२०८१ वैशाख १४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारवायु प्रदुषणका कारण १५ दिनमै कालो भयो स्वास्थ्य मन्त्रालयले राखेको फोक्सो

वायु प्रदुषणका कारण १५ दिनमै कालो भयो स्वास्थ्य मन्त्रालयले राखेको फोक्सो


काठमाडौं – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जडान गरेको एक जोडी कृत्रिम फोक्सो १५ दिनमै कालो भएको छ । वायु प्रदूषणले मानव स्वास्थ्यमा पार्ने असरबारे जनचेतना जगाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विश्व स्वास्थ्य दिवसको अवसर पारेर २०७९ चैत्र २४ (२०२३ अप्रिल ७) का दिन हेपा फिल्टरबाट बनेको कृत्रिम फोक्सो मन्त्रालयको मुलद्वारमा जडान गरेको थियो ।

उक्त जानकारी मन्त्रलयले शुक्रबार एक प्रेस विज्ञप्तीमार्फत दिएको हो । यसले वायु प्रदूषणबाट मानव स्वास्थ्यमा पार्ने गम्भीर असरलाई बुझ्न सहज भएको छ । छोटो अवधिमै फोक्सो कालो भएपछि मन्त्रालयले विश्व स्वास्थ्य दिवसको अवसरमा जडान गरिएको उक्त कृत्रिम फोक्सो पृथ्वी दिवसको अवसरमा त्यहाँबाट सारेर यो पन्ध्र दिनमा आएको परिवर्तनलाई तस्विरका माध्यमले बुझाउन विभिन्न स्थानमा जनचेतनामुलक अभियानका लागि प्रयोगमा ल्याउने योजना बनाएको विज्ञप्तीमा जनाइएको छ।

यसका लागि आज काठमाडौंका सामुदायिक विद्यालयका विद्यार्थीहरूले वायु प्रदूषणले फोक्सोमा पार्ने असर बारे जानकारी दिन र परीक्षणद्वारा उनीहरुको फोक्सोको जाँच गरी सचेतना सम्बन्धि एक कार्यक्रमको आयोजना गरी उक्त कृत्रिम फोक्सो जडान गरिएको स्थानबाट निकालिएको छ ।

नेपालमा वायु प्रदुषणको मुख्य कारणमा सवारी साधनबाट निस्कने धुवाँ, धुलो, औद्योगिक कल कारखानाबाट हुने उत्सर्जन, जंगलमा लाग्ने डढेलोको साथै घर, रेष्टुरेन्ट तथा होटल व्यवसायबाट हुने उत्सर्जन र उर्जाका रुपमा काठ, दाउरा, कोइला, ब्रिकेटको आदिको प्रयोग रहेका छन् ।

प्रदुषित वायुमा कार्बन मोनोअक्साइड, ओजोन, नाइट्रोजन डाइअक्साइड र सल्फर डाइअक्साइड जस्ता हानिकारक सूक्ष्म कण समेत समावेश हुन्छन् । वायु प्रदूषणले श्वासप्रश्वास सम्बन्धी स्वास्थ्य समस्याहरुका साथै हृदयघात, मतिष्कघात, आँखा, छाला सम्बन्धी रोग र क्यान्सर समेत निम्त्याउने गरेको छ । वायु प्रदूषण मृत्युको प्रमुख कारकहरु मध्ये एक रहेको छ ।

प्रदुषित वायुले सबै उमेर समुह र वर्गलाई प्रभावित गर्ने भए पनि बालबालिकाको फोक्सो विकसित भई नसकेकोले वायु प्रदुषणले उनीहरुको फोक्सोमा बढी प्रभाव पार्छ । वायु प्रदूषणको नकारात्मक प्रभावहरूबारे चेतना जगाउन र जनमानसमा वायु प्रदूषणबाट आफूलाई बचाउन ठोस कदम चाल्न पर्ने हुन्छ ।

मन्त्रालयले विज्ञप्तीमा तत्काल यसको समाधानका लागि मास्क लगाउने, अत्यधिक प्रदूषित क्षेत्रहरूबाट टाढा रहने, विद्युतीय चुलो र सवारी साधनको प्रयोग गर्ने, फोहोर नजलाउने जस्ता कार्य गर्न सुझाएको छ। त्यस्तै, दीर्घकालिन रुपमा व्यवस्थित शहरीकरण, नविकरणिय उर्जा प्रयोग, रुख विरुवा लगाउने जस्ता कार्य गरी वायु प्रदूषण कम गर्न सक्ने जनाएको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ