२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारनेपाल क्यान्सर हस्पिटलले दुई वर्षभित्र डेढ सय करोड लगानी थप गर्ने

नेपाल क्यान्सर हस्पिटलले दुई वर्षभित्र डेढ सय करोड लगानी थप गर्ने

अंकोलोजी नर्सिङ र पारामेडिक्स अध्यापनसहित सेवा र प्रविधी विस्तार गर्ने तयारी


काठमाडौं—ललितपुर हरिसिद्धीस्थित नेपाल क्यान्सर हस्पिटलले दुई वर्षभित्र डेढ सय करोड लगानी थप गर्ने भएको छ । अस्पतालका कार्यकारी अध्यक्ष डा. सुदिप श्रेष्ठकाअनुसार अस्पतालको क्षमता, सेवा विस्तार, एकेडेमिक कार्यक्रम सुरुवात र नयाँ प्रविधी थप गर्नका लागि दुई वर्षभित्र डेढ सय करोड लगानी थप्ने बाटोमा अस्पताल अगाडि बढेको छ ।

‘हाम्रो योजनाअनुसार अस्पतालको क्षमता र सेवा विस्तार, एकेडेमिक कार्यक्रम संचालन र नयाँ प्रविधीहरु संचालनका लागि दुई वर्ष भित्र डेढ सय करोड लगानी थप्नुपर्ने छ,’ उनले भने, ‘यसका लागि सेयरहोल्डर, विदेशी लगानी तथा अन्य स्रोतहरु खोज्दैछौं ।’

ओपीडीमा दैनिक औसत २०० जना बिरामीलाई सेवा दिदैं आएको यो क्यान्सर अस्पताल अहिले १०० शैय्याको छ । यसलाई आगामी वर्षभित्र १५० शैय्या र दुई वर्षभित्रमै ३०० शैय्यासम्म पु¥याउने योजना व्यवस्थापनको छ । त्यस्तै, दुई तीन वर्षमै क्यान्सर उपचारका लागि चाहिने सबस्ट्यान्टका सेवाहरुलाई विस्तार गर्ने पनि योजनामा अस्पताल जुटेको छ । जसमा पेट, फोक्सो र हड्डीलगायत क्यान्सरका लागि चाहिने स्पेसियालिटी सेवा थप्ने तयारी छ ।

केही वर्षयता क्यान्सरका लागि अन्तर्राष्ट्रियस्तरमा विभिन्न नयाँ प्रविधिहरु थपिइसकेका छन् । ती प्रविधीहरु भित्र्याउनका लागि नेपाल क्यान्सर अस्पतालले निकट भविष्यमै कामहरु सुरु गर्दैछ । यस्तै, क्यान्सरका बिरामीहरुको उक्लदों ग्राफलाई मध्यनजर गर्दै शैय्या अभाव हुन नदिन क्षमता विस्तार गर्ने अस्पतालले जनाएको छ । ‘यी चुनौतीहरुलाई पूरा गर्नका लागि हामीले अबको दुई वर्ष भित्रमा अस्पताललाई अपडेट गर्ने हाम्रो निर्णय भएको छ,’ डा. श्रेष्ठले व्यवस्थापनको निर्णयबारे भने, ‘त्यो अनुसार कार्यक्रमहरु थप्ने पनि निर्णय गरेका छौं ।’

मेडिकलतर्फ बोनम्यारो ट्रान्सप्लान्ट सम्बन्धी सेवाहरु अबको ६–८ महिनामा अस्पतालले सुरु गर्ने तयारी गरेको छ भने सर्जरीतर्फ क्यान्सरमा भइरहेको रोबोटिक सर्जरी प्रविधीलाई केही भित्र्याउने योजना बनाइरहेको छ । विश्वभर चर्चा कमाएको यो प्रविधी दक्षिणी छिमेकी मुलुक भारतले समेत प्रयोगमा ल्याइसकेको छ । तर, हालसम्म नेपालमा भने यो प्रविधी भित्रिसकेको छैन । त्यस्तै, क्यान्सरको लेजर थेरापी सेवालाई अझै एड्भान्स गराउन आवश्यक लगानी र प्रविधिको व्यवस्था गर्दै यही वर्ष भित्रमा यो सेवालाई अपग्रेड गर्ने लक्ष्य अस्पतालको छ ।

नेपाल क्यान्सर अस्पतालले नर्सिङ र पारामेडिक्सतर्फका केही शैक्षिक कार्यक्रमहरु पढाउनका लागि पनि तयारी गरिरहेको छ । ‘क्यान्सर अस्पतालमा काम गर्ने दक्ष नर्सहरुको अभाव छ । यहाँका नर्सहरु केही समय काम गरेपछि विदेश पलायन हुने प्रवृत्ति बढेको छ,’ डा. श्रेष्ठले भने, ‘क्यान्सर अस्पतालमा काम गर्न आवश्यक ट्रेनिङको पनि अभाव भएकाले यो गर्न आवश्यक छ । त्यसका लागि अंकोलोजी नर्सिङको अध्यापनका लागि पहल अगाडि बढाएका छौं ।’

त्यस्तै, क्यान्सर रोगसँग सम्बन्धित टेक्नोलोजीमा आधारित पारामेडिक्स कार्यक्रम पनि संचालन गर्ने उनले जानकारी दिए । ‘यस्तो जनशक्तिका अभावको कारण नेपालमा उपचारका लागि भारतबाट समेत बोलाउनुपर्ने अवस्था रहेको छ,’ उनले थपे, ‘यी कार्यक्रमहरु एक वर्ष भित्रमा सुरु गर्ने योजना छ ।’

उनले डाइग्नोसिसतर्फ उच्च प्रविधियुक्त मोलिक्युर ल्याबको अभाव नेपाल रहेको बताउँदैं त्यस्तो प्रयोगशाला संचालनको पनि नेपालमा आवश्यकता रहेको उल्लेख गरे । मोलिक्युलर ल्याबको अभावमा अहिले करोडौंको परीक्षण बाहिरिइरहेको उनले बताए ।

क्यान्सरको सम्पूर्ण उपचार एकै छातामुनि गर्ने उद्देश्यका साथ ८ वर्षअघि नेपाल क्यान्सर अस्पताल स्थापना भएको थियो । ‘अस्पतालले समुदायमा क्यान्सरका लागि गर्नुपर्ने कामहरु, गरिब बिरामीलाई दिने सेवा, एकेडेमिक रिसर्चमा सेवा दिने हाम्रो प्रतिबद्धताअनुसार नै हामी कामहरु गरिररहेका छौं,’ क्यान्सर रोग विशेषज्ञ समेत रहेका डा. श्रेष्ठले भने, ‘यति समयमा हामीले मेडिकल र सर्जरीतर्फका धेरै कुराहरु हासिल गरेका छौं ।’


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ