२०८१ वैशाख १३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसमाचारजनरल सेवा विस्तारपछि डायलाइसीस सेवामा केन्द्रीत संक्रामक अस्पताल

जनरल सेवा विस्तारपछि डायलाइसीस सेवामा केन्द्रीत संक्रामक अस्पताल

२५ शैय्याबाट सेवा दिइने डायलाइसीस केन्द्रका लागि ३ दर्जन स्वास्थ्यकर्मी माग


पोखरा—गण्डकी प्रदेश मातहतको संक्रामक तथा सरुवा रोग अस्पतालले २५ शैय्याबाट डायलाइसीस सेवा सञ्चालन गर्न लागेको छ । प्रदेश सरकार सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयको सहयोगमा अस्पतालमा डायलाइसीस केन्द्र सञ्चालन गर्न लागिएको अस्पतालका निर्देशक डा. विकास गौचनले जानकारी दिए ।

प्रदेश सरकार स्वास्थ्य मन्त्रालयबाट प्राप्त सहयोगमा सुरुमा २५ मेसिनबाट डायलाइसीस सेवा दिने गरी काम थालिएको डा. गौचनले बताए । ‘हामीले ६० सिट क्षमता बनाउँछौं । २५ डायलाइसीस बेड हुन्छ, ५ बेड इमर्जेन्सी र बाँकी जनरल बेड रहन्छन्,’ उनले भने ।

मेसिन खरिदका लागि टेन्डरको तयारी गरिएको छ भने ३४ जना थप स्वास्थ्यकर्मी माग गरिएको छ । सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयद्वारा प्रकाशित सूचना अनुसार विभिन्न तहका स्वास्थ्यकर्मी माग गरिएको छ ।

अस्पतालमा सबैभन्दा बढी २० जना स्टाफ नर्स माग गरिएको छ । यस्तै, ल्याब टेक्निसियन, फार्मेसी सहायक, रेडियोग्राफर २÷२ जना माग गरिएको छ । नेफ्रोलोजिस्ट, हेल्थ असिस्टेन्ट र बायोमेडिकल टेक्निसियन १÷१ जना माग भएको छ । मागबमोजिम उम्मेदवारी दिन चाहनेले वैशाख ३ गतेभित्र दरखास्त दिनुपर्नेछ ।

निर्देशक डा. गौचन अस्पतालमा विशेषज्ञ चिकित्सकहरुको प्रत्यक्ष निगरानीमा २४ सैं घण्टा आकस्मिक सेवा सञ्चालन गरिएको बताउँछन् । बहिरंग सेवा, र बिस्तारित अस्पतालसमेत सञ्चालन गरिएको छ ।

विस्तारित सेवाका लागि भने अस्पताल पुग्ने बिरामीले छुट्टै शुल्क तिर्नुपर्छ । तर, त्यो शुल्क बिहान १० बजेअघि र दिउँसो ३ बजेपछिका लागि तोकिएको हो ।

अस्पतालमा हाल ५१ जना कार्यरत छन् । निर्देशक डा. गौचनका अनुसार विशेषज्ञ डा. २ जना, मेडिकल अफिसर ४ जना छन् भने १४ जना स्टाफ नर्स छन् । ल्याबमा ७, फार्मेसीमा ४, स्वास्थ्यकर्मी ३, नेत्र सहायक १ छन् भने सरसफाइ, सवारी चालकलगायतमा कार्यरत छन् ।

जनरल सेवा सञ्चालनमा ल्याएपछि बिरामीको चाप बढेको छ भने कोभिडविरुद्धको फाइजर खोप लगाउनेको भीड लागको छ ।

कोभिड महामारी संक्रामक तथा सरुवा रोग उपचारका लागि विशेष अस्पतालको रुपमा स्थापित संक्रामक तथा सरुवा रोग अस्पतालले चैत १२ मा सूचना प्रकाशित गरी पूर्ण रुपमा जनरल स्वास्थ्य सेवा सुरु गरेको जनाएको थियो ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ