काठमाडौं—नेपाल मेडिकल काउन्सिलले बेड क्षमता र दायराभन्दा बाहिर गई अनाधिकृत रुपमा अन्य सेवाहरु सञ्चालन गरिरहेका स्वास्थ्य संस्थाहरुमा काम नगर्न चिकित्सकहरुलाई आग्रह गरेको छ । ५ असारमा काउन्सिलका निमित्त रजिष्ट्रार डा. दिपेन्द्र पाण्डेले स्वीकृतभन्दा बढी क्षमता र दायराभन्दा बाहिर गएर अन्य सेवा प्रवाह गरिरहेका स्वास्थ्य संस्थाहरुमा चिकित्सकहरु अनभिज्ञ रहेर सेवा प्रदान गरिरहेको विषयमा गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।
‘जनस्वास्थ्य सेवा ऐन, २०७५ को दफा (२१) र (२२) बमोजिम कुनै पनि स्वास्थ्य संस्थाले तोकिएको मापदण्डअनुसार इजाजत (सञ्चालन अनुमतिपत्र) नलिई कुनै पनि सेवा सञ्चालन गर्न नपाइने र सोही ऐनको दफा (२३) बमोजिम दफा (२१) र (२२) विपरित सञ्चालनमा रहेका स्वास्थ्य संस्थाहरुको इजाजत पत्र स्वतः खारेज हुने कानुनी प्रावधान रहेको छ,’ डा. पाण्डेले जारी गरेको विज्ञप्तीमा छ, ‘कानुन विपरीत सञ्चालन भइरहेका संस्थाहरुमा काम गर्दा चिकित्सकहरु स्वयं पनि गम्भीर कानुनी जोखिम र नैतिक जवाफदेहितामा पर्ने देखिन्छ ।’
काउन्सिलले सबै काउन्सिलका दर्तावाला चिकित्सकलाई व्यवसायिक सुरक्षा, कानुनी सचेतना र स्वास्थ्य क्षेत्रको पारदर्शिताका लागि अस्पतालमा आवद्ध हुनुअघि संस्थाको वेड संख्या, सञ्चालन अनुमतिपत्र र जनस्वास्थ्य ऐन बमोजिम अनुमति प्राप्त सवाहरुको विवरणबारे अनिवार्य बुझ्न भनेको छ ।
यस्तै, संस्थाको अद्यावधिक नवीकरण प्रमाणपत्र र स्वीकृत सेवाको विवरण माग गरी जानकार हुन, स्वीकृत क्षमताभन्दा बाहिर गई ऐन र मापदण्ड उल्लंघन गरेको पाइएमा त्यस्ता अभ्यासमा संलग्न नहुन र संस्थालाई कानुनी दायराभिध रहन सचेत गराउन समेत आग्रह गरेको छ ।
