२०८१ वैशाख १४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठविशेष रिपोर्ट३२ करोड अनुदान फर्स्योट नभएका पहुँचवाला स्वास्थ्य संस्थालाई थप २४ करोड दिने तयारी

३२ करोड अनुदान फर्स्योट नभएका पहुँचवाला स्वास्थ्य संस्थालाई थप २४ करोड दिने तयारी


काठमाडौं–पहुँचका आधारमा पछिल्लो ५ वर्षदेखि अनुदान लिएर त्यसको फर्स्योट नगर्ने स्वास्थ्य संस्थालाई सरकारले थप २४ करोड रुपैयाँभन्दा बढी अनुदान दिने तयारी गरेको छ । अर्थ मन्त्रालयले गैरसरकारी संस्थाद्वारा सञ्चालन गरिएका स्वास्थ्य संस्थाहरुलाई पहुँचका आधारमा सिधैं शीर्षक छुट्याएर अनुदान तोकेको हो ।

पछिल्ला ५ वर्षमा सबैभन्दा बढी अनुदान लगेर पनि फर्स्योट नगरेको धुलिखेल अस्पताललाई चालु आर्थिक वर्षमा थप ८ करोड रुपैयाँ दिने तयारी सरकारले गरेको छ ।

स्वास्थ्य मन्त्रालय स्रोतका अनुसार सो अस्पतालले २०७४ सालदेखि पटक—पटक गरी ८ करोड ९४ लाख ४८ हजार रुपैयाँ अनुदान लगेर त्यसको फर्स्योट भइसकेको छैन । महालेखा परिक्षकले प्रत्येक वर्ष निकाल्ने बेरुजुमा सो उल्लखे हुँदै आएको छ । महालेखाले बेरुजु देखाएपनि चालु आर्थिक वर्षका लागि थप ८ करोड रुपैयाँ अनुदान पाउनेको लिष्टमा सो अस्पताल रहेको छ ।

त्यसैगरी, ठूलो अनुदान लिएर फर्स्योट नभई थप अनुदान पाउनेमा स्वास्थ्य संस्थामा चन्द्रनारायण मेमोरियल अस्पताल सिराहा रहेको छ । सो अस्पतालले ५ वर्षको अवधिमा पटक–पटक गरी ८ करोड ३ लाख ५६ हजार रुपैयाँ बेरुजु फर्स्योट हुन बाँकी छ । सो बेरुजु फर्स्योट हुन बाँकी रहेतापनि चालु आर्थिक वर्षका लागि थप १ करोड रुपैयाँ अनुदान पाउँदैंछ ।

डा. भगवान कोइरालाले नेतृत्व गरेर बनाउँदै गरेको काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थले अघिल्लो वर्ष अनुदान लगेको २ करोड २९ लाख रुपैयाँको फर्स्योट नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । सो फर्स्योट नहुँदै चालु आवका लागि थप ५ करोड रुपैयाँ पाउने निश्चित भइसकेको छ ।

बनेपामा रहेको एचआरडिसीको ४ करोड रुपैयाँ बेरुजु देखिएको छ । सो संस्थाले पनि यस वर्ष १ करोड रुपैयाँ अनुदान पाउने पक्कापक्की भएको छ । साँखुमा रहेको सुस्मा कोइराला मेमोरियल अस्पतालको पुरानो बेरुजु २ करोड ३५ लाख १० हजार रुपैयाँ छ । यस वर्ष थप ५० लाख रुपैयाँ अनुदान थपिदैंछ ।

रेयुकाई मासुनागा आँखा अस्पतालको २ करोड ३७ लाख ५६ हजार रुपैयाँ पुरानो बेरुजु रहेको छ । तर, यस वर्ष थप ७५ लाख रुपैयाँ अनुदान पाउँदैंछ । त्यसैगरी, मन्त्रालयले उपलब्ध गराएको तथ्यांकअनुसार नेपाल मेडिकल एसोसिएसनको पुरानो बेरुजु १ करोड १४ लाख ३० हजार रुपैयाँ फर्स्योट भएको छैन । चालु आबको लागि अर्थले अनुदान पाउने लिष्टमा एसोसिएसनलाई थप २५ लाख उपलब्ध गराइएको छ ।

कुन संस्थाको कति बेरुजु


क्याटेगोरी : विशेष रिपोर्ट, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ