काठमाडौं—राष्ट्रपति रामचन्द्र पौडेलले शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक प्रमाणीकरण गरेका छन् । बुधबार राष्ट्रपति कार्यलयले गेटामा स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापना तथा सञ्चालनमा लागि बनेको उक्त विधेयक प्रमाणीकरण गरेका हुन् ।
२९ माघ २०८० मा विधेयक राष्ट्रियसभाबाट पारित भएको थियो । ४ जेठमा उक्त विधेयक प्रतिनिधीसभाबाट पारित भयो । संसदका दुवै सदनबाट पारित भएसँगै विधेयक प्रमाणिकरणका लागि राष्ट्रपति कहाँ पठाइएको थियो ।
बुधबार राष्ट्रपतिले उक्त विधेयक प्रमाणीकरण गरेसँगै अब गेटामा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनका लागि कानुन बाटो खुला भएको छ । अब राजपत्रमा प्रकाशित भएसँगै यो ऐनका रुपमा लागु हुनेछ ।
यससँगै लामो समयदेखि कानुन अभावका कारण सञ्चालनमा आउन नसकेको गेटास्थित अर्बौ लगानीमा बनेका संरचनामा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनमा आउने बाटो खुलेको छ ।
सरकारले झण्डै ८ अर्ब लगानीमा उक्त स्वास्थ्य संरचना निर्माण गरेको हो । सुरुमा स्वास्थ्य विज्ञान प्रतिष्ठान चलाउने भनिएपनि पछि स्थानीयको माग र सरकारको निर्णयका कारण गेटामा मुलुककै पहिलो स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनमा ल्याउन लागिएको हो ।
आर्थिक वर्ष २०८२/८३ को बजेटमा पनि अर्थमन्त्री विष्णु पौडेलले गेटामा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनका लागि बजेट बिनियोजन गरेको जानकारी दिएका थिए ।
सुदूरपश्चिममा वि.सं. ०५६ मा मेडिकल कलेज सञ्चालन गर्ने पहल सुरु भएको थियो । काँचीकामाकोठी पीठका जगतगुरु शंकराचार्यको संरक्षकत्व र लगानीमा वि.सं. ०५६ मा यसै ठाउँमा स्वास्थ्य आयुर्विज्ञान प्रतिष्ठान बनाउने पहल गरिएको थियो ।
तर, पछि त्यही ठाउँमा प्रस्तावित गेटा मेडिकल कलेजका रुपमा अगाडि बढाइएको थियो । उत्कृष्ट भौतिक संरचना र प्रादेशिक केन्द्रमा रहेका कारण पछि यसलाई चिकित्सा विज्ञान विश्वविद्यालय बनाउने प्रक्रिया अगाडि बढाइएको हो ।