२०८३ असार ८, सोमबार
Health Aawaj logo
गृहपृष्ठअन्यवशिष्ठ योग नेपालद्वारा काठमाडौं र झापामा विविध योग कार्यक्रम सम्पन्न

वशिष्ठ योग नेपालद्वारा काठमाडौं र झापामा विविध योग कार्यक्रम सम्पन्न


काठमाडौं—वशिष्ठ योग नेपालको आयोजनामा काठमाडौं र झापामा योगासन, प्राणायाम तथा योग सचेतनामूलक विभिन्न कार्यक्रमहरू सफलतापूर्वक सम्पन्न भएका छन्। आइतबार विश्व योग दिवस २०२६ को अवसरमा झापा र काठमाडौंमा विविध योग कार्यक्रम सम्पन्न भएका हुन् ।

भारतको अहमदाबादस्थित वशिष्ठ योग आश्रमका योग गुरु धीरजको मार्गदर्शन तथा सान्निध्यमा काठमाडौंमा पाँच दिने वशिष्ठ पञ्च प्राण विद्या शिविर सञ्चालन गरिएको थियो । शिविरमा प्राचीन योग परम्पराअनुसार योगासन र प्राणायामको सही बुझाइलाई सरल र सहज रूपमा प्रस्तुत गर्दै सहभागीहरूलाई आफ्नो आसन, श्वास र शरीरबीचको सम्बन्ध बुझ्न तथा आफ्नै स्वास्थ्यको जिम्मेवारी आफैं लिन प्रेरित गरिएको थियो ।

शिविरका क्रममा हेर्दा सामान्य देखिने योगासनहरू पनि सही विधि, सही श्वास र सचेत अभ्यासका साथ गर्दा शरीरमा तत्काल विश्राम, हल्कापन, स्फूर्ति र सकारात्मक परिवर्तन अनुभव गर्न सकिने विषयमा विशेष जोड दिइएको थियो । शिविर अवधिभर प्रत्येक साँझ सबैका लागि निःशुल्क योगासन तथा प्राणायाम सत्र पनि सञ्चालन गरिएको थियो ।

कार्यक्रमको समन्वय अल्फा केयर डायग्नोस्टिक्सकी निर्देशक मञ्जु शर्माले गरेकी थिइन् । उनी वशिष्ठ योग आश्रमबाट दुई पटक योग शिक्षक प्रशिक्षण  (Yoga Teacher Training)  प्राप्त प्रशिक्षक हुन् ।

विश्व योग दिवसकै अवसरमा अल्फा बेटाका कर्मचारीहरूका लागि विशेष कर्पोरेट योग सत्र सञ्चालन गरिएको थियो । कार्यालयको तनाव व्यवस्थापन, सही बसाइँ र कार्यक्षमता अभिवृद्धिका लागि उपयोगी योगासन तथा वशिष्ठ प्राणायामको अभ्यास गराइएको थियो।

यसै क्रममा झापाको अर्जुनधारा नगरपालिकासँगको सहकार्यमा योगासन सचेतना कार्यक्रम सम्पन्न गरिएको थियो । अर्जुनधारास्थित पशुपतिनाथ मन्दिरको वेद संस्कृत विद्यापीठका विद्यार्थीहरूलाई पनि योगासन, प्राणायाम र योगको सही बुझाइबारे जानकारी तथा अभ्यास गराइएको थियो ।

सो अवसरमा निर्देशक शर्माले सानै उमेरदेखि योगलाई जीवनशैलीका रूपमा अपनाउन सके स्वस्थ, अनुशासित र सन्तुलित जीवन निर्माणमा महत्वपूर्ण योगदान पुग्ने बताइन् । उनले आगामी दिनमा वशिष्ठ योग नेपालको माध्यमबाट प्राचीन योगलाई अझ बढी समुदाय, विद्यालय, कलेज, कर्पोरेट संस्था तथा स्थानीय तहसम्म पुर्‍याउने, योगमार्फत स्वास्थ्य प्रवर्द्धन, स्वरोजगारका अवसर तथा नेपालमा योग पर्यटनको विकासमा योगदान पुर्‍याउने योजना रहेको जानकारी दिए ।

कार्यक्रमहरू अल्फा केयर डायग्नोस्टिक्सको प्रत्यक्ष सहयोगमा सम्पन्न भएका हुन् ।


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ