२०८१ वैशाख ८, शनिबार
Health Aawaj logo
गृहपृष्ठजनस्वास्थ्यकसरी छुटकारा पाउने कुलतबाट ?

कसरी छुटकारा पाउने कुलतबाट ?


डा.उदय सिंह
जनरल फिजिसियन
नारायणी अस्पताल, वीरगन्ज

लामो समयसम्म कुनै पनि कुराको प्रयोग गरिराख्नाले हामीलाई त्यस चीजको लत लाग्ने हुन्छ । धुम्रपान र मद्यपानको सन्दर्भमा पनि यो कुरा लागु हुन्छ । अझ मद्यपान र धुम्रपानको लामो समयसम्मको प्रयोगका कारण सोही अल्कोहल र चुरोटको माध्यमबाट व्यक्तिको शरीरमा निकोटिनको प्रवेश हुने हुँदा व्यक्ति ती चीजहरुको लत लाग्छ । जसकारण उनीहरुलाई ती चिज नभई नहुने हुन्छ ।

त्यस्ता पदार्थको अभावमा व्यक्तिमा छट्पटी तथा चिडचिडाहट हुनेजस्ता समस्याहरु देखा पर्छन् । यसको प्रयोगले ब्यक्ति स्वयंलाई त, असर गर्छ नै यसबाहेक यसबाट उसँग सम्बन्धित उसको घरपरिवार, समाज तथा राष्ट्रलाई समेत असर पर्न जान्छ । त्यसैले हामीले धुम्रपान र मद्यपानको लतबाट आफुलाई जोगाउनु पर्छ ।

बढ्दो आधुनिकीकरणको क्रमसँगै मुख्य रुपमा देखा परेको साझा समस्यामध्ये धुम्रपान र मद्यपानलाई एक प्रमुख समस्याको रुपमा लिइन्छ । यद्यपि यो प्राचीन कालदेखि नै मुख्य समस्याका रुपमा रहँदैं आएतापनि हाल बढ्दो मनोरञ्जन र फेसनका नाममा प्रायः जसो युवा तथा किशोरकिशोरीले पनि यसको प्रयोग गर्न थालेको देखिन्छ ।

परिणाम स्वरुप उनीहरु यसको उपभोग गर्ने लतको शिकार हुन पुग्छन् । विश्वभरका मानिसहरुले प्रयोग गर्ने मद्यपान र धुम्रपानलाई स्वास्थ्य र सामाजिक सम्बन्ध कुनैपनि दृष्टिकोणले उचित मानिदैन् । त्यसैले हामीले मद्यपान र धुम्रपानको सेवन गर्नु हुँदैन । सेवन गरेपनि यसको बानी लागाउनु हुँदैन । कुलतकै कारण राष्ट्रले आफ्नो एक दक्ष जनशक्ति समेत गुमाउने हुँदा राष्ट्रले पनि यस विषयलाई गम्भीरतापूवर्क लिनु पर्दछ ।

कुनै पनि व्यक्ति कुलतको सेवनमा फसिसकेपछि त्यसको लत छुटाउन निकै नै गाह्रो हुन्छ । त्यसैले हामी सकेसम्म यस्ता लतबाट टाढै रहनुपर्छ । तर, यसको लत लागि सकेपछि यसबाट छुटकारा पाउनै नसकिने भने होइन । गाह्रो भएतापनि यो असम्भव भने छैन । तसर्थ व्यक्तिमा लागेको त्यस्ता लतलाई हटाउने विभिन्न उपाय रहेका छन् । त्यसमध्ये तलका उपायलाई मुख्य उपायको रुपमा लिइन्छ ।

व्यक्तिमा आत्मबलको विकास गर्ने

निकोटिनका कारण व्यक्तिले यस्ता अल्कोहोल र चुरोट पिउने बानी गलत हो भन्ने थाहा हुँदाहुँदैं पनि उक्त कुलतको बानी छाड्न सक्दैनन् । यसबाहेक उसले आफूले यस्ता कुलतहरु त्याग्न सक्छु भन्ने आत्मबलको विकास नगरेसम्म यी बानीहरुबाट छुटकारा पाउन सक्दैन ।

त्यसैले सर्वप्रथम व्यक्तिले आफूमा यस्ता कुलतबाट छुटकारा पाउन यस्ता बानीहरु गलत हो र यी बाट मैले छुटकारा पाउन सक्छु, भन्ने कुराको आत्मबल विकास गर्नुपर्छ । यसको निम्ति उसले यसअघि धुम्रपानबाट छुटकारा पाएका व्यक्तिहरुको बारेमा जान्ने या बुझ्ने प्रयास गर्नुपर्छ । यसबाहेक घरपरिवारले पनि उसलाई यी बानी छुटाउन सकिन्छ भन्ने कुराको विश्वास दिलाउनु पर्छ ।

जमघट र माहोलबाट टाढा रहने

व्यक्तिले यस्ता कुलत त्याग्छु भनेर प्रयास गरिरहँदा धुम्रपान र मद्यपानजन्य सेवन गर्ने माहोलबाट टाढै रहनु पर्दछ । आफूले जतिसुकै प्रयास गरेता पनि त्यस्ता माहोलमा रहँदा अन्यले प्रयोग गरिरहेको देखेमा त्यस्ता प्रयोग सामान्य हुन् भन्ने सोचाइ आई आफूले पनि त्यस्ता वस्तुहरुको पुनः प्रयोग गर्ने हुन्छ ।

त्यसकारण व्यक्तिले सकेसम्म आफूलाई त्यस्ता मद्यपान र धुम्रपान गर्न माहोलबाट टाढा राख्नुपर्छ । यस्ता माहोल विशेष गरेर पार्टी, रात्रीभोज, साथीभाइसँगको भेटघाटमा बढी हुने हुँदा उक्त माहोलबाट सकेसम्म टाढा रहने प्रयास गर्नुपर्छ । यदि त्यस्ता समारोहमा जानैपर्ने अवस्था आएमा मद्यपानको सट्टामा अन्य कोक तथा फ्यान्टाजस्ता पेय पदार्थको प्रयोग गर्नुपर्छ । र, यस्तै चुरोटमा पाइने निकोटिनले सिधै व्यक्तिको फोक्सोमा असर गर्ने हुँदा त्यसको सट्टामा कम निकोटिन पाइने चुइगम तथा चकलेटको प्रयोग गर्न सकिन्छ ।

नियमित चिकित्सकको परामर्शमा रहने

धुम्रपान र मद्यपानबाट छुटकारा पाउनको निम्ति चिकित्सकले व्यक्तिको अवस्था हेरी विभिन्न सल्लाहसँगै एक पटक खाएपछि तुरुन्त प्रतिक्रिया देखापर्ने औषधि दिन्छन् । जसकारण उनीहरु त्यसबाट देखिने प्रतिक्रियाबाट डराई त्यस्ता कुलतजन्य पदार्थहरु दोहो¥याएर प्रयोग गर्न नखोज्ने हुन्छ ।

यसैगरी, धुम्रपान र मद्यपानको लगातार प्रयोगको कारण शरीरमा निकोटिनको प्रवेश हुन्छ । जसकारण एकैचोटी चुरोट र अल्कोहलको प्रयोग गर्न छोड्नाले उनीहरुको शरीरमा विभिन्न किसिमका शारीरिक तथा मानसिक समस्याहरु देखा पर्ने हुन्छ । त्यसैले उनीहरुले उक्त लतबाट पूर्ण रुपमा छुटकारा नपाएसम्म चिकित्सकको परामर्शमा रहनु पर्छ ।

प्रस्तुतीः सृजना मगर


क्याटेगोरी : जनस्वास्थ्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ