ओपीडिमा १ हजार देखि १ हजार पाँच सय बिरामीले स्वास्थ्य उपचार गर्ने गरेको अस्पतालको अभिलेखमा देखिन्छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ