२०८१ वैशाख ३०, आईतबार
Health Aawaj logo
गृहपृष्ठलुम्बिनी प्रदेशतिलोत्तमालाई मुलुक मै पहिलो पटक शुन्य पोलिथिन घोषणा गरिदै

तिलोत्तमालाई मुलुक मै पहिलो पटक शुन्य पोलिथिन घोषणा गरिदै


बुटवल – रुपन्देहीको तिलोत्तमा नगरपालिकालाई मुलुकमैं पहिलो पटक शुन्य पोलिथिन नगरपालिका घोषणा गर्ने तयारी अन्तिम चरणमा पुगेका छ । नगरका १७ मध्ये १६ वडालाई शुन्य पोलिथिन क्षेत्र घोषणा गरिसकिएको छ भने बाँकी वडा नं. १४ लाई घोषणा गरेसँगै तिलोत्तमा शुन्य पोलिथिन नगर बन्नेछ ।

नगरपालिकाले बनाएको कार्यविधिमा खुला रुपमा पोलिथिनजन्य फोहोर नफालिएको अवस्थालाई शुन्य पोलिथिन भनिने उल्लेख छ । नगरबासीको घर–आँगन, टोल–समुदाय, खेत–खलियान, कुलो–नहर, वन–जंगल, सडक–बाटो, सार्वजनिक स्थलबाट झण्डै ८० हजार बोरा पोलिथनजन्य फोहोर संकलन गरी व्यवस्थापन गरेपछि नगरलाई शुन्य पोलिथिन घोषणा गर्न थालिएको हो । यहाँका नगरबासीले अब उप्रान्त फोहोर जथाभावी नफाल्ने, फालेमा कारवाही भोग्न तयार रहने कसम खाएका छन् ।

शुन्य पोलिथिनलाई स्थायित्व दिन विभिन्न सार्वजनिक स्थान, घर, पसलमा डष्टबिन राखिएको छ । नगरका सार्वजनिक स्थानमा कम्तिमा एक हजार डष्टबिन राख्ने नगरपालिकाको योजना छ । फोहोर संकलन कार्यसँगै संकलित फोहोरको व्यवस्थापनका लागि जनसहभागिता वास सहकारीसँगको सहकार्यमा एकीकृत फोहोर प्रशोधन केन्द्र निर्माण थालिएको छ ।

बालबालिकालाई पोलिथिन जथाभावी फाल्नु हुँदैन भन्ने सिकाउन स्थानीय पाठ्यक्रममा समेत यो विषयलाई समेटिएको नगर प्रमुख बासुदेव घिमिरेले जानकारी दिए । यहाँका विद्यालय तथा टोल–टोलमा माई पकेट, माई फष्ट डष्टबिन अर्थात् मेरो खल्ती, मेरो पहिलो डष्टबिन भन्ने कुराको प्रचार गरिएको छ । सार्वजनिक स्थलमा धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवनलाई निषेध गरिएको छ भने जथाभावी फोहोर फ्याक्नेलाई कारवाही गर्न आवश्यक स्थानीय कानुन निर्माण गरिएको छ ।

यी सबै विषयले शुन्य पोलिथिन घोषणालाई स्थायित्व गराउने नगर प्रमुख घिमिरेको विश्वास छ । सिम नेपालसँगको सहकार्यमा यहाँ सात महिनादेखि शुन्य पोलिथिन अभियान चलाइएको हो । रुपन्देहीकैं मध्यभागमा अवस्थित तिलोत्तमा नगरपालिकालाई स्वच्छ, सफा, हराभर बनाउने उद्देश्यले जनप्रतिनिधि आएसँगै २०७४ साउनबाट नियमित सञ्चालन हुँदै आएको सरसफाई अभियान हाल ५७ औं श्रृंखलामा पुगेको छ ।

नगर प्रमुख घिमिरेले नगरबासीको सक्रिय सहभागिताका कारण शुन्य पोलिथिन अभियानले मूर्त रुप लिएको बताउँदै यो अभियानमा झण्डै एक लाख नगरबासी सहभागी भएको बताए । शुन्य पोलिथिन अभियानसँगै यहाँका सडक, सार्वजनिक स्थान, कुलो–नहर विगतको तुलनामा धेरै सफा देखिएका छन् ।

शुन्य पोलिथिन अभियानको प्रभावको सन्दर्भमा वातावरणविद्, सरकारी अधिकारी तथा सञ्चारकर्मीहरुले अनुगमन गरेका छन् । अनुगमनको क्रममा नगरबासीमा चेतनाको स्तर निकै बढेको पाइएको अनुगमनमा संग्लन डा. ईशान गौतमले बताए । उनले शुन्य पोलिथिन अभियानले कृषि प्रणाली तथा जनस्वास्थ्यमा सकारात्मक प्रभाव पार्ने बताउँदै यसको निरन्तरताका लागि नगरबासी आफैं क्रियाशील रहनुपर्ने बताए ।

‘ग्रीन तिलोत्तमा क्लिन तिलोत्तमा’ नाराका साथ सरसफाई अभियान सञ्चालन भैरहँदा पोलिथिनजन्य फोहोरले मानव स्वास्थ्य, सहरी सौन्दर्य, कृषि उत्पादन र वातावरणमा सबैभन्दा बढी नकारात्मक असर पारेको तथ्यलाई मनन गरी नगरपालिकाले सिम नेपालसँगको सहकार्यमा शुन्य पोलिथिन अभियान चलाएको हो । मुलुकका ७५३ स्थानीय तहमध्ये पहिलो पटक तिलोत्तमाको १२६ वर्गकिलोमिटर क्षेत्रमा वर्षौंदेखि डम्पिङ भएर बसेको पोलिथिन फोहोर संकलन गरी व्यवस्थापन गरिएको सिम नेपालका अध्यक्ष वातावरणविद् निपेश ढाकाले बताए । यो अभियानको सफलता माटोमाथिको विजयी भएको उल्लेख गर्दै उहाँले यसलाई निरन्तरता दिन तिलोत्तमाबासीलाई आग्रह गरे ।

तिलोत्तमा उपप्रमुख जागेश्वरी चौधरीले नगरबासीले यो अभियानमा देखाउनु भएको सक्रियता, सहकार्य र कर्तव्यबोधले तिलोत्तमाबासी हुनुलाई एकपटक फेरी गौरवान्वित बनाएको उल्लेख गरिन् । यो अभियानको सफलताले तिलोत्तमाबासीको चेतनास्तर, दायित्वबोध र सहकार्यलाई मुलुकभर परिचित गराएको प्रवक्ता सुरेन्द्र श्रीको भनाइ छ ।


क्याटेगोरी : लुम्बिनी प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ