२०८१ असार ७, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसमाचारन्याम्सको आंगिक अस्पतालको रुपमा भेरीमा एमडी/एमएसको पढाइ सुरु हुँदैं

न्याम्सको आंगिक अस्पतालको रुपमा भेरीमा एमडी/एमएसको पढाइ सुरु हुँदैं


नेपालगन्ज—नेपालगन्जको भेरी अस्पतालमा यसै शैक्षिक सत्रदेखि एमडी/एमएस तहको पढाइ सुरु हुने भएको छ । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) को आंगिक अस्पतालको रुपमा नेपालगन्जको भेरी अस्पतालमा एमडी/एमएस पढाइ सुरु हुन लागेको हो ।

१० चैतका मन्त्रिपरिषद्को बैठक काठमाडौंको चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स), वीर अस्पतालको आंगिक अस्पतालको रुपमा भेरी अस्पताललाई शैक्षिक कार्यक्रम सुरु गर्न दिने निर्णय गरेको थियो । आंगिक अस्पतालका मान्यता पाएसँगै भेरी अस्पतालले जनरल मेडिसिन, हाडजोर्नी, स्त्री तथा प्रसुती, चर्म, मानसिक रोग विभागमा यसै वर्षदेखि एमडी/एमएस तहको पढाइ सुरु गर्ने तयारी गरेको छ ।

कुन बिभागमा कति सिट तोकिन्छ भन्ने अझै एकिन नभएपनि सबै विभागमा गरेर करिब १५ जना विद्यार्थीलाई एमडी/एमएस तहको पढाइ संचालन गर्न भेरी अस्पतालसंग साधन, स्रोत र जनशक्ति रहेको भेरी अस्पताल नेपालगन्जका प्रमुख कन्सल्टेन्ट फिजिसियन डा. राजन पाण्डेले बताए ।

एमडी/एमएसमा अध्ययनरत चिकित्सकले आफू अध्ययनरत अस्पतालबाहेक अन्य निजी अस्पतालमा काम गर्न पाउँदैनन् । उनीहरुले आफ्नो सम्पूर्ण समय, ध्यान अस्पताल र बिरामीको उपचारमै केन्द्रित गर्ने भएका कारण अस्पतालमा आउने बिरामीले सहज रुपमा उपचार सेवा पाउनेछन् । पढाइ सुरु हुँदा शैक्षिक तथा अनुसन्धानका गतिविधिहरु बढनुका साथै अस्पतालको सेवा प्रवाहमा गुणात्मक सुधार हुने डा. पाण्डेले बताए ।

केन्द्रीय अस्पतालको रुपमा रहेको भेरी अस्पतालले मेडिसिन, हाडजोर्नी, स्त्री तथा प्रसुती, सर्जरी, मुटु, चर्म, दन्तरोग, नाक, कान, घाटी, बालरोग, मानसिक रोग, ग्याष्ट्रो सर्जरी, आँखालगायतका १२ किसिमको रोगका बिरामीहरुका लागि विशेषज्ञ सेवा दिदैं आएको छ ।

अस्पतालमा ५९ जना चिकित्सक कार्यरत छन् । तीमध्ये बिरामीको शल्यक्रिया गरेर उपचार गर्ने कन्सल्टेन्ट सर्जन २३ जना छन् । अस्पतालले जनरल सर्जरी, प्रसुती, हाडजोर्नी, नसा, मुत्ररोग, नाक, कान, घाटी रोगको शल्यक्रियासहितको उपचार सेवा दिदैं आएको छ । पश्चिम नेपालको रेफरल अस्पतालको रुपमा रहेको भेरी अस्पतालमा दैनिक ७ सयसम्म बिरामी उपचारका लागि ओपीडीमा आउने गरेका छन् ।

हाल १ सय ६२ शैय्या मात्रै संचालनमा रहेको भेरी अस्पताललाई ५ सय शैय्याको अस्पताल बनाउनका करिब ३४ करोडको लागतमा २ सय ४० शैय्याको सुविधासम्पन्न भवन निर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ