२०८१ वैशाख १२, बुधबार
Health Aawaj logo
गृहपृष्ठसमाचारन्याम्सको उपकुलपतिका लागि माओवादीबाट दुई र कांग्रेसबाट एक जनाको दावी

न्याम्सको उपकुलपतिका लागि माओवादीबाट दुई र कांग्रेसबाट एक जनाको दावी


काठमाडौं—चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स), वीर अस्पतालको उपकुलपतिका लागि तीन जना दाबेदारहरुले लबिइङ सुरु गरेका छन् । ३० चैतमा उपकुलपति प्रा.डा. डिएन शाहको ४ वर्षे कार्यकाल सकिएसँगै न्याम्सको उपकुलपति पद रिक्त बनेको छ ।

सहकुलपतिको सिफारिसमा कुलपतिले नियुक्त गर्नुपर्ने उपकुलपति पदको नियुक्ति तत्काल सहकुलपति नभएका कारण रोकिएका हो । नेपाल सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्री वा राज्यमन्त्री न्याम्सको सहकुलपति रहने व्यवस्था छ ।

मन्त्रिपरिषद् विस्तार नभइसकेका कारण र उपराष्ट्रपति निर्वाचन कारण आचारसंहितासमेत लाग्ने हुँदा निमित्त उपकुपतिको जिम्मेवारी पनि कसैलाई दिइएको छैन ।

स्वास्थ्य मन्त्रालयसमेत आफैसँग राखेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उपराष्ट्रपतिको निर्वाचन सकिनासाथ अस्पतालकै ११ औं तहका चिकित्सक डा. विनोद थापालाई निमित्त उपकुलपति दिने तयारी गरेका छन् ।

तर, देशकै प्रमुख प्रतिष्ठानमा पर्ने न्याम्सको ४ वर्षे उपकुलपतिका लागि भने सत्तासाझेदार दल नेपाली कांग्रेस र माओवादी केन्द्रबीच हानथाप छ ।

न्याम्सको उपकुलपति पद भागवण्डामा नेपाली कांग्रेस भागमा परेमा सर्वसम्मत रुपमा प्रा.डा. भुपेन्द्र बस्नेतको पोल्टामा पर्ने कांग्रेसनिकट चिकित्सकहरु बताउँछन् । ‘हिजो नेपाल चिकित्सक संघको अध्यक्षबाट ब्याक गराउँदा नै डा. भुपेन्द्रलाई न्याम्सको भिसीको बचन दिइसकिएको छ,’ कांग्रेस निकट एक चिकित्सकले भने, ‘अहिले आएर धोका दिनु हुँदैन् । हाम्रो भागमा परेमा न्याम्सको भिसी उहाँ नै हुने हो ।’

तर, कांग्रेसभित्रै डा. बस्नेतले पटक—पटक अवसर पाएको र न्याम्सभित्रै पनि कांग्रेसनिकट अरु पनि अब्बल चिकित्सकहरु रहेको भन्दैं केही चिकित्सकहरु उनको विकल्प खोज्नुपर्ने पक्षमा छन् । डा. बस्नेतले एक कार्यकाल वीर अस्पतालको कार्यकारी निर्देशक र दुई वर्ष कोभिड—१९ युनिफाइड केन्द्रीय अस्पताल (वीर अस्पताल) निमित्त प्रमुख प्रशासकीय अधिकृत भइसकेका छन् । त्यसअघि उनी नेपाल चिकित्सक संघको महासचिव थिए ।

वीर अस्पतालले खरिद गरेर संचालन गर्न नसकेको ३९ करोड रुपैयाँको टोमो थेरापी मेसिन खरिदको सिफारिस डा. बस्नेतले नै गरेका थिए । गगन थापा स्वास्थ्यमन्त्री भएका बेला भौतिक संरचना र जनशक्ति नै तयार नगरि हचुवाका भरमा खरिद गरिएको सो मेसिन किन्ने कुराको अगुवाई तत्कालीन भिसी डा. गणेश गुरुङले गरेका थिए । जनताको करबाट किनिएको त्यति महंगो मेसिन अहिले बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालको चौरमा खिया लागेर काम नलाग्ने अवस्थामा पुगेको छ ।

यता माओवादी निकट चिकित्सकहरुले पनि न्याम्स भिसी आफूहरुले लिनुपर्ने भन्दैं प्रधानमन्त्रीमाथि दबाब बढाएका छन् । माओवादी केन्द्रमा दह्रो पकड राख्ने चिकित्सकहरुले नै सो पदका आकांक्षी देखिएपछि प्रधानमन्त्री दाहाल पनि दबाबमा परेको बालुवाटार स्रोतको दावी छ ।

माओवादीबाट महाराजगन्ज मेडिकल क्याम्पसका पूर्व प्रमुखसमेत रहेका प्रा.डा. रतिन्द्र श्रेष्ठ र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट प्रमुख विशेषज्ञ (१२ औं तह)बाट अवकासप्राप्त डा. गुणराज लोहनीले दावी गरेका छन् । माओवादीनिकट स्वास्थ्यकर्मीहरुले पनि स्वास्थ्य मन्त्रालयअन्तर्गतको प्रतिष्ठान भएको र आर्थिक तथा कुनै पनि लाभको पदमा विवादमा नपरेका डा. लोहनीलाई नै अगाडि सारेको छ । डा. लोहनी काम गर्ने र हक्की स्वभावका चिकित्सक मानिन्छ ।

डा. लोहनी वीर अस्पताल र न्याम्सलाई अलग—अलग बनाएर दुवै संस्थालाई फरक रुपमा विकास गर्नुपर्ने धारणा राख्दैं आएका छन् ।

डा. लोहनीका लागि डा. रतिन्द्रको विवादास्पद पृष्ठभूमी पनि सहज हुन सक्छ । गोविन्द केसीका अनशनका कटु आलोचक मानिने उनी अहिले काठमाडौं मेडिकल कलेजका प्रिन्सिपल छन् । डा. श्रेष्ठ महाराजगन्ज क्याम्पसमा हुँदा प्रश्न पत्र बाहिरिएको प्रकरणमा संलग्न भएको आरोप लाग्ने गरेको छ ।

वीर अस्पतालका पूर्व निर्देशक प्रा.डा. बुलन्द थापाले पनि न्याम्सको भिसीका लागि रुचि देखाएका छन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ