काठमाडौं –नक्कली चिकित्सकको उपाधि प्रयोग गर्दै बिरामीको उपचारमा संलग्न रहेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन्।
मंगलबार नेपाल मेडिकल काउन्सिलको अनुगमनका क्रममा प्राप्त उजुरी तथा छानबिन प्रतिवेदनका आधारमा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले काठमाडौंको चन्द्रागिरि नगरपालिका–८ स्थितस्पार्क इन्टरनेशनल हेल्थ रिसोर्टबाट ४७ वर्षीय चेतन ए. एम. (पौडेल) लाई पक्राउ गरेको हो ।
प्रहरीका अनुसार उनले काठमाडौंको चन्द्रागिरि नगरपालिका–८ स्थित आवश्यक कानुनी अनुमति तथा दर्ताबिना स्वास्थ्य सेवा प्रदान गर्दै आएको पाइएको छ।
सीआईबीका अनुसार पौडेलले नेपाल मेडिकल काउन्सिलमा दर्ता नभई चिकित्सकको उपाधि प्रयोग गर्दै बिरामीको स्वास्थ्य परीक्षण, निदान तथा उपचारमा संलग्न रहेको पाइएको छ । उनी बिरामीलाई औषधि सिफारिस गरिएको प्रेस्क्रिप्सनसहित उपचार सेवामा संलग्न रहेको उजुरीपछि नेपाल मेडिकल काउन्सिलले छानबिन गरी आवश्यक कारबाहीका लागि प्रहरीलाई पत्राचार गरेको थियो ।
सोही आधारमा प्रारम्भिक अनुसन्धान अघि बढाएको सीआईबीले काठमाडौं जिल्ला अदालतबाट पक्राउ अनुमति लिएर उनलाई चन्द्रागिरि–८ बाट नियन्त्रणमा लिएको जनाएको छ ।
प्रहरीले उनीविरुद्ध मुलुकी अपराध संहिता, २०७४ अन्तर्गत इजाजतसम्बन्धी कसुर मा थप अनुसन्धान गरिरहेको जनाएको छ ।
स्वास्थ्य क्षेत्रको संवेदनशीलतामाथि गम्भीर असर पर्ने गरी अनधिकृत रूपमा चिकित्सकीय सेवा प्रदान गर्ने कार्य कानुनविपरीत रहेको भन्दै सम्बन्धित निकायले सर्वसाधारणलाई चिकित्सकको योग्यता र दर्ता विवरण यकिन गरेर मात्र उपचार सेवा लिन आग्रह गरेका छन् ।