२०८१ साउन ३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशबजेट नहुँदा महावु अस्पताल निर्माण अनिश्चित

बजेट नहुँदा महावु अस्पताल निर्माण अनिश्चित


सुर्खेत – दैलेखको महावु अस्पताल भवन अलपत्र छ । रु.४ करोड ८२ लाख रुपियाँ लागत अनुमान अनुसारको बजेट अपुग हुँदा अलपत्र परेको हो ।

रु.४ करोड ६४ लाख रुपियाँमा भवन निर्माण कार्य सम्पन्न गर्न आंशु जयमा स्वर्गद्वारी कम्पनीले ठेक्का सम्झौता गरेको थियो । २०७७ असार १७ गते सम्झौता भएकोमा २०७८ असार मसान्तभित्र काम सम्पन्न गरिसक्नुपर्ने हो । सम्झौता अवधि सकिए पनि भवनको फिनिसिङ तथा रंगरोगनको काम भने अझै बाँकी छ ।

रनिङ्ग विल भुक्तानीका लागि प्राविधिक मूल्याङ्कन अनुसारको रुपियाँ नपाएपछि काम रोकिएको निर्माण कम्पनीले जनाएको छ । ठेक्का बमोजिमको रकम सुनिश्चित नहुँदा काम सम्पन्न हुन नसकेको पूर्वाधार विकास कार्यालय दैलेखले जनाएको छ ।

सांसद पूर्वाधार विकास कार्यक्रम अन्तरगत अस्पतालको भवन निर्माणका लागि बजेट विनियोजन गरिएको थियो । त्यति बेला अम्मरबहादुर थापा कर्णाली प्रदेश सभा सदस्य थिए । आर्थिक वर्ष २०७७/७८ मा रु. २ करोड र आर्थिक वर्ष २०७८/०७९ मा रु.१ करोड ४० लाख रुपियाँ विनियोजन भएको थियो । त्यसमध्ये पूर्वाधार विकास कार्यालयले ठेक्का कम्पनीलाई रु. २ करोड ८५ लाख रुपियाँ मात्रै भुक्तान गर्न सक्यो । त्यसबाहेक काम अनुसारको थप रकम भुक्तानी दिन नसकिएको कार्यालय प्रमुख प्रभाकरप्रसाद सिंहले बताए ।

योजना किताबमा बजेट लेखिए पनि रकम सुनिश्चित नहुँदा थप समस्या भएको उनको भनाई छ । त्यसपश्चात् अधुरो काम सम्पन्न गर्न प्रदेश सरकारद्वारा थप रकम विनियोजन हुनुपर्नेमा उक्त भवन निर्माणका लागि चालु आर्थिक वर्षमा कुनै पनि रकम नभएको कार्यालय प्रमुख सिंहले बताए ।


क्याटेगोरी : कर्णाली प्रदेश, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ