२०८१ जेठ ५, शनिबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेश३ दशकदेखि पिउने पानीको समस्या झेल्दै डाँडाफयाबासी

३ दशकदेखि पिउने पानीको समस्या झेल्दै डाँडाफयाबासी


जुम्ला – विगत तीस वर्षदेखि हुम्लाको सिमकोट गाउँपालिका–७ डाँडाफयाका स्थानीय नागरिक पानीको समस्या झेल्दै आएका छन् । मानिसलाई सरसफाइ र पिउनका लागि पानी अति आवश्यकता पर्दछ । संविधानमा यो कुरालाई मौलिक हकका रूपमा राखिएको छ । तर तीन दर्शकदेखि नागरिकले यो समस्या झेल्दै आएका छन् ।

खानेपानी उपभोक्ता समितिमा बसेका पदाधिकारीको चरम लापरबाहीका कारण डाँडाफयाका स्थानीय नागरिक खाने पानीबाट वञ्चित भएका हुन् ।

लामो समयदेखि विभिन्न निकायमार्फत पर्दै आएका योजनाहरूमा गाउँमा रहेका उपभोक्ता समितिका पदाधिकारीहरूको चरम लापरबाहीकै कारण झन्डै तीस वर्षदेखि सिङ्गो गाउँ नै पानीको अभाव झेल्दै आएको स्थानीय रुद्र सिंहले गुनासो गरे ।

स्थानीय सिंहका अनुसार तीस वर्षको अवधिमा ७० घरधुरीका स्थानीय नागरिक खानेपानी बाट वञ्चित हुँदै आएका छन् । उनले भने “गाउँमा खानेपानीको बजेट नआएको हैन तर उपभोक्ता समितिका व्यक्तिले दिगोपना योजना नगराइँदा सो समस्या आएको हो ।” जसका कारण सोही गाउँका स्थानीय खानेपानीकै आशामा तीस वर्ष जीवन बिताउन बाध्य भएका छन् ।

त्यस्तै अर्का स्थानीय ल्वारे शाहीले पनि मुहानबाट पानी ल्याउनुको सट्टा गाउँका धारालाई पुनः निर्माण गर्ने भन्दै बजेट पचाउने काम गरेको आरोप लगाए । हाल गाउँमा १० ओटा धारा निर्माण भएका छन् तर ती सबै पानी विनाका धारा भएका छन् । गाउँपालिकालाई खानेपानी व्यवस्थाको अनुरोध गर्दा गाउँपालिकाले सो गाउँलाई खानेपानीको व्यवस्था धेरै पटक गरिसकिएको छ अब गर्न सकिन्न भनेर प्रतिक्रिया दिने गरेको छ । तर गाउँमा खानेपानीको चरम अभाव छ । शाहीले गुनासो गरे ।

उपभोक्ता समितिलाई बजेट अनुसारको काम भएन भनेर विरोध गर्नेलाई उल्टै धाक धम्की दिने गरेकाले स्थानीय चुपचाप बस्न बाध्य भएको शाहीको भनाई छ । हाल सो ठाउँका स्थानीय सोही वडाको अर्को टोलमा रहेको एउटा धाराबाट करिब एक घण्टा लगाएर पानी खान बाध्य भएका छन् । त्यो धारामा पनि १० लिटर ग्यालन भर्दा आधा घण्टा कुर्नुपर्ने बाध्यता रहेको स्थानीय लालबहादुर शाहीले गुनासो गरे ।

यस विषयमा खानेपानी उपभोक्ता समितिका अध्यक्ष दले शाहीलाई बुझ्दा उनले खानेपानीको आयोजना सम्पन्न भएको दशौँ वर्ष बितिसक्यो अब केही गर्न नसकिने प्रतिक्रिया दिए । त्यस्तै सिमकोट गाउँपालिका अध्यक्ष बिजय भण्डारीले पनि सो ठाउँका स्थानीय नागरिकका लागि केही गर्न नसकिने पछिल्लो वर्ष हेरफेर गर्न सकिने प्रतिक्रिया दिए ।


क्याटेगोरी : कर्णाली प्रदेश, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ