२०७९ असार ११, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचार‘समायोजनले जागिरदेखि मात्र हैन, जिन्दगीदेखि नै दिक्क लागिसक्यो’

‘समायोजनले जागिरदेखि मात्र हैन, जिन्दगीदेखि नै दिक्क लागिसक्यो’


काठमाडौ– बुधवार दिउँसो साढे १२ बजे दुई वटै हातको काखीमा बैसाखी च्यापेर त्यसैको भरमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय पहिलो तलातर्फ एक महिला उक्लदैं थिइन् । एउटा हातले बच्चा च्यापेर अर्को हातले तिनै बैसाखी टेकेर भ¥याङ्ग उक्लिदैं गरेकी महिलालाई भरोसा दिइरहेका थिएँ—एक पुरुष ।

पहिलो तलमा उक्लिएसँगै उनीहरु सिधै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव खगराज बरालको कार्याकक्षतर्फ गए । सचिव बरालका पीएसँग उनलाई भेट्ने समय मागे । पीएले सचिव कार्यकक्षमा नभएको जानकारी दिए । उनीहरु त्यहाँबाट फर्किएर कर्मचारी समायोजन गुनासो छानविन तथा व्यवस्थापन समितिका संयोजक महेन्द्रप्रसाद श्रेष्ठको कार्यकक्षमा पुगे । श्रेष्ठ पनि एक हप्तादेखि अमेरिका भ्रमणमा रहेको खबर लिएर पुनः सचिवकै कार्यकक्षतर्फ लाग्दै थिए ।

२ वर्षका दमका बिरामी छोरासँगै श्रीमानको साथ लिएर स्वास्थ्य तथा जनसंख्या मन्त्रालय आउने ती महिला हुन्—सुर्खेत लाटीकोइलीकी तुलसा बोहोरा । १२ वर्ष (अस्थायी र स्थायी गरी) देखि अनमी पदमा कार्यरत बोहोरा ५ वर्ष अघि लोकसेवा पास गरेपछि नेपाल सरकारको चौथो तहकी स्थायी जागिरे भएकी हुन् ।

पोलियोका कारण सानैदेखि शारीरिक अपांगता भएकी उनमा पछिल्लो चार वर्षदेखि कडा खालको ढाडको समस्या (स्पाइनल इन्जुरी) समेत थपिएको छ । ढाडको समस्या आएपछि उनी वीर अस्पतालका हाडजोर्नी विशेपषज्ञ डा. भोजराज अधिकारीसँग नियमित उपचार गराइरहेकी छन् ।

ढाडको समस्याको उपचार गर्न एक वा दुई वर्षमा एक पटक काठमाडौं आइपुग्ने बोहोरा गत वैशाखदेखि अहिलेसम्म तीन पटक मन्त्रालय धाइसकिन । बैशाखदेखि धाउनुको कारण उनको स्वास्थ्य उपचारको लागि हैन । सरकारले गरेको समायोजनमा चित्त नबुझेर हो ।

चित्त बुझोस पनि कसरी ? ‘समायोजनले हामी जस्ता अपांग असहायलाई सहज र पायक पर्ने स्थानमा पु¥याउँछ भनेको त झन दुर्गम र अप्ठ्यारो ठाउँमा पुया¥यो,’ उनी भन्छिन्, ‘पावरवालाको मात्र समायोजन हुँदोरहेछ, हामी जस्ता साँच्चै समस्या परेकाहरुको सुनुवाई नै हुँदो रहेनछ ।’

आफू अशक्त भएको सम्पूर्ण कागजातसहित समायोजन सच्याउन हालिएको दुई पटकको गुनासो पनि सम्बोधन नहुँदा उनलाई दिक्क लागेको छ । ‘मलाई त यो समायोजनले जागिरबाट मात्र हैन खेप्नुपरेको हैरानीले नै जिन्दगीदेखि नै दिक्क लागिसक्यो,’ उनी मलिन अनुहार बनाएर भन्दै थिइन्, ‘आशा त अहिले पनि छैन तर पनि श्वास हुन्जेल आश भन्छन् त्यसैका लागि आएकी हुँ ।’

आफू र परीवार पाल्ने उनको जागिर अहिले आएर उखानमा भने झै ‘नखाउ दिनभरीको शिकार खाउ कान्छा बाको अनुहार’ झै भएको छ । जागिर नखाउ भने परिवारको जीविकोपार्जनको अन्य स्रोत छैन्, खाउ भने समायोजनले झनै दुर्गम पु¥याएपछि उनलाई मात्र नभएर उनका श्रीमानलाई समेत शारिरीक तथा मानसिक दुःख दिएको छ ।

सुर्खेत मैनातारा स्वास्थ्यचौकी भेरीगंगामा दुई वर्षदेखि कार्यरत बोहोराले स्वास्थ्यमा समायोजन रोज्न खुलाइएको सूचनासँगै आफ्नो सबै विवरण दिएर घरपायक वीरेन्द्रनगर नगरपालिका समायोजन होस् भनी निवेदन दिएकी थिइन् । तर, समायोजन हुँदा त्यो भन्दा झनै उल्टो भयो । उनको समायोजन हाल कार्यरत स्थानभन्दा अझ अपायक पर्ने लेकबेसी नगरपालिकामा भयो । आफूलाई अपायक पर्ने स्थानमा समायोजन भएसँगै उनी समायोजन सच्याइदिन आग्रह गर्दै गत बैशाख यता मात्र तीन पटक सुर्खेतदेखि काठमाडौं आइसकिन ।

उनको गुनासो स्वास्थ्य मन्त्रालयका अधिकृतदेखि सचिवसम्म सबैले सुनिसकेका छन् । सबैले समस्या समाधान हुन्छ भन्दै आश्वासन दिएका थिए तर काम भने उल्टो भयो । ‘बैशाखमा आउदा पनि मैले मेरो सबै समस्या सुनाएकी थिए । सबैले हुन्छ भन्ने आश्वासन दिनुभएको थियो तर काम भएन्,’ उनी दुःखेसो पोख्छिन्, ‘त्यसपछि भदौमा फेरी गुनासो हाल्न भनियो त्यो बेला पनि आएर गुनासो भरे, तत्कालीन सचिव रामप्रसाद थपलियालाइ नै भेटेर मेरो समस्या सुनाए ।’ आफ्नो निजी मोवाइल नम्बर समेत दिएका थपलियालाई पछि सम्पर्क गर्दा आफू सरुवा भइसकेता पनि नियमअनुसार नै रोजेको स्थानमा समायोजन हुने आश्वासन दिएका थिए । ‘मैले सबै कुरा भनिदिएको छु तपाईंको त स्वभाविक रुपमा पनि चाहेको ठाउँमा नै समायोजन हुन्छ भनेर भन्नुभएको थियो,’ उनले भनिन्, ‘तर पछि समायोजनको लिष्ट आउँदा त पहिले समायोजन भएकै ठाउँमा रहेछ ।’

बोहोरालाई समायोजनमा आफूले भनेको स्थानमा नपाउनुभन्दा पनि ठूलो दुःख आफूभन्दापछि जागिर सुरु गरेर पावरवालाले चाहेको स्थानमा पाएको देख्दा दिक्क लागेको छ । ‘हिजो जागिर सुरु गरेका ठूलाबडाका नेता र पावरवालाका आफन्तहरु रोजेको ठाउँमा पाएका छन्, म जस्तो एउटा अपाङ्गता भएकी मानिसलाई अपायकमा पठाइएको छ ।’

स्थायी जागिरको सुरुवाती जाजरकोटको दल्ले प्राथमिक स्वास्थ्य केन्द्रबाट सुरु गरेकी तुलसीलाई त्यो समय पनि उनका श्रीमानले बोकेर कार्यस्थल पु¥याएका थिए । उनी सो केन्द्रमा गएर काम गरेको एक वर्ष पुगेपछि तत्कालीन मध्यपश्चिम स्वास्थ्य निर्देशनालयका निर्देशक डा. राजेन्द्र पन्त पुगेका थिए । तुलसाको अवस्था देखेपछि डा. पन्तले जाजरकोटकै पुदु स्वास्थ्य चौकीमा काज खटाइदिए । जुन स्वास्थ्य चौकी कर्णाली राजमार्गमा पर्छ । दुई वर्ष त्यहाँ काम गरेपछि समायोजन अघि कार्यरत मैनातारामा सरुवा भएकी हुन् ।

समायोजनपछि पदस्थापन भएको लेखवेसी नगरपालिका वीरेन्द्रनगरबाट ३ घण्टाको बस यात्रापछि एक घण्टा भेरी गाडतीरबाट उकालो हिड्नुपर्छ । शारीरिक अवस्थाका कारण आफूलाई सो ठाउँमा पुग्न नै तीन घण्टा लागेको उनी बताउँछिन् । ‘मैले आँट हुन्जेल त कालिकोटमा बोकिएर गएर पनि सेवा गरेकी हुँ,’ उनी भन्छिन्, ‘अहिले शारीरिक अवस्था पहिलेको भन्दा अझ कमजोर भएको हुँदा घरपायक मागेकी हुँ, ययति त यो देशको नागरिक भएकोले मेरो पनि अधिकार होला नि ?’

फलोअपः तुलसालाई पायक पर्ने ठाउँमा समायोजन मिलाउन स्वास्थ्य सचिवको निर्देशन


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ

जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)