२०८१ वैशाख ११, मंगलबार
Health Aawaj logo
गृहपृष्ठसमाचारगोदानमा डा. समाजको नेतृत्वमा नयाँ कार्यसमिति, नेतृत्व चयन प्रक्रिया विवादमा

गोदानमा डा. समाजको नेतृत्वमा नयाँ कार्यसमिति, नेतृत्व चयन प्रक्रिया विवादमा

१ हजार १ सय जना सदस्य रहेको गोदानको नेतृत्व चयन प्रक्रियामा ५९ जनामात्रै सहभागी


काठमाडौं—सरकारी चिकित्सक संघ, नेपाल (गोदान)मा डा. समाज गौतमको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ । आइतबार वीर अस्पतालमा भेला भएका सरकारी चिकित्सकहरुले डा. गौतमको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेका हुन् ।

कार्यसमितिको नयाँ अध्यक्षका लागि निर्वाचन गराइएतापनि त्यो विवादरहित भने रहन सकेन । डा. गौतमले र डा. ऋषिकान्त अर्याल प्रतिस्पर्धामा रहेका थिए । जसमा डा. गौतम निर्वाचित भए ।

यसैगरी, वरिष्ठ उपाध्यक्षमा डा. क्षितिज सापकोटा, उपाध्यक्षमा डा. विप्लव घिमिरे, महासचिवमा डा. विजयबाबु, सचिवमा डा. विप्लव सापकोटा, कोषाध्यक्षमा डा. राकेश मिश्र चयन भएका छन् । सदस्यहरुमा डा. विराट शर्मा, डा. कपिल गौतम, डा. सुरेश महर्जन, डा. प्रकाश ढकाल, डा. सचिन यादव, डा. अमृत पन्थी, डा. रोशन ग्वाछा, डा. देवराज कँडेल र डा. कुशल खनाल चयन भए ।

नयाँ कार्यसमिति चयन गर्नका लागि निर्वाचनबारे छलफल गर्न साधारणसभा भनेर बोलाइएको भेलामा उपस्थिती केही चिकित्सकहरुले नयाँ नेतृत्व चयन गर्ने प्रक्रिया अगाडि बढाएका थिए । त्यसमा अध्यक्षका प्रत्यासी रहेका डा. सुशीलमोहन भट्टराईले असहमति जनाएका छन् । डा. भट्टराई निवर्तमान कार्यसमितिका उपाध्यक्ष हुन् ।

निर्वाचन गराउने र निर्वाचन समिति बनाउने कुरामा छलफल गर्नुको साटो नयाँ नेतृत्व चयन गर्ने प्रक्रिया अगाडि बढाइएपछि डा. भट्टराई र उनीपक्षीय चिकित्सकहरुले त्यसमा तीब्र असन्तुष्टि जनाएका छन् । ‘निर्वाचनका लागि छलफल गर्ने भनेर एजीएम बोलाइएको थियो,’ डा. भट्टराईले भने, ‘एजीएमले निर्वाचन गर्ने समिति बनाउने हो । एजीएमबाट नयाँ कार्यसमिति बन्न सक्दैनन् ।’ उनले देशभरका एक हजार १ सय बढी चिकित्सकको वीर अस्पतालमा जम्मा भएका ४०—५० जनाले प्रतिनिधित्व गर्न नसक्ने दावी गरे ।

डा. भट्टराईले उक्त समग्र प्रक्रियाप्रति नोट अफ डिसेन्ट राखेका छन् । ‘गोदान देशभरिका चिकित्सकहरुको साझा संस्था हो । कार्यकारी समिति नेपालभरिका चिकित्सकहरुलाई भोटिङको अवसर नदिई चयन गर्ने प्रक्रियाप्रति मेरो तीब्र असहमति छ,’ उनको नोट अफ डिसेन्टमा छ । गोदानमा १ हजार १ सय हाराहारीमा सरकारी चिकित्सकहरु सदस्य छन् । तर, तर, आइतबार वीर भएको एजीएममा ५९ जना सरकारी चिकित्सकहरुको उपस्थिती रहेको थियो ।

नवनिर्वाचित अध्यक्ष डा. गौतमले भने पहिलेको कार्यसमितिले समायवधिमा निर्वाचन गर्न नसकेकाले आज उपस्थिती चिकित्सकहरुबाट नयाँ कार्यसमिति चयन गरिएको बताए । ‘संघको कार्यकाल दुई वर्ष हो, साढे दुई वर्षसम्म पनि अधिवेशन भएन्,’ उनले भने, ‘आज एजीएम गर्ने भनेर सबैलाई बोलाइसकेपछि त्यहीबाट नयाँ कार्यसमिति चयन गरिएको हो ।’ उनले आफूहरु अल्पमतमा पर्ने भएपछि सबैलाई सहभागिता गराउने नाममा विवाद झिकिएको दावी गरे ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ