काठमाडौं—चितवनको भरतपुरस्थित विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको अध्यक्षमा प्रा. डा. योगेन्द्रप्रसाद सिंह नियुक्त भएका छन् । बुधबार सरकारले वरिष्ठ क्यान्सर रोग विशेषज्ञ प्रा. डा. सिंहलाई अस्पतालको अध्यक्षमा नियुक्त गरेको स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सह—प्रवक्ता डा. समिरकुमार अधिकारीले जानकारी दिए ।
‘बुधबार उहाँ (प्रा.डा. सिंह)लाई सरकारले विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको अध्यक्षमा नियुक्त गरेको हो,’ डा. अधिकारीले हेल्थआवाजसँग भने ।
नवनियुक्त अध्यक्ष प्रा.डा. सिंह त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थानका पूर्व प्राध्यापक हुन् । उनी वरिष्ठ कन्सल्ट्यान्ट सर्जिकल अंकोलोजिष्ट हुन् ।
१५ जेठमा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको अध्यक्ष नियुक्तिको प्रक्रिया अगाडि बढाएको थियो । जसमा ८ जनाको आवेदन परेको थियो ।
जसबाट डा. सिंहसहित डा. विजयचन्द्र आचार्य र डा. अजयकुमार झाको नाम नियुक्तिका सिफारिस भएको थियो ।
विपी कोइराला मेमोरियल क्यान्सर अस्पताल ऐन, २०५३ मा मान्यताप्राप्त शिक्षण संस्थाबाट चिकित्साशास्त्र विषयमा कम्तिमा स्नातकोत्तर हासिल गरी क्यान्सर रोगको क्षेत्रमा कम्तिमा १५ वर्ष काम गरेको वा स्वास्थ्य क्षेत्रमा कम्तिमा २० वर्षको अनुभव प्राप्त वरिष्ठ चिकित्सकलाई अध्यक्षमा नियुक्त गर्न सक्ने व्यवस्था छ ।