काठमाडौं—प्रधानमन्त्री केपी शर्मा ओलीले बिरामी हुन नदिने लाग्नुपर्ने बताएका छन् । शनिबार राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपालको पाँचौ राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रमा बोल्दैं प्रधानमन्त्रीले उक्त कुरा बताएका हुन् ।
‘बिरामी भएमा उपचार गर्ने त छँदैछ, त्यो भन्दा पहिला बिरामी हुन नदिन लाग्नुपर्छ,’ उनले भने, ‘सस्तो र सजिलोसँग कसरी राम्रो उपचार दिन सकिन्छ भन्ने भावना बोक्नुपर्छ ।’
चिकित्सा विज्ञान यो तहमा नपुगेको भए र अस्पताल नभएको भए आफ्नो बिसौँ वार्षिक पुण्यतिथी सकिइसकेको हुने बताउँदैं प्रधानमन्त्री ओलीले चिकित्सा क्षेत्रको महत्व मान्छेको आयुसँग रहेकाले स्वास्थ्यकर्मीलाई सचेत नागरिक भएकाले राष्ट्रिय दायित्वमा पनि लाग्न आग्रह गरे।
‘भगवानमा विश्वास गर्नेहरुको म चित्त दुखाउन चाहान्न तर मैले डक्टर र नर्सहरुले कठिन परिस्थितीमा पनि बिरामी जादुमयी रुपमा मान्छेलाई बचाएको देखेको छु । त्यस कारण म त भन्छु, डक्टरर्स आर द ग्रेटर द्यान द गर्डस्,’ प्रधानमन्त्री ओलीले भने, ‘आज स्वास्थ्य क्षेत्रले असाधारण विकास गरेको छ । हामीले प्रतिरोधभन्दा अगाडि निरोधात्मक सचेतनामा लाग्नुर्छ । यस महासंघले भूमिका खेल्न सकोस् ।’