२०८१ वैशाख १४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचार१० महिनामा स्वास्थ्यको बजेट ३८ प्रतिशत खर्च

१० महिनामा स्वास्थ्यको बजेट ३८ प्रतिशत खर्च


काठमाडौं–स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र मातहतका निकायको पछिल्लो १० महिनामा जम्मा ३८ प्रतिशत बजेट खर्च भएको छ । स्वास्थ्य मन्त्रालय स्रोतले दिएको जानकारीअनुसार पुजीगत खर्चतर्फ ४९ प्रतिशत र चालुतर्फ ३४ दशमलव ५ प्रतिशत खर्च भएको हो ।

सरकारले आर्थिक वर्ष २०७९/८० का लागि स्वास्थ्य मन्त्रालयलाई ६९ अर्ब ३८ करोड २० लाख रुपैयाँ विजियोजन गरेको थियो । जसमा १४ अर्ब ५३ करोड रुपैयाँ पुजीगत खर्च तर्फ थियो भने ५४ अर्ब ४८ करोड रुपैयाँ चालु खर्चका लागि छुट्याइएको थियो ।

जसमा पुजीगततर्फ ७ अर्ब १४ करोड ४१ लाख रुपैयाँ खर्च भएको छ भने चालु तर्फ १८ अर्व ९४ करोड १२ लाख रुपैयाँ खर्च भएको छ ।

चालु खर्चमा स्वास्थ्य बिमा बोर्डको ७ अर्ब ५० करोड रुपैयाँ पनि जोडिएको छ । जसको ९८ प्रतिशत खर्च भइसकेको उल्लेख छ । यस वर्ष पुजीगत खर्च बढी देखिनु सरकारले निर्माण गर्दै गरेका ३ सय ९६ आधारभूत अस्पतालको रकम पनि रहेको मन्त्रालयका अधिकारीहरु बताउँछन् ।

‘यस वर्ष पुजीगत खर्च बढी देखिनुको प्रमुख कारण स्थानीय तहमा निर्माणाधीन आधारभूत अस्पतालको रकम निकासा प्रमुख कारण हो,’ मन्त्रालयका ती अधिकारीले भने, ‘चालु खर्च कम हुनुमा सरकारले पछिल्लो समय कटौती गरेको बजेटको परिणाम हो ।’

मन्त्रालय र मातहतका निकायमध्ये स्वास्थ्य क्षेत्र सुधार कार्यक्रमको बजेट खर्च नै नभएको देखिन्छ । त्यसैगरी कोभिड—१९ रोकथाम कार्यक्रमको बजेट पनि खर्च भएको छैन । बजेट कम खर्च हुनेमा राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना केन्द्र, एड्स तथा यौन रोग नियन्त्रण केन्द्र, क्षयरोग नियन्त्रण केन्द्र, उपचारात्मक सेवा कार्यक्रम रहेका छन् ।

अधिकांश तोकिएको बजेट खर्च गर्नेमा स्वास्थ्य विज्ञान प्रतिष्ठानहरु रहेका छन् । उनीहरुको बजेट खर्च ६० प्रतिशत माथि रहेको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ